काठमाडौँ । आइतबार दिउँसो १ बजेदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा ‘१५ चैतमा भाटभटेनीमा रक्सी र चुरोट चोरेका ६ जनाले कक्षा १२ को परीक्षा दिँदै’ भन्ने ब्यहोराका पोस्ट प्रसारित भइरहेका छन् ।
राजावादी समर्थकले गरेको प्रदर्शनका क्रममा भाटभटेनीबाट बियरका बोतल उठाउँदै गरेका भाइरल फोटो प्रयोग गर्दै केही फेसबुक पेजले परीक्षा दिने ती ६ जना नै फोटोमा देखिएका व्यक्ति भएको दाबी गरेका छन् । तर, टेकपाना फ्याक्टचेकले ती दाबी भ्रामक भएको देखाएको छ । ६ जनाले जिल्ला प्रहरी परिसर भद्रकालीबाटै परीक्षा दिइरहेको कुरा सत्य हो ।
तर, उनीहरू सबै भाटभटेनी लुटपाटको घटनामा पक्राउ परेका होइनन् । उनीहरू मध्ये दिनेश महतो मात्र १५ चैतको भाटभटेनी लुटपाट घटनामा पक्राउ परेका हुन् ।
दाबी
फेसबुकमा ‘एनईबी रिजल्ट्स’ नाम भएको पेजले ४ मार्च दिउसो २ः३१ बजे एक पोस्ट राख्यो । त्यसको क्याप्सनमा लेखिएको छ, “Wow: भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका ६ जनाले जेलबाटै कक्षा १२ को Exam दिएका छन् । विद्यार्थीहरू दिनेश महतो, दावा शेर्पा, सौगातकुमार बिक, सरोज थापा, सिमन घले र अमन साकिनले प्रहरी कार्यालय भद्रकालीबाटै परीक्षा दिएका हुन् । पढाई नछुटोस् भनेर उनीहरूलाई परीक्षा दिने व्यवस्था मिलाइएको हो।”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २८०० बढी रियाक्सन आएका छन् । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
अनुसन्धान
‘एनईबी रिजल्ट्स’ नामक फेसबुक पेजले राखेको पोस्ट देखिएपछि टेकपाना फ्याक्टचेक डेस्कले उक्त पेजमा रहेको क्याप्सनमा रहेका कीवर्ड राखेर फेसबुक सर्च गर्यो । त्यस क्रममा ‘लोल नेपाल’ नामक फेसबुक पेजले ‘एनईबी रिजल्ट्स’ कै शैलीले फोटो र क्याप्सन राखेको देखियो । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
त्यही क्रममा हुलाक सञ्चार डटकमले त्यही ‘भाटभटेनीबाट चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा’ शीर्षकको समाचार ४ मे २०२५ दिउसो १ः५१ बजे राखेको भेटियो । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
हुलाक सञ्चारले समाचारमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले उक्त सूचना उपलब्ध गराएको उल्लेख गरेको छ । तर, प्रहरी उपरीक्षक बोहोराको नाम उल्लेख भएको वाक्यमा लेखिएको छ, “१९ वर्षीय दिनेश महतोसहित ६ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले जानकारी गराएका छन् ।”
यसमा कतै पनि प्रहरी उपरीक्षक बोहोराले ६ जना कुन आरोपमा पक्राउ परेका हुन् भन्ने बताएको देखिन्न । एनईबी रिजल्ट्स र एलओएल नेपाल नामक फेसबुक पेजले हुलाक सञ्चारकै समाचारबाट फेसबुक पोस्टमा राखेको क्याप्सन दुरुस्तै कपी पेस्ट गरेको देखिन्छ । अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि हुलाक सञ्चारको समाचारको स्क्रिनशट राख्दै ‘भाटभटेनी लुटपाटमा पक्राउ परेका विद्यार्थीहरू अहिलेसम्म किन छुटेनन्’ भन्दै प्रश्न गरिरहेका छन् ।
तथ्य जाँचकै क्रममा गुगलमा ‘हिरासत कक्षा १२’ शब्द गुगल कीवर्डमा खोजी हेर्यौँ । त्यसमा अनलाइन खबरको समाचार देखियो । अनलाइन खबरले प्रहरी उपरीक्षक बोहोराको भनाइ राख्दै ‘१५ चैतमा भाटभटेनी लुटपाटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका एक जना’ सहित ६ जनाले परीक्षा दिइरहेको उल्लेख गरेको छ ।
