close

अमेजनको पहिलो स्याटलाइट प्रक्षेपण सफल, छिट्टै इन्टरनेट सेवा सुरु हुने

टेकपाना टेकपाना

बैशाख १६, २०८२ ९:६

अमेजनको पहिलो स्याटलाइट प्रक्षेपण सफल, छिट्टै इन्टरनेट सेवा सुरु हुने

काठमाडौं । स्याटलाइट इन्टरनेट उपलब्ध गराउने उद्देश्य सहित अमेजनले प्रोजेक्ट काइपर अन्तर्गतको पहिलो २७ स्याटलाइट सोमबार प्रक्षेपण गरेको छ । स्पेसएक्सको स्टारलिंक जस्तै स्याटलाइट इन्टरनेट उपलब्ध गराउने उद्देश्य सहित कम्पनीले यो प्रोजेक्ट सुरु गरेको थियो । पछिल्लो समय स्याटलाइटको परीक्षण गरिरहेको कम्पनीले अन्ततः स्याटलाइटको पहिलो ब्याच अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।  

कम्पनीले कुल तीन हजार २३६ वटा स्याटलाइट पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गर्नेछ । सन् कम्पनीले २०१९ मा १० अर्ब अमेरिकी डलरको लगानीमा यो प्रोजेक्ट सुरु गरेको थियो, जसले उपभोक्ता, व्यवसाय तथा सरकारहरूलाई इन्टरनेट सेवा दिने र मूल्य पनि कम पर्ने कम्पनीको दाबी छ । 

बोइङ र लकहिड मार्टिनको संयुक्त व्यवसाय ‘युनाइटेड लञ्च अलायन्स’ (ULA) द्वारा एटलास भी रकेटमार्फत क्याप क्यानभेरल स्पेस फोर्स स्टेसनबाट सोमबार यी स्याटेलाइटहरू प्रक्षेपण गरिएको हो । यसअघि  अप्रिल ९ को निर्धारित प्रक्षेपण प्रयास खराब मौसमका कारण स्थगित भएको थियो । 

अमेजनका अनुसार संसारभर अर्बौँ मानिसहरू अझै पनि भरपर्दो इन्टरनेट पहुँचबाट वञ्चित छन् । कमजोर इन्टरनेट जडानका कारण सञ्चार, शिक्षा, स्वास्थ्य सेवा र अन्य आवश्यक सेवामा सीमित पहुँच हुँदा धेरै समुदाय आर्थिक अवसरबाट समेत वञ्चित हुने अमेजनको निष्कर्ष छ । यस्तोमा ‘प्रोजेक्ट काइपर’ ले उच्च गुणस्तरको इन्टरनेट सेवा सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

इन्टरनेट जडानका लागि नागरिकहरूलाई आवश्यक हुने एन्टेना लगायतका उपकरणहरू पनि कम्पनीले सार्वजनिक गरिसकेको छ । योसँगै अब अमेजनको इन्टरनेट पनि चाँडै नै उपलब्ध हुने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १४:३०