काठमाडौँ । बराहक्षेत्र नगरपालिका वडा न. १० ले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई निःशुल्क तीन महिने कम्प्युटर तालिम र ब्रिजकोर्स उपलब्ध गराउन थालेको छ । वडाध्यक्ष तेजबहादुर गुरुङको पहलमा वडाभित्रका सयभन्दा बढी विद्यार्थीहरूलाई यस किसिमको तालिम उपलब्ध दिन लागिएको हो ।
तालिममा वडाभित्रका तीन ओटा संस्थागत र एउटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई समेटिएको छ । वडाध्यक्ष गुरुङका अनुसार हाल ११३ जना विद्यार्थीले कम्प्युटर तालिम र २४ जनाले ब्रिजकोर्ष २४ लिइरहेको जानकारी दिए । प्लस टुमा विज्ञान विषय लिएर पढ्न चाहने वा पीसीएल नर्सिङको तयारी गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी ब्रिजकोर्समा विज्ञान र गणित विषय पढाउने गरिएको छ ।
यसअघि कम्प्युटर तालिम र ब्रिजकोर्सका लागि विद्यार्थीहरू इटहरी, बिराटनगर, धरान र काठमाडौँ लगायतका ठाउँहरूमा जाने गरेका थिए । त्यस किसिमको बाध्यता अन्त्य गर्न आफू निर्वाचित भएपछि गाउँमै यस किसिमको तालिम तथा कोर्स दिन सुरु गरिएको गुरुङले बताए ।
उनका अनुसार तालिमका लागि वडामा रहेको शिक्षा शीर्षककै बजेट उपयोग गरिएको छ । जसबाट कम्प्युटर शिक्षक भर्ना गरिएको र वडाकै प्रकाश माविमा बिग्रिएर थन्किएका २३ ओटा कम्प्युटर मर्मत सम्भार गरिएको छ ।
अघिल्ला वर्षहरूमा स्थानीय इन्स्टिच्युसँग सहकार्य गरिएको भए पनि खर्च कम गर्न यस पल्ट विद्यालयकै कक्षा कोठा र विद्यालयकै कम्प्युटर प्रयोग गरिएको उनको भनाई छ । "कम्प्युटर बनाइ दिँदा अब विद्यालयले नै ९/१० कक्षामा कम्प्युटर विषय पढाउन पनि सक्ने भयो," वडाध्यक्ष गुरुङले भने, "इन्स्टिच्युटमा प्रति विद्यार्थी २५०० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो, तर अब ८०/९० हजारमै वडाका सम्पूर्ण विद्यार्थीलाई तालिम दिन सकिने भएको छ । बाँकी रहेको रकम विद्यालयलाई नै फन्डिङ गर्न सकिन्छ ।"
प्रत्येक वर्ष एसईई पछिको खाली समय खेर जाने र विद्यार्थीहरू कुलतमा समेत फस्ने अवस्था आउन नदिन यस किसिमको उपाय अपनाइएको वडाले जनाएको छ ।