काठमाडौँ । भारतका चर्चित कन्टेन्ट क्रियटर ध्रुव राठीले ‘सिख योद्धाको उदय’ सम्बन्धी आफ्नो पछिल्लो भिडिओ हटाएका छन् । भिडिओमा प्रयोग गरिएको एआई निर्मित एनिमेटेड क्लिपले सिख समुदायको भावनामा ठेस पुर्याएको भन्दै विवाद उत्पन्न भएपछि राठीले सोमबार सो भिडिओ युट्युबबाट हटाएका हुन् ।
राठीले भिडिओ अपलोड गरिसकेपछि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दर्शकसँग यस विषयमा राय मागेका थिए । उनले भारतीय इतिहासलाई एनिमेसनको माध्यमबाट चलचित्रको रूपमा प्रस्तुत गर्ने आफ्नो लामो समयदेखिको इच्छा एआई प्रविधिले सम्भव तुल्याएको बताएका थिए । यद्यपि भिडिओमा सिख गुरु गोविन्द सिंहको एनिमेटेड चित्रण गरिएको र त्यसमा चाल थपिएको विषयमा सिख समुदायका केही व्यक्तिले आफ्नो धार्मिक विश्वाससँग मेल नखाएको भन्दै आपत्ति जनाएका थिए ।
राठीले इन्स्टाग्राममा दर्शकलाई सम्बोधन गर्दै भनेका थिए, “जसरी यो भिडिओमा एनिमेसन गरिएका छन्, त्यसले तपाईंको विश्वासमा ठेस पुर्याएको तपाईंमध्ये सिख समुदायका केही व्यक्तिको मान्यता छ,” उनले भने, “के यो वास्तवमा तपाईंको धार्मिक भावनाको विरुद्धमा छ ? र यदि तपाईं अपमानित महसुस गर्नुहुन्छ भने के मैले यो भिडिओ हटाउनु पर्छ ?”
उनले यदि गुरुको अनुहार नै देखाउन नपाइने हो भने गुरु गोविन्द सिंह मुख्य पात्र रहेको उक्त ऐतिहासिक भिडिओ बनाउन असम्भव हुने पनि उल्लेख गरेका थिए ।
अधिकांश दर्शकले भिडिओ नहटाउन सुझाव दिएपनि राठीले सिख समुदायको भावनाको सम्मान गर्दै र कुनै पनि धार्मिक वा राजनीतिक विवादमा फस्न नचाहेको भन्दै भिडिओ हटाउने निर्णय गरेको जानकारी दिए । उनले यस्ता सामग्रीलाई भविष्यमा नयाँ ढङ्गले प्रस्तुत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनको उक्त भिडिओ अहिले युट्युबबाट गायब छ ।