काठमाडौं । शुक्रबार, १२ वैशाख २०८१ को प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १५ चैतको राजावादी आन्दोलनमा भाटभटेनीमा चोरी गर्नेमध्ये एक व्यक्ति सत्तारुढ पार्टीकै सहमहामन्त्रीका छोरा भएको र प्रहरीले थाहा पाएपछि दुई घण्टामै छोडेको दाबी गरे । त्यसपछि खबरहब, देशसञ्चार जस्ता सञ्चारमाध्यमले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवका छोरा पक्राउ परेको भनी समाचार लेखे ।
र, १५ चैतकै आन्दोलनका क्राममा भाटभटेनी लुटपाटका क्रममा खिचिएका भिडिओका भाइरल स्क्रिनशटसहित समाचार राखे । हाल ती फोटोमा रक्सी चोरेको देखिने युवक नै यादवका छोरा भएको पोस्ट भाइरल भइरहेका छन् ।
तर, टेकपानाले गरेको फ्याक्टचेकका क्रममा समाचारमा प्रयोग भएका फोटो यादवका छोरासँग नमिलेको पत्ता लागेको छ । त्यस्तै यादवका छोरा भन्दै भाइरल भइरहेको पहेँलो लुगा लगाएको फोटो पक्राउ परेका युवक ‘प्रेमकुमार महतो’को रहेको खुलेको छ ।
दाबी
१२ वैशाखमा बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काङ्ग्रेसका सहमहामन्त्रीका छोरा १५ चैतको राजावादी आन्दोलनका क्रममा भाटभेटनी लुटपाट गरेको आरोपमा पक्राउ परेको दाबी गरे । अध्यक्ष लिङ्देनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरीले महामन्त्रीका छोरा पक्राउ गरेपछि उनको वास्तविक परिचय थाहा पायो । र, गृहमन्त्रीको दबाबमा छोडियो । उनले कहीं पनि कुन सहमहामन्त्रीको छोरा भन्ने उल्लेख गरेका थिएनन् ।
त्यही दिन प्रतिनिधिसभा वैठकको लाइभ युट्युब भिडिओमा उनको भनाइ स्पष्ट थाहा पाउन सकिन्छ । हेर्नुहोस् भिडिओ । उनले भनेका छन्, “हामीसँग त रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभेटनीको लुटपाटमा सत्तारुट पार्टीको तपाईंको पार्टीको सहमहामन्त्रीका छोरा पक्राउ पर्या छ । किन छोड्नुभो तुरुन्तै ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्न, मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि थाहा भयो तपाईंको पलिसले पक्रिँदाखेरि भिडिओमा हेरेर पक्रियो । र, पक्रिँदा त नेताको छोरा रहेछ । नेताको छोरालाई छोड्नुभयो । ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गर्दिन्छु भन्दाखेरी तपाईंहरूले छोड्नुभयो । त्यसकारण यो सत्यतथ्य सार्वजनिक गर्न जरुरी छ ।”
लिङ्देनको यो भनाइ आएको केही समयमै खबरहबले ‘भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह-महामन्त्री यादव पुत्र’ शीर्षकको समाचार राखेको थियो । सो समाचारमा सहमहामन्त्रीका महेन्द्र यादवका छोरा पक्राउ परेको उल्लेख छ । त्यसमा सहमहामन्त्रीका छोरा यादवको नाम उल्लेख छैन । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र समाचारको स्क्रिनशट । समाचारमा राखिएको फोटोको सन्दर्भ खुलाइएको छैन ।
त्यही दिन बेलुका ७ः४७ मा मधेश प्रदेशबाट सञ्चालित मधेश टुडेलेले सहमहामन्त्री महेन्द्र यादवको फोटो राख्दै उनका छोरा पक्राउ परेको समाचार राखेको थियो । यद्यपि पत्रकार सम्मेलनका क्रममा सहमहामन्त्री यादवले मधेस टुडेले आफ्नो नाम राखेको भन्दै खन्डन गरेपछि उक्त समाचारबाट फोटो र समाचार सामग्री हटेको छ भने त्यसमा सम्पादकीय राखेर समाचार हटाएको जानकारी दिइएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क ।
