close

यार्सागुम्बा व्यवसायमा नाफा हुन्छ, लगानी गर्नु भन्दै फेसबुकबाट ३६ लाख ठग्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

बैशाख १६, २०८२ १८:४

यार्सागुम्बा व्यवसायमा नाफा हुन्छ, लगानी गर्नु भन्दै फेसबुकबाट ३६ लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत लगानीमा प्रलोभन देखाई ठगी गरेको आरोपमा एक व्यक्ति प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-७ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ ठमेल बसोबास गर्दै आएका ४१ वर्षीय दिपेन्द्र सिंह रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपी सिंहले आफू अमेरिकाबाट फर्किएको पूर्व प्रहरी भएको र हाल यार्सागुम्बा खरिद-बिक्री गर्ने व्यवसाय गरिरहेको भन्दै फेसबुकमार्फत विभिन्न व्यक्तिलाई प्रलोभनमा पार्थे । उनले पटक-पटक गरी ३६ लाख दुई हजार १६६ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

प्रहरीका अनुसार सिंहविरुद्ध यसअघि पनि विभिन्न ठगीसम्बन्धी मुद्दा दर्ता रहेका छन् । यसअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा, जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख बराबरको ठगी मुद्दा र इलाका प्रहरी कार्यालय बुटवलमा नेपाली सेनामा भर्ती गराइदिने भन्दै चार लाख ठगीसम्बन्धी मुद्दा दर्ता रहेका छन् ।

पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

समाचारमा ठगी रकम ३६ लाख रुपैयाँ बढी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १९:१९