काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका घटना भइरहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रहरी अन्तर्गतको साइबर ब्युरोले एक सूचना जारी गर्दै 'AT_Alert', 'THE_Alert' लगायतका बल्क एसएमएस सेवा प्रदायकहरूको नाम दुरुपयोग गरी प्रयोगकर्ताका संवेदनशील वित्तीय विवरणहरू चोरी गर्ने प्रयास भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो ।
ब्युरोका अनुसार 'Your account will be locked in 6 hours. Verify immediately' वा 'Your connectIPS linked accounts have been suspended due to security reasons. Please complete the self-verify process to regain access.' जस्ता भ्रामक सन्देशहरू व्यापक रूपमा प्रयोगकर्ताहरूका मोबाइलमा पठाइएको पाइएको छ ।
यी फिसिङ एसएमएसमा दिइएका लिङ्कहरूमा क्लिक गर्दा प्रयोगकर्ताहरू खल्ती, कनेक्टआईपीएस लगायतका डिजिटल वालेट र बैंकहरूको नक्कली वेबसाइटमा पुग्ने र त्यहाँ आफ्नो युजरनेम र पासवर्ड जस्ता महत्त्वपूर्ण जानकारीहरू भर्न बाध्य पारिन्छ । यसरी प्राप्त गरिएका व्यक्तिगत विवरणहरूको दुरुपयोग गरी ठगहरूले प्रयोगकर्ताका खाताबाट रकम निकाल्ने गरेका छन् ।
ब्युरोले यस्ता कुनै पनि भ्रामक वा शंकास्पद एसएमएसमा प्रतिक्रिया नदिन र दिइएका लिङ्कहरूमा कुनै पनि हालतमा क्लिक नगर्न आग्रह गरेको छ । यदि यस्ता सन्देशहरू प्राप्त भएमा वा कुनै दुविधा उत्पन्न भएमा सम्बन्धित वालेट वा बैंकका आधिकारिक कार्यालयहरूमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी लिन सुझाव दिइएको छ ।
ब्युरोका प्रहरी उपरीक्षक अवस्थीले साइबर अपराधबाट बच्नका लागि व्यक्तिगत सतर्कता नै सबैभन्दा महत्त्वपूर्ण उपाय भएको बताए । प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन ठगीका स्वरूपहरू पनि जटिल बन्दै गएकाले आमनागरिकले वित्तीय कारोबार र व्यक्तिगत जानकारीको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
अवैध गतिविधिमा संलग्न ठगहरूले बल्क एसएमएस सेवाको दुरुपयोग गरी सयौँ-हजारौँ प्रयोगकर्तालाई एकैपटक निशाना बनाइरहेको र यसले वित्तीय सुरक्षामा गम्भीर चुनौती थपेको प्रहरीको भनाइ छ । यस प्रकारको ठगी धन्दामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र यस्ता घटनामा संलग्न जोसुकैलाई पनि कानुन अनुसार कारबाही गरिने प्रहरीले बताएको छ ।