काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले अन्ततः फेसबुकको फिडमा अत्यधिक स्पाम र कम गुणस्तरका पोस्ट आउने गरेको स्वीकारेको छ । बिहीबार एक विज्ञप्तिमार्फत कम्पनीले यो समस्यालाई सम्बोधन गर्न यस्ता सामग्री पोस्ट गर्ने अकाउन्टमाथि ‘कडाइ’ गर्न सुरु गरेको जानकारी दिएको हो ।
“फेसबुक फिडमा तपाईंले निरन्तर मन पराउने नयाँ, आकर्षक पोस्टहरू आइरहेका छैनन् । हामी यो समस्या समाधान गर्न काम गरिरहेका छौं,” कम्पनीले ब्लगमा भनेको छ ।
यस अन्तर्गत लामो पोस्ट, ध्यान भड्काउने क्याप्सन वा शेयर गरिएका सामग्रीसँग असम्बन्धित क्याप्सन भएका पोस्ट राख्ने क्रियटरको रिच घटाउने कम्पनीले योजना बनाएको छ । त्यसका साथै यसरी प्रयोगकर्तालाई असम्बन्धित हुने, क्याप्सन एउटा पोस्ट अर्को राखेर झुक्याउने जस्ता अकाउन्ट मोनिटाइजेसनका लागि पनि योग्य नहुने कम्पनीले उल्लेख गरेको छ ।
त्यसैगरी मेटाले नक्कली इङ्गेजमेन्ट बढाउने ‘स्पाम नेटवर्क’को सामना गर्न ‘अझ कडा कदम’ चालिरहेको छ । खासगरी फेसबुकको एल्गोरिदमलाई झुक्याउन नक्कली पेज बनाएर त्यसैबाट कमेन्ट गरी इङ्गेजमेन्ट बढाउने र प्रयोगकर्तासम्म असम्बन्धित पोस्ट पुर्याउने प्रवृत्ति बढ्दो छ । यसैलाई नियन्त्रण गर्न मेटाले त्यस्ता पेजबाट आएका कमेन्ट प्रयोगकर्ताले गोप्य रूपमा डाउनभोट (असम्बन्धित छ भन्ने जानकारी दिने) गर्न सक्ने फिचर ल्याउने तयारी गरेको कम्पनीको भनाइ छ । यसरी प्रयोगकर्ताको रिपोर्टको आधारमा पनि उक्त पोस्टको रिच घटाउने र कमेन्ट गर्ने पेजलाई हटाउने मेटाको योजना छ ।
फेसबुकले पछिल्लो समय वयस्क प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा आकर्षित गर्न विभिन्न काम गरिरहेको छ । त्यही समयमा कम्पनीले यो नयाँ रणनीति सार्वजनिक गरेको हो । कम्पनीले हालै मात्र एड भएका बाहेक अन्य व्यक्तिको पोस्ट नदेखिने ‘फ्रेन्ड्स’ ट्याब सुरु गरेको थियो । यो त्यस्तो ट्याब हो जहाँ क्लिक गर्दा एड भएका व्यक्तिको मात्र पोस्ट देखिन्छ । यो फिचर टिकटकले सुरुवातदेखि नै ल्याएको थियो ।
नेपालसहित अन्य विभिन्न देशमा फेसबुकमा #BMW आतङ्क नै फैलिएको छ । नेपालको सन्दर्भमा #BMW राख्दै पेजहरूले फेसबुक एल्गोरिदम झुक्याउन फोटो एउटा अन्य क्याप्सन अर्को राख्ने गरेका छन् । खासगरी राजनीतिक रूपमा चर्चामा आएका व्यक्तिको फोटो, भ्रामक तथा मिथ्या सूचनाका पोस्ट राखिएका हुन्छन् । त्यसको माथि उक्त भिडिओ हेर्न भन्दै असम्बन्धित लिङ्क राखिएको हुन्छ । त्यसभन्दा तल #BMW भन्दै बीएमडब्लु गाडीको बारेमा लेखिएको पोस्ट राखिन्छ । त्यसैलाई फेसबुकले धेरै प्रयोगकर्तामाझ पुर्याइरहेको हुन्छ । हामीले यसअघि किन केही फेसबुक पेज तथा प्रयोगकर्ता #BMW राख्छन् भन्ने समाचार तयार पारेका थियौं । उक्त सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस् ।
(असम्बन्धित फोटो र क्याप्सन राखेर प्रयोगकर्ता झुक्याएको फेसबुक पोस्टको स्क्रिनशट)