close

‘चीनले अमेरिकामा नै बनेको चिप प्रयोग गरेको राम्रो’

टेकपाना टेकपाना

जेठ ७, २०८२ १७:५७

‘चीनले अमेरिकामा नै बनेको चिप प्रयोग गरेको राम्रो’

काठमाडौँ । अमेरिकाले चीनमा उच्चस्तरीय चिप बिक्री गर्न रोक लगाएपछि चिनियाँ प्रविधि कम्पनीहरू झनै बलियो बन्दै गएको एनभिडियाका प्रमुख जेन्सेन हुआङले बताएका छन्।

ताइवानको राजधानी ताइपेईमा बुधबार आयोजित कार्यक्रममा उनले भने, “अमेरिकाले निर्यातमा लगाएको रोकले उल्टै चिनियाँ कम्पनीहरूलाई अघि बढ्न हौसला दिएको छ । उनीहरू झनै बलियो भएर आएका छन् ।”

एनभिडिया अमेरिकाको ठुलो चिप निर्माता कम्पनी हो । अमेरिकाले सन् २०२२ देखि एनभिडियाका शक्तिशाली चिप्स चीनमा बेच्न रोक लगाएको थियो । त्यसपछि एनभिडियाले चीनका लागि केही कमजोर चिप्स बनाएको थियो । तर अहिले त्यो पनि बेच्न अमेरिका सरकारको अनुमति चाहिने भएको छ ।

हुआङका अनुसार यसले एनभिडियालाई ठुलो घाटा पुर्‍याएको छ । यसअघि चीनमा एनभिडियाको बजार हिस्सा ९५ प्रतिशत जति थियो भने अहिले घटेर ५० प्रतिशत मात्रै बाँकी छ ।

उनले भने, “चिनियाँ कम्पनीहरूसँग अब आफ्नै चिप्स छन् । एआईमा काम गर्न उनीहरू आफ्नै शक्तिशाली चिपहरू प्रयोग गरिरहेका छन् । एनभिडिया नभए पनि उनीहरूलाई केही फरक परेको छैन ।” यद्यपि आफूहरू चिनियाँ बजारमा रहिरहनका लागि हरसम्भव प्रयास गरिरहेको हुआङले बताए । उनले चिनियाँ अधिकारीहरूसँग बैठकसमेत गरिसकेको बताएका छन् ।

उनले भने, “कि त चीनका एआई कम्पनीहरूले एनभिडिया चिप नै प्रयोग गरोस्, होइन भने कम्तीमा पनि अमेरिकामा नै बनेको चिप प्रयोग गरे पनि राम्रो नै हुने थियो ।”

पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ १८:१०