काठमाडौँ । पछिल्लो समय खसेर नफुट्ने, पानीमा डुबे पनि नबिग्रने बलिया फोनहरू बनाउने होडबाजी चलेको छ । विशेषगरी चिनियाँ मोबाइल कम्पनीहरूले बलियो डिस्प्ले भएका फोन एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेका छन् ।
यस्तै प्रतिस्पर्धाबिच लक्जरी ब्रान्डमा गनिने एप्पलले पनि आफ्ना प्रयोगकर्तालाई नयाँ सन्देश दिएको छ । कम्पनीले हालै सार्वजनिक गरेको विज्ञापनमा, आईफोन १६ मा फोन कभर नराख्दा पनि केही नहुने सन्देश दिइएको छ ।
सामान्यतः मोबाइल खस्दा, ठोक्किँदा वा पानीमा डुब्दा क्षति नहोस् भनेर धेरै प्रयोगकर्ताले फोन कभर प्रयोग गर्छन् । यही व्यवहारलाई ध्यानमा राख्दै एप्पलले 'आईफोन १६ सेरामिक शिल्ड । ट्रस्ट इस्युज' (iPhone 16 Ceramic Shield । Trust Issues) शीर्षकमा नयाँ विज्ञापन सार्वजनिक गरेको हो ।
भिडिओमा एक परिवारले घुम्न गएको बेला बाटोमा हिँडिरहेका एक व्यक्तिलाई फोटो खिच्न अनुरोध गर्दै आफ्नो आईफोन १६ सुम्पिएको देख्न सकिन्छ । तर त्यो व्यक्तिको हातबाट फोन भुइँमा खस्छ । फोन खसेपछि वरपरका सबैजना आत्तिएर फोनतर्फ हेर्छन् । तर, जब फोन उठाएर हेर्छन्, त्यसमा कुनै क्षति देखिँदैन । भिडिओको अन्त्यमा ‘Relax, it’s iPhone 16’ अर्थात् ‘ढुक्क हुनुहोस्, यो आईफोन १६ हो’ भनेर देखाइएको छ ।
आईफोन १६ मा प्रयोग गरिएको सेरामिक शिल्ड ग्लास कति बलियो छ भन्ने देखाउन कम्पनीले बिहीबार साँझ आफ्नो युट्युब च्यानलमा यो भिडिओ अपलोड गरेको हो ।