close

ह्वावेका फाइभजी फोनभित्र किरिन चिपसेट भएको पुष्टि, प्रतिबन्ध छिचोल्दै यसरी गर्दैछ कमब्याक

टेकपाना टेकपाना

भदौ ४, २०८२ २२:२४

ह्वावेका फाइभजी फोनभित्र किरिन चिपसेट भएको पुष्टि, प्रतिबन्ध छिचोल्दै यसरी गर्दैछ कमब्याक

काठमाडौँ । अमेरिकी प्रतिबन्धका कारण विगत पाँच वर्षदेखि गोप्य राखिएको आफ्नो चिपसेटबारे ह्वावे टेक्नोलोजिजले अन्ततः औपचारिक रूपमा खुलासा गरेको छ । जसअनुसार कम्पनीका प्युरा ८० स्मार्टफोनहरूमा किरिन ९०२० सिस्टम-अन-ए-चिप (SoC) समावेश गरिएको छ ।

यसले अमेरिकी प्रविधि प्रतिबन्धका बाबजुद ह्वावेको फाइभजी स्मार्टफोन बजारमा बलियो पुनरागमनलाई सङ्केत गर्दछ । हुवावेको सेमिकन्डक्टर डिजाइन सहायक कम्पनी हाईसिलिकन (HiSilicon) द्वारा डिजाइन गरिएको यो चिपसेटको नाम प्युरा ८० स्मार्टफोन प्रयोगकर्ताहरूले ह्यान्डसेटको सिस्टम अपडेटपछि अनलाइनमा शेयर गरिएका स्क्रिनशटहरूमा प्रस्ट देखिएको हो ।

यसअघि मेट ६० प्रो र मेट ७० सिरिजका फाइभजी स्मार्टफोनहरूमा ह्वावेले प्रयोग गरेका प्रोसेसरहरूबारेको जानकारी थर्ड-पार्टी टियरडाउन विश्लेषणहरूबाट मात्र पत्ता लागेको थियो । सेन्जेनस्थित कम्पनीबाट भने त्यसको कुनै आधिकारिक पुष्टि भएको थिएन ।

यस पटकको किरिन ९०२० को खुलासाले ह्वावेको सिलिकन डिजाइन क्षमतामा रहेको आत्मविश्वास र फाइभजी स्मार्टफोन बजारमा यसको बलियो पुनरागमनलाई प्रतिविम्बित गरेको छ । क्यानेडियन अनुसन्धान फर्म टेकइन्साइट्सले गत डिसेम्बरमा प्रकाशन गरेको रिपोर्टअनुसार किरीन ९०२० चिप गत वर्ष ह्वावेको मेट ७० स्मार्टफोनमा पहिलो पटक देखिएको थियो । जुन सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल कर्प (SMIC) ले एड्भान्स ७-नानोमिटर उत्पादन प्रक्रिया प्रयोग गरी यसको निर्माण गरेको थियो ।

 

पछिल्लो अध्यावधिक: भदौ ४, २०८२ २२:२४