काठमाडौँ । तोक्मा टेक्नोलोजीले बिरामी तथा वृद्धवृद्धाको लागि सहयात्री भाडामा लिन सकिने सेवा सुरु गरेको छ । सोमबार तोक्मा एप सार्वजनिक गर्दै कम्पनीले आफ्नो सेवा सुरु गरेको हो । जसमा तोक्मा प्रोभाइडर र तोक्मा: राइड, गाइड र कम्प्यानियन गरि दुईवटा एप सार्वजनिक भएका छन् ।
तोक्मा: राइड, गाइड र कम्प्यानियन” एपबाट विभिन्न सेवा लिन सकिन्छ । जसमा बिरामीलाई सहारा दिने, वृद्ध वृद्धासँग कुराकानी गर्न वा स्याहार गर्नका लागि घण्टाको हिसाबमा सहयात्री बुक गर्न सकिन्छ । यस्तै, बजारबाट केही सामान ल्याउने व्यक्ति पनि यस एपले उपलब्ध गराउँछ ।
नेपालमा ट्रेकिङ गर्न वा घुम्न जानका लागि टुर गाइड बुक गर्ने र उपत्यकाको लागि राइड शेयरिङ गर्ने सुविधा पनि यस एपबाटै पाउन सकिन्छ । यस्तै, आफ्नो घर वा संस्थाका लागि चाहिने सेक्युरिटी गार्ड पनि अनलाइनबाट खोज्न सकिने सुविधा यसमा छ ।
यस्तै व्यक्तिगत जानकारी तथा कम्पनीको विवरण मोबाइलमार्फत सहजै शेयर गर्न सकिने गरि जीकार्ड सञ्चालनमा ल्याइएको छ । उक्त कार्ड एन्ड्रोइड तथा आईफोनमा रहेको एनएफसी (नियर फिल्ड कम्युनिकेसन) फिचरबाट चलाउन सकिनेछ । एनएफसी अन गरेपछि एउटा मोबाइलबाट अर्को मोबाइलमा आफ्नो व्यक्तिगत विवरणहरू उपलब्ध गराउन सकिन्छ । अर्थात्, यसको प्रयोगले व्यावसायिक व्यक्तिले भिजिटिङ कार्ड बोकेर हिँड्न नपर्ने कम्पनीका सह-संस्थापक सागर आङ्देम्बेले बताए ।
यस्तै जीकार्डलाई थप सहज बनाउन क्युआर कोडमार्फत चल्न मिल्ने बनाउने योजना समेत रहेको उनले सुनाए ।
सह-संस्थापक आङ्देम्बेका अनुसार ‘तोक्मा’ भरियाहरूले आफ्नो भारीलाई सहारा दिन भारीको तलपट्टी अड्याएर राख्ने लौरो हो । तोक्माले भरियालाई भारी बोक्न सहारा दिएजस्तै नेपालीहरूलाई सहारा दिन “तोक्मा टेक्नोलोजी” सञ्चालनमा आएको उनले बताए । यस कम्पनीमा आङ्देम्बेसहित सञ्चमान राई र डा. कुमार गुरुङ गरी तीन जना सह-संस्थापक छन् ।
सह-संस्थापक सञ्चमान राईले ३ वर्षको अनुसन्धान गरेर सेवाहरू तयार गरेर सार्वजनिक गरिएको बताए । प्रयोगकर्ताको सुझाव अनुसार आफ्ना सेवालाई परिमार्जन गर्दै लैजाने उनको भनाई छ ।
यो एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गरेर र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नेछन् ।