त्यसपछि शनिबार १३ वैशाख २०८२ मा देशसञ्चारले ‘भाटभटेनी लुटपाटमा संलग्न काँग्रेस सहमहामन्त्री यादवका छोरा, ६ दिन थुनामा राखेर मुद्दा नचलाइ छाडियो’ शीर्षकको समाचार राखेको थियो । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट । समाचारमा राखिएको फोटोको सन्दर्भ खुलाइएको छैन ।
तथ्यजाँच
टेकपाना फ्याक्टचेकले ‘सहमहामन्त्री छोरा पक्राउ’ भन्ने कीवर्ड फेसबुक, एक्स र टिकटकमा सर्च गर्यो । त्यस क्रममा देशसञ्चार र खबरहबले समाचारमा राखेका फोटोलाई लिएर फेसबुक, एक्स तथा टिकटक प्रयोगकर्ताले सहमहामन्त्रीका छोरा भन्दै पहेँलो लुगा लगाएर हातमा बियरका बोतल समाएका युवकको फोटो एउटा फोटो, कालो लुगा लगाएर हातमा रेड लेबल समाएको अर्का युवकको फोटो र निलो लुगा लगाएर हातमा कालो बक्स च्यापेको अर्को एक गरी तीन ओटा फोटो सहमहामन्त्रीका यादवका छोराको भन्दै भाइरल राखेको पाइयो । त्यस्ता पोस्ट यहाँ, यहाँ, यहाँ क्लिक हेर्न सकिन्छ । आर्काइभ भर्सनका लागि यहाँ, यहाँ, यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
राप्रपा अध्यक्ष लिङ्देनले काङ्ग्रेस सहमहामन्त्रीका छोरा मात्र भने पनि समाचार माध्यमले काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा पक्राउ परेको दाबी गरे । तर, कुन छोरा र उनको नाम के भन्ने खुलाएका थिएनन् । भाटभटेनी लुटपाट प्रकरणमा आफ्नो नाम जोडेको भन्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै सहमहामन्त्रीका कान्छा छोरा डा. विकास यादवले आरोपको खण्डन गरेका थिए ।
उनले भिडिओमार्फत आफ्ना दाजु डा. आकाश यादव एमडी अध्ययनको सिलसिलामा भारत रहेको र आफू एमडी तयारीको सिलसिलामा घरमै बसी अध्ययन गरिरहेको बताएका थिए । “चैत १५ को घटनामा हाम्रो कुनै संलग्नता नरहेको जानकारी गराउन चाहन्छु,” उनले भिडिओ सन्देशमार्फत भनेका थिए । प्रमाण भए सदनबाटै सार्वजनिक गर्न उनले चुनौती दिंदै कारबाहीको माग गरेका थिए । हेर्नुहोस् ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ ।
आफ्नो नाम जोडेर छोरालाई बदनाम गर्न खोजेको भन्दै सहमहामन्त्री यादवले आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनमार्फत अध्यक्ष लिङ्देनलाई प्रमाण सार्वजनिक गर्न चुनौती दिएका थिए ।
सहमहामन्त्री यादवले आफ्नो नाम जोडेर पहिलो पटक खबरहबले समाचार राखेको दाबी गरेका छन् । “खबरहब भन्ने काठमाडौंबाट पहिलो न्युज निकाल्यो,” उनले पत्रकार सम्मेलनमा भने, “खबरहबको संवादाता यहाँ को छ मलाई थाहा छैन । खबरहबमा न्युज निस्किसकेपछि खबरहबलाई फोन गरेर सत्यतथ्य समाचार राख्नुस् नत्र गलत न्युज हटाउनुस् भनेर सम्पर्क गर्यो ।” हेर्नुहोस् ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ ।
काङ्ग्रेस सहमहामन्त्री यादवका छोरा भाटभटेनी लुटपाटका क्रममा पक्राउ परेको दाबीसहितका समाचार आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार विज्ञप्ति जारी गर्दै खण्डन गरेको थियो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जारी गरेको विज्ञप्तिमा सहमहामन्त्रीका छोरालाई पक्राउ गरी छोडिएका भन्ने समाचारमा कुनै सत्यता नरहेको उल्लेख छ ।
