काठमाडौँ । नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ३१ लाख नाघेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार २०८१ सालको चैत मसान्तसम्ममा फिक्स्ड इन्टरनेट ग्राहकको संख्या ३१ लाख ३० हजार ६५५ पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउन मसान्तसम्म इन्टरनेट ग्राहक २९ लाख ३ हजार २७० थिए । नौ महिनाको अवधिमा कुल दुई लाख २७ हजार ३८५ ग्राहक थपिएका छन् । यसमध्ये वर्ल्डलिंक, वेबसर्फर, भायानेट, वाईफाई नेपाल र डिश मिडिया तीव्र रूपमा ग्राहक विस्तार गर्न सफल भएका छन् ।
सबैभन्दा धेरै ग्राहक थप्ने कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड रहेको छ । साउनमा नौ लाख ३१ हजार ९९ ग्राहक रहेको वर्ल्डलिंकले चैत मसान्तसम्ममा १० लाख ९३१ ग्राहक बढाएको छ । नौ महिनाको अवधिमा कम्पनीले ६९ हजार ८३२ ग्राहक थपेको हो । देशमा १० लाख ग्राहकको आँकडा पार गर्ने वर्ल्डलिंक एक मात्र सेवा प्रदायक हो ।
रफ्तारमा ग्राहक थप्ने दौडमा वर्ल्डलिंकपछि वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम्स रहेको छ । नौ महिनाको अवधिमा वेबसर्फरले ४८ हजार १०७ ग्राहक थप्दै कुल एक लाख ८६ हजार ६६७ पुर्याएको छ । विशेषगरी भदौ र मंसिर महिनामा यो कम्पनीले धेरै ग्राहक बढाएको देखिन्छ ।
यता भायानेटले ३५ हजार ८८४, वाईफाई नेपालले ३० हजार ७९१ र डिश मिडिया (डिशहोम)ले २२ हजार ५६९ ग्राहक थपेका छन् । वाईफाई नेपालले यो अवधिमा ग्राहक संख्या दोब्बर बनाएको छ । डिशहोमले अन्य महिनाको तुलनामा माघ महिना बढी ग्राहक थपेको देखिन्छ ।
अर्कोतर्फ क्लासिक टेक, सबिसु, ब्रोडलिङ्क, सजिलो नेट लगायत कम्पनीहरूले पनि केही हजार ग्राहक थपेका छन् । देशको दोस्रो ठुलो इन्टरनेट सेवाप्रदायक रहेपनि नेपाल टेलिकमको वृद्धि भने न्यून रहेको छ । नौ महिनायता टेलिकममा जम्मा एक हजार ९३४ ग्राहक थपिएका छन् ।
यस अवधिमा केही इन्टरनेट सेवा प्रदायकहरूले ग्राहक गुमाएका छन् । एरोनेटले चार हजार ३६४, कनेक्ट नेपालले दुई हजार ३२२, फाइबर वर्ल्डले एक हजार ८० ग्राहक गुमाएका छन् । यो अवधिमा अधिकांश साना सेवा प्रदायकहरूले ग्राहक गुमाएको देखिन्छ ।
ग्राहक संख्याका आधारमा शीर्ष १० फिक्स्ड इन्टरनेट सेवा प्रदायक (चैत २०८१ सम्म)