close

अमेरिकी कम्पनी एनभिडियालाई टक्कर दिने ह्वावेको शक्तिशाली एआई चिप तयार

टेकपाना टेकपाना

बैशाख १५, २०८२ ११:२१

अमेरिकी कम्पनी एनभिडियालाई टक्कर दिने ह्वावेको शक्तिशाली एआई चिप तयार

 

काठमाडौँ । चीनको प्रविधि कम्पनी ह्वावे टेक्नोलोजिजले शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रोसेसर तयार पारेको छ । एसेन्ड ९१० डी (Ascend 910D) नाम दिइएको यो शक्तिशाली एआई प्रोसेसर अमेरिकी चिप कम्पनी एनभिडियाका लागि चुनौती बन्न सक्ने अनुमान गरिएको हो । 

द वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार ह्वावेले केही चिनियाँ कम्पनीहरूलाई यो चिप परीक्षणका लागि उपलब्ध गराउने तयारी गरिरहेको छ । कम्पनीले यो चिप एनभिडियाको एच१०० भन्दा शक्तिशाली हुने विश्वास गरेको छ । यो चिपको पहिलो स्याम्पल ब्याच मे महिनासम्म तयार हुने बताइएको छ । 

ह्वावे लगायत अन्य चिनियाँ कम्पनीहरूले लामो समयदेखि एनभिडियालाई चुनौती दिनसक्ने शक्तिशाली चिप उत्पादनमा काम गरिरहेका छन् । चीनको प्राविधिक विकास, विशेष गरी चिनियाँ सैनिक लक्षित प्रविधि विकासलाई  सीमित गर्न अमेरिकाले एनभिडियाका सबैभन्दा शक्तिशाली एआई चिपहरू चीनलाई बिक्री गर्नबाट रोक लगाएको छ । यसमा बी२००, एच१०० लगायतका चिपहरू छन् । 

यस विषयमा एनभिडियाले केही बोल्न नचाहेको र ह्वावेले भने अहिले नै यस विषयमा तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सको समाचारमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८२ ११:२१