close

च्याटजीपीटीमा नयाँ अपडेट: अनलाइन शपिङ गर्न सघाउने

टेकपाना टेकपाना

बैशाख १६, २०८२ ७:५०

च्याटजीपीटीमा नयाँ अपडेट: अनलाइन शपिङ गर्न सघाउने

काठमाडौं । ओपनएआईले एआई बट च्याटजीपीटीमा नयाँ फिचर थप गरेको छ । प्रयोगकर्तालाई अनलाइन सामग्री खरिद गर्दा निर्णय लिन सहज बनाउने गरी कम्पनीले च्याटजीपीटीमा शपिङ फिचर थप गरेको हो । सोमबार राती एक ट्वीट राख्दै कम्पनीले यो नयाँ फिचर सार्वजनिक भएको घोषणा गरेको थियो ।  

अब प्रयोगकर्ताले आफूलाई आवश्यक कुनै पनि सामग्री अनलाइन खरिद गर्नुपरेमा उक्त सामग्री कहाँ पाउँछ, मूल्य कति पर्छ, अन्य रिभ्युहरू कस्ता छन् लगायतका विवरण च्याटजीपीटीमा पाउन सक्नेछन् । योसँगै च्याटजीपीटीले प्रयोगकर्तालाई विभिन्न ई-कमर्शको साइटको लिंक सहित नै प्रश्नको जवाफ दिनेछ । कम्पनीले यो कुनै कम्पनीहरूसँग मिलेर गरिएको विज्ञापन नभइ च्याटबट आफैले स्वतन्त्र रुपमा दिने सुझाव भएका कारण यो निष्पक्ष भएको बताएको छ ।

च्याटजीपीटीमा सर्च फिचर थप गरेसँगै कम्पनीले यो फिचर पनि थप गरेको हो । धेरैजसो प्रयोगकर्ताहरू यस्ता सुझावहरूका लागि गुगलमा निर्भर छन् । च्याटजीपीटीको यो प्रयासले भने गुगललाई चुनौती दिने अनुमान गरिएको छ ।  

कम्पनीले यो नयाँ सुविधा प्रयोगकर्ताले सामान छिटो फेला पार्न, तुलना गर्न र किन्न सजिलो बनाउने उद्देश्यले ल्याइएको जनाएको छ । यो सेवा सबै प्रयोगकर्तालाई उपलब्ध गराइनेछ भने पूर्णरूपमा सबै प्रयोगकर्तासम्म पुग्न केही समय लाग्ने कम्पनीको भनाइ छ । 

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ ७:५२