close

भद्रपुर प्रहरीको आग्रह- ‘आपत पर्दा ठेगाना बताउनुको साटो ह्वाट्सएपमा लाइभ लोकेसन पठाउनुस्’

टेकपाना टेकपाना

असार १, २०८३ २०:५३

भद्रपुर प्रहरीको आग्रह- ‘आपत पर्दा ठेगाना बताउनुको साटो ह्वाट्सएपमा लाइभ लोकेसन पठाउनुस्’

काठमाडौँ । वडा प्रहरी कार्यालय भद्रपुर, झापाले नागरिकलाई आपतकालीन समयमा फोन गरेर आफ्नो ठेगाना बताउनुको साटो ह्वाट्सएपमार्फत ‘लाइभ लोकेसन’ पठाउन आग्रह गरेको छ । विपद् वा संकटका बेला सटीक लोकेसन प्राप्त भएमा प्रहरीलाई समयमै घटनास्थलमा पुग्न सहज हुने भन्दै कार्यालयले यस्तो अनुरोध गरेको हो । 

एक भिडिओ सन्देश सार्वजनिक गर्दै कार्यालयले प्रभावकारी विकल्पबारे जानकारी दिएको छ । भिडिओमा प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङले भनेका छन्, “आपत्कालीन अवस्थामा म फलानो ठाउँमा छु अथवा फलानो स्थान नजिकै छु भन्नुभन्दा आफ्नो लाइभ लोकेसन पठाउनुस् । यसले प्रहरीलाई तपाईंसम्म छिटो र सही रूपमा पुग्न मद्दत गर्दछ ।” 

प्रहरी निरीक्षक तामाङले नागरिकलाई ह्वाट्सएपम नम्बर सेभ गर्न सिकाउँदै लाइभ लोकेसन कसरी पठाउने भन्ने जानकारी दिएका छन् । त्यसका लागि फोनमा सबैभन्दा पहिले ९८५२६७८०९९ नम्बर ‘Police’ नाम राखेर सेभ गर्न भनिएको छ । त्यसपछि ह्वाट्सएपमा नयाँ च्याटमा गएर उक्त नम्बर खोज्नुहोस् । र, अट्याचमेन्टमा क्लिक गर्नुहोस् । अनि लोकेसनको अप्सन ट्याप गरेर आफ्नो हालको लोकेसन पठाउनुहोस् । “सही समयमा पठाइएको एउटा लोकेसनले मानिसको जीवन बचाउन सक्छ,” प्रहरी निरीक्षक तामाङले भनेका छन् ।

२४ सय जना जोडिएको वडा प्रहरी कार्यालयको सो भिडिओमा ३० हजार बढी रियाक्सन छ । सो भिडिओमा कमेन्ट गर्नेमध्ये अधिकांशले वडा प्रहरी कार्यालयको सो कामलाई प्रसंसा गरेका छन् । 

यसो त नेपाल प्रहरीको एपमै पनि यो फिचर उपलब्ध छ । पर्याप्त डेटा वा ब्यालेन्स नहुँदा पनि चल्ने नेपाल प्रहरीको मोबाइल एपमा प्यानिक मोड रहेको छ । यो मोड अन गर्ने वित्तिकै व्यक्तिको नाम र ऊ रहेको सटीक लोकेसन नजिकको प्रहरी कार्यालयमा पुग्छ । 

पछिल्लो अध्यावधिक: असार १, २०८३ २१:११