close

चीनले सुरु गर्‍यो विश्वकै नयाँ क्लाउड ब्रोडब्यान्ड, ९० जीबीको फाइल सेकेन्डभरमै डाउनलोड हुने

टेकपाना टेकपाना

बैशाख ८, २०८२ १४:३६

चीनले सुरु गर्‍यो विश्वकै नयाँ क्लाउड ब्रोडब्यान्ड, ९० जीबीको फाइल सेकेन्डभरमै डाउनलोड हुने

काठमाडौँ । चीनले विश्वकै पहिलो १० जी क्लाउड ब्रोडब्यान्ड नेटवर्क सुरु गरेको छ । चिनियाँ प्रविधि कम्पनी ह्वावेले चाइना युनिकमसँगको सहकार्यमा बेइजिङ नजिक पर्ने हेबेई प्रान्तको सियोङआन क्षेत्रमा यो इन्टरनेट नेटवर्क सञ्चालनमा ल्याएको हो । 

यो तीव्र गतिको इन्टरनेट नेटवर्क नयाँ ५०-जी पीओएन (प्यासिभ अप्टिकल नेटवर्क) प्रविधिबाट सञ्चालित छ । यसले फाइबर नेटवर्कको मूल संरचना अर्थात् कोर सिस्टम अपडेट गरेर इन्टरनेटको गति बढाएको प्रविधिसँग सम्बन्धित स्थानीय माइड्राइभर्सलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमले लेखेका छन् । पहिलेको गिगाबिट स्पिडलाई बढाएर १० जी बनाइएको छ भने इन्टरनेट चलाउँदा आउने ढिलाइ अर्थात् लेटेन्सीलाई पनि धेरै कम गरेर केही मिलि सेकेन्डमा झारिएको छ । 

माइड्राइभर्सका अनुसार यो नयाँ नेटवर्कले ९,८३४ एमबीपीएस डाउनलोड स्पिड र १,००८ एमबीपीएस अपलोड स्पिड हासिल गरेको छ । यो हालको घरायसी ब्रोडब्यान्ड मापदण्डभन्दा निकै बढी हो ।

 

नेटवर्कको क्षेत्रमा भएको यो नयाँ प्रविधिले धेरै डेटा चाहिने एप्लिकेसन सजिलै चलाउन सक्ने बनाएको छ । यस नेटवर्कमा अब ८के क्वालिटीको भिडिओहरू बिना रोकावट हेर्न सकिन्छ भने क्लाउड कम्प्युटिङ अझ छिटो र भरपर्दो बनाउने छ ।

त्यसका साथै भर्चुअल तथा अग्मेन्टेड रियालिटीजस्ता प्रविधिहरू अझै जीवन्त र वास्तविक लाग्ने गरी चल्न थालेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । यो प्रविधिबाट इन्टरनेटको गति यति धेरै बढेको छ कि ९० जीबी जति ठुलो फाइल पनि केही सेकेन्डमै डाउनलोड गर्न सकिने दाबी गरिएको छ ।

माइड्राइभर्सका अनुसार चीन आगामी पुस्ताको नेटवर्क विकासमा पनि विश्वमै अगाडि रहेको छ । सन् २०२५ को जनवरीसम्म चीनमा कुल साढे ४२ लाख फाइभजी बेस स्टेसनहरू सञ्चालनमा छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १४:३६