हामीले सहमहामन्त्रीका छोरा दाबी गर्दै सार्वजनिक भएका विभिन्न फोटो र उनका छोराको फोटो दाँजेर हेर्यौं । तर, कतै पनि ‘रक्सी चोरेका’ भाइरल भिडिओमा देखिएका युवक र सहमहामन्त्रीका छोराको अनुहार मिलेको पाइएन ।
केही सञ्चारमाध्यमसँग कुरा गर्दै स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले आफूसँग सहमहामन्त्रीका छोरा पक्राउ परेको प्रमाण रहेको दाबी गरेका थिए । भाटभटेनीमा ‘रक्सी चोरेको’ भन्दै सार्वजनिक भएका बाहेक दारु चोरेको पुष्टि हुने गोप्य फोटो प्रमाणका रूपमा उनीसँग भएको हुनसक्ने शङ्काको सुविधा दिएर हेर्यौं ।
त्यसका लागि फोटो उपलब्ध गराउने अनुरोधसहित हामीले उनलाई फोन सम्पर्क गर्यौं । तर, उनले फोन काटिदिए । मेसेज पनि पठायौं । तर, यो सामग्री तयार पार्दासम्म कुनै जवाफ आएको छैन । फोटो सार्वजनिक गर्नु भन्दै चौतर्फी आलोचना भइरहँदा अवश्य पनि फोटो सार्वजनिक हुन सक्थ्यो । यसरी नै राप्रपा अध्यक्ष लिङ्देनलाई पनि फोन सम्पर्क र मेसेज पठायौं । तर, उनीबाट पनि कुनै जवाफ आएन ।
दाबी
१५ चैतको राजावादी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटबाट रक्सी चोर्नेमध्येका एक काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा भन्दै भाइरल विभिन्न फोटोहरू ।
दाबीकर्ता
खबरहब, देशसञ्चार लगायतका सञ्चारमाध्यम र अन्य फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
१५ चैतमा राजधानीको तीनकुनेमा राजावादी समर्थकले गरेको प्रदर्शनीका क्रममा भाटभटेनी सुपरमार्केट लुटपाट हुँदा ‘रक्सी चोर्नेमध्ये’का एक काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा भएको भन्दै शनिबारदेखि विभिन्न फोटो भाइरल भइरहेका छन् । तर, भाटभटेनीबाट ‘रक्सी चोरेको’ देखिने कुनै पनि भाइरल फोटोसँग सहमहामन्त्री यादवका दुबै छोराको अनुहार मिल्दैन ।
निष्कर्ष
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई काङ्ग्रेस सहमहामन्त्रीको नाम र उनका छोरा पक्राउ परेको प्रमाण सार्वजनिक गर्न काङ्ग्रेसका नेताहरूले चुनौती दिइरहेका छन् । समाचार माध्यममा नाम आएका सहमहामन्त्री महेन्द्र यादव र उनका कान्छा छोरा विकास यादवले पनि प्रमाण सदनबाटै सार्वजनिक गर्न चुनौती दिएका छन् । तर, प्रतिनिधिसभा बैठकपछि राप्रपा अध्यक्ष लिङ्देनले यस विषयमा थप बोलेका छैनन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारबाट सांसद् बनेका डा. अमरेशकुमार सिहंले विभिन्न सञ्चारमाध्यमसँग कुरा गर्दै आफूसँग काङ्ग्रेस सहमहामन्त्रीका छोराले भाटभटेनीबाट रक्सी चोरेको भन्ने प्रमाण भएको दाबी गरेका छन् । तर, उनले पनि आफूसँग भएको भन्ने प्रमाण सार्वजनिक गरेका छैनन् । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोरा भन्दै सार्वजनिक भएका कुनै पनि फोटो उनका वास्तविक छोराको अनुहारसँग मेल खाँदैन । त्यसैले सहमहामन्त्री यादवका छोरा भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका फोटो भ्रामक हुन् ।