काठमाडौं । दुई चिनियाँ नागरिकले अमेरिकाको प्रसिद्ध प्राविधिक कम्पनी एप्पललाई २५ लाख डलर (३३ करोड रुपैयाँ) ठगी गरेको घटनाले विश्वभर चर्चा पाएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हायोटियन सन र पेङ्फाई शू सन् २०१७ देखि २०१९ सम्म एप्पललाई ठग्दै नक्कली आईफोनको सट्टामा नयाँ आईफोन प्राप्त गर्ने योजनामा संलग्न थिए ।
ठगीको तरिका धेरै पेचिलो थियो । उनीहरूले नक्कली आईफोन मर्मतको लागि एप्पललाई पठाउँथे र नक्कली सिरियल नम्बर प्रयोग गरेर वारेन्टी दाबी गर्थे । वारेन्टी अनुरुप एप्पलले उनीहरूलाई नयाँ आईफोन पठाउने गर्थ्यो । यसरी उनीहरूले ६ हजारभन्दा बढी नयाँ आईफोन ठगी गरी लिएको पाइएको छ ।
उनीहरूले ठगी गर्ने क्रममा विभिन्न नक्कली नाम प्रयोग गरी हुलाकमार्फत आईफोन पठाउने गर्थे । तर, एप्पलले सिरियल नम्बरहरू ट्र्याक गरी प्रहरीले दोषी भेट्टाउने आधार पाएको थियो । यसबारे अनुसन्धानपछि उनीहरूलाई अमेरिकी न्याय विभागले ठगीको आरोपमा दोषी ठहर गरेको छ ।
सजायस्वरूप सनलाई ५७ महिनाको जेल र १० लाख डलरभन्दा बढी क्षतिपूर्ति तिर्नु पर्ने भएको छ । त्यस्तै शूलाई ५४ महिनाको जेल सजाय र चार लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिइएको छ ।