close

गुगल सर्चमा आयो ७ सातै दिन/२४ सै घण्टा सूचना तथा जानकारी ट्र्याक गर्ने नयाँ एआई सर्च एजेन्ट

टेकपाना टेकपाना

जेठ ३१, २०८३ ७:४८

गुगल सर्चमा आयो ७ सातै दिन/२४ सै घण्टा सूचना तथा जानकारी ट्र्याक गर्ने नयाँ एआई सर्च एजेन्ट

काठमाडौँ । गुगलले आफ्नो एआई मोड (AI Mode) मा स्वचालित रूपमा जानकारी खोज्ने नयाँ सर्च एजेन्ट (Search agents) तथा इन्फर्मेसन एजेन्ट (Information agents) रोल आउट गर्न सुरु गरेको छ । गुगल आई/ओ २०२६ मा पहिलो पटक घोषणा गरिएको यो फिचरले प्रयोगकर्ताहरूलाई म्यानुअल रूपमा पटक-पटक सर्च गरिरहनु पर्ने बाध्यता हटाउँदै चाहेको विषयमा पृष्ठभूमिमा २४सै घण्टा निगरानी राख्ने काम गर्दछ ।

कसरी काम गर्छ इन्फर्मेसन एजेन्टले ?

यी इन्फर्मेसन एजेन्टहरू गुगल सर्चको एआई मोडभित्र निरन्तर रूपमा चल्छन् । र ब्लगहरू, समाचार साइटहरू, सामाजिक सञ्जालका पोस्टहरू, रियल-टाइम वित्तीय तथ्याङ्क, शपिङ र खेलकुदका जानकारीहरू स्क्यान गर्छन् ।

प्रयोगकर्ताले प्राकृतिक भाषा (natural language) प्रयोग गरेर 'मलाई यस बारे अपडेट राख' (keep me updated on) वा 'मलाई अलर्ट देउ' (alert me when) जस्ता प्रम्प्टहरू लेखेर यसलाई सक्रिय गर्न सक्छन् ।

तपाईंले यसलाई विभिन्न कामको लागि निर्देशन दिन सक्नुहुन्छ । जस्तै: उडानको मूल्य ट्र्याक गर्न, कुनै नयाँ प्रोडक्टको लन्च बारे अपडेट लिन, आफ्नो बजेट र आवश्यकता अनुसारको अपार्टमेन्ट लिस्टिङ खोज्न, जागिरका अवसरहरू हेर्न वा आफ्नो मनपर्ने खेलाडीले नयाँ जुत्ता (sneaker collabs) सार्वजनिक गर्दा जानकारी पाउन ।

 

जब कुनै सान्दर्भिक जानकारी फेला पर्छ वा परिवर्तन हुन्छ, गुगलले गुगल एपमार्फत परिवर्तन भएको कुराको सङ्क्षिप्त सारांश, सान्दर्भिक लिङ्कहरू र आवश्यक कदम चाल्न सकिने (take action) विकल्पहरूसहित नोटिफिकेसन पठाउँछ । प्रयोगकर्ताले एआई मोडको हिस्ट्रीबाट यी एजेन्टहरूलाई व्यवस्थित गर्न वा ट्र्याकिङ रोक्न सक्छन् ।

अन्य विकल्पहरूभन्दा कसरी छिटो र उत्कृष्ट छ ?

यसअघि गुगलले जेमनाई एपमा दिनको एक पटक चल्ने निर्धारित कार्यहरू र जेमनाई स्पार्कमा प्रत्येक १५ मिनेटमा चल्ने सुविधाहरू दिएको थियो । तर यी नयाँ सर्च एजेन्टहरूको मुख्य विशेषता भनेको तत्काल जानकारी दिन सक्ने क्षमता (immediacy) हो ।

यसले निरन्तर रूपमा वेबको डेटा विश्लेषण गर्ने भएकोले तीव्र गतिमा परिवर्तन हुने समाचार वा सीमित स्टक भएका सामानहरू खरिद गर्न प्रयोगकर्ताहरूलाई विशेष सहयोगी हुन सक्छ ।

उपलब्धता र मूल्य

हाल यो सुविधा प्रिमियम सेवाको रूपमा गुगल एआई अल्ट्राका ग्राहकहरूका लागि मात्र उपलब्ध गराइएको छ । जसको मूल्य प्रति महिना ९९.९९ देखि १९९.९९ अमेरिकी डलर तोकिएको छ ।

यो फिचर एआई मोडमा उपलब्ध सबै भाषा र बजारहरूमा प्रयोग गर्न सकिन्छ । अल्ट्रा टियरमा नभएका ग्राहकहरूका लागि गुगलले यो स्वचालित सर्च एजेन्ट सुविधा यसै वर्षको गर्मीयामको अन्त्यसम्ममा गुगल एआई प्रोका प्रयोगकर्ताहरूलाई पनि उपलब्ध गराउने योजना बनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८३ ७:४८