भाटभटेनी लुटपाटको घटनामा पक्राउ परेका युवक १९ वर्षिय दिनेश महतो रहेको अनलाइन खबरमा उल्लेख छ । बाँकी पाँच जना भने अन्य १५ चैतको घटनाको लुटपाटको कसुरमा नभई अन्य कसुरमा पक्राउ परेको उल्लेख छ ।
सेतोपाटीले पनि ‘तीनकुने घटनामा संलग्न रहेको आरोप लागेका एक जनासहित ६ जनाले कक्षा १२ को परीक्षा दिन थालेको प्रहरीको भनाइ’ उल्लेख गरेको छ । त्यस्तै सोही समाचारमा ‘चैत १५ गतेको घटनामा आपराधिक उपद्रव गर्न नहुने कसुरमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतो, अभद्र व्यवहारमा पक्राउ परेका नुवाकोट विदुर नगरपालिका-२ घर भई काठमाडौँ वसुन्धरा बस्ने १९ वर्षीय सिमन घले, अभद्र कसुरमा पक्राउ परेका भारत घर भई हाल काठमाडौँ बस्ने अमन साकिनले परीक्षा दिइरहेका छन् । त्यस्तै अभद्र व्यवहार कसुरमा पक्राउ परेका धादिङ नीलकण्ठ नगरपालिका-१३ का सरोज थापा, सवारी ज्यान कसुरमा पक्राउ परेका स्याङ्जाका सौगातकुमार विक र चोरी कसुरमा पक्राउ परेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ का दावा शेर्पाले परीक्षा दिइरहेको एसपी बोहोराले जानकारी दिए ।’ उल्लेख छ ।
टेकपाना फ्याक्टचेक डेस्कले परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहोरालाई सम्पर्क गर्दा उनले सेतोपाटीमा आएको जानकारी सही भएको पुष्टि गरे । “जाँच दिनेमध्ये १९ वर्षीय दिनेश महतो भाटभटेनी लुटपाट गरेको आरोपमा पक्राउ परेका हुन्,” प्रहरी उपरीक्षक बोहोराले भने, “बाँकी पाँच जना १५ चैतको घटनामा सम्बन्धित छैनन् ।”
जिल्ला प्रहरी परिसरका अनुसार हातमा बियरको बोतल लिएर भाग्दै गरेको देखिने युवक दिनेशकुमार महतो नभई ‘प्रेम कुमार महतो’ हुन् । उनी १७ चैतमा पक्राउ परेका थिए ।
दाबी
भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका ६ जनाले जेलबाटै कक्षा १२ को जाँच दिए ।
दाबीकर्ता
हुलाक सञ्चार डटकम, एनईबी रिजल्ट्स, एलओएल नेपाल लगायतका फेसबुक फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
आज ४ मे २०२५ देखि सुरु भएको कक्षा १२ को जाँचमा विभिन्न अभियोगमा पक्राउ परेकामध्ये ६ जनाले जिल्ला प्रहरी परिसरको हिरासतबाटै जाँच दिएका छन् । त्यसमध्ये १९ वर्षीय दिनेश महतो १५ चैतमा भएको भाटभटेनी लुटपाटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । हिरासतबाटै कक्षा १२ को जाँच दिने बाँकी पाँच जनाको भाटभटेनी लुटपाटको घटनामा कुनै सम्बन्ध छैन ।
निष्कर्ष
हुलाक सञ्चार डटकम, एनईबी रिजल्ट्स र एलओएल नेपाल लगायतका फेसबुक पेजहरूले भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका ६ जनाले जेलबाटै कक्षा १२ को परीक्षा दिएको दाबीसहितका पोस्ट राखेका छन् । टेकपाना फ्याक्ट चेकले यस दाबीको जाँच गर्दा जिल्ला प्रहरी परिसर काठमाडौँबाट ६ जनाले कक्षा १२ को परीक्षा दिएको जानकारी सही भए तापनि ती सबै भाटभटेनी चोरीको आरोपमा पक्राउ परेका व्यक्ति नभएको देखाएको छ । ती ६ जना परीक्षार्थीमध्ये १९ वर्षीय दिनेश महतो मात्र १५ चैतमा भाटभटेनीबाट चोरी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी हुन् ।