काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ निशा डाँगीले आगामी आर्थिक वर्ष २०८२/८३ देखि डिजिटल कारोबारमा लाग्दै आएको कर हटाउने सरकारी निर्णयको प्रशंसा गरेकी छिन् । बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै सांसद् डाँगीले डिजिटल कारोबारलाई करमुक्त मात्र नभई पूर्ण रूपमा निःशुल्क बनाउनुपर्नेमा जोड दिएकी छन् ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल कारोबारमा लाग्ने कर खारेज भएको घोषणा गरेका थिए ।
“मैले सदनमा डिजिटल भुक्तानी निःशुल्क गर्नुपर्छ भन्दै सात पटकसम्म बोलेँ, अर्थमन्त्री ज्यूलाई पत्र बुझाएँ, प्रधानमन्त्री ज्यूलाई प्रश्न गरेँ र अर्थ समितिमा छलफल चलाउन अनुरोधसमेत गरेँ,” प्रतिनिधि सभाकी कान्छी सांसदसमेत रहेकी उनले लेखेकी छन्, “मैले सदन र सार्वजनिक मञ्चमा निरन्तर उठाउँदै आएको विषय आर्थिक वर्ष २०८२/८३ को बजेटमा सम्बोधन भएको छ । बजेटमा डिजिटल कारोबारमा लाग्ने भ्याट हटाउने निर्णय सकारात्मक छ ।”
डाँगीले कर हटाउने निर्णयमात्र पर्याप्त नभएको बताउँदै दिगो र सबल डिजिटल भुक्तानी प्रणालीका लागि आधुनिक पूर्वाधार विकास अत्यावश्यक रहेको औंल्याइन् । “बिस्तारै डिजिटल कारोबार पूर्ण रूपमा निःशुल्क हुने व्यवस्था गरिनुपर्छ । र म त्यसको लागि निरन्तर लागिरहनेछु,” उनले थपिन् ।