काठमाडौँ । यात्राको क्रममा आइपर्ने आपत्कालीन अवस्थाका लागि एन्ड्रोइड फोनहरूमा थुप्रै बिल्ट-इन सुरक्षा र आपत्कालीन फिचरहरू छन्, जुन धेरै प्रयोगकर्ताहरूलाई थाहा हुँदैन । यी फिचरहरूले तपाईँको फोनलाई आपतकालीन समयमा लाइफलाइनको रूपमा काम गर्न सक्षम तुल्याउन सक्छ । यात्रामा निस्किनु अघि यी फिचरहरू सेटअप गर्नु भयो भने आपत्कालीन अवस्थामा ठुलो सहयोग मिल्न सक्छ । यहाँ त्यस्ता केही फिचरहरू बारे चर्चा गरेका छौँ ।
लक स्क्रिनमा आपतकालीन सम्पर्क र मेडिकल जानकारी देखाउने
यो फिचरले फर्स्ट रेस्पोन्डरहरूलाई तपाईँको फोन अनलक नगरिकनै महत्त्वपूर्ण स्वास्थ्य विवरणहरू (जस्तै: ब्लड ग्रुप, एलर्जी, औषधि, मेडिकल कन्डिसन, अङ्गदानको स्थिति) र आपत्कालीन सम्पर्कहरू हेर्न मद्दत गर्छ । यो फिचर Settings > Safety & emergency > Medical information वा Personal Safety app मार्फत सेटअप गर्न सकिन्छ ।
कस्टम लक स्क्रिन मेसेज
फोन हराएमा वा चोरी भएमा यो फिचरले तपाईँको फोनको लक स्क्रिनमा सम्पर्क नम्बर वा ई-मेल ठेगाना भएको मेसेज देखाउन मद्दत गर्छ । जसले गर्दा फोन भेट्टाउने व्यक्तिले तपाईँलाई सजिलै सम्पर्क गर्न सक्छ । यसलाई Settings > Display > Lock screen > Add text on lock screen मा गएर सेट गर्न सकिन्छ ।
इमर्जेन्सी एसओएस (Emergency SOS) सेटअप गर्ने
यो फिचरले एकै इसारामा आपत्कालीन स्थितिको जनाउ दिने अनुमति दिन्छ । यसले आपत्कालीन सेवाहरूमा डायल गर्छ र तपाईँले चुनेका सम्पर्क नम्बरहरूमा मेसेज पठाउँछ । ती सम्पर्क नम्बरहरूले गुगल म्याप्समा तपाईँको लोकेसन ट्र्याक गर्न सकिने लिङ्क पनि पाउँछन् । यसलाई Settings > Safety & emergency वा Personal Safety मा गएर सेटअप गर्न सकिन्छ । यसमा पाँच पटक पावर बटन दबाउने इसारा प्रयोग हुन्छ । यसले आवश्यक परेमा स्वचालित भिडिओ रेकर्डिङको विकल्प पनि प्रदान गर्छ ।
सेफ्टी चेक (Safety check) शेड्युल गर्ने
जोखिमपूर्ण ठाउँमा जाँदा यो फिचरले टाइमर सेट गर्न मद्दत गर्छ । यदि टाइमर समाप्त भएपछि तपाईँले ठीक भएको प्रतिक्रिया दिनुभएन भने, यसले आपत्कालीन अवस्था मान्छ र तपाईँले सेट गरेका सम्पर्क नम्बरहरूलाई गुगल म्याप्समा तपाईँको यकिन भएको अन्तिम लोकेसन (last known location) को लिङ्क पठाउँछ । यो फिचरले फोनको ब्याट्री सकिए पनि वा सिग्नल नभए पनि त्यस्तो लोकेसन शेयर गर्न सक्छ । यसलाई Personal Safety app मा फेला पार्न सकिन्छ ।
आपतकालीन अलर्ट प्रसारण (Emergency alert broadcasts) सेटअप गर्ने
एन्ड्रोइडले आधिकारिक आपत्कालीन अलर्टहरू (जस्तै: विपद्, सार्वजनिक सुरक्षा खतरा, वा गम्भीर मौसम सम्बन्धी अलर्ट) प्राप्त गर्न सक्छ । यी अलर्टहरू फोन साइलेन्टमा हुँदा पनि ठुलो आवाजमा बज्छन् र थप जानकारीको लागि लिंक समावेश गर्दछन् । Settings > Notifications अथवा Personal Safety एपमा गएर Emergency alerts सेट गर्न सकिन्छ ।
फाइन्ड हब (Find Hub) /फाइन्ड माई डिभाइस (Find My Device) सेटअप गर्ने
यो गुगल सर्भिसकै अंश हो, जसले तपाईँको हराएको वा चोरी भएको फोन पत्ता लगाउन र सुरक्षित गर्न मद्दत गर्छ । android.com/find वा Find My Device एप प्रयोग गरेर तपाईँले नक्सामा फोनको लोकेसन हेर्न, रिङ बजाउन, नयाँ पिन राखेर लक गर्न वा रिकभरी मेसेज देखाउन सक्नुहुन्छ । अन्तिम उपायको रूपमा, तपाईँ आफ्नो डेटा सुरक्षित गर्न फोनमा रहेको डेटा टाढैबाट मेटाउन पनि सक्नुहुन्छ ।
गुगल लेन्स (Google Lens) मार्फत विदेशी भाषा अनुवाद गर्ने
विदेशमा यात्रा गर्दा भाषा बुझ्न समस्या भएमा गुगल लेन्सको ट्रान्सलेट फिचर प्रयोग गर्न सकिन्छ । गुगल एपमा रहेको क्यामेरा आइकनमा ट्याप गरेर Translate चयन गरी विदेशी भाषामा लेखिएका स्थानमा फोन देखाउँदा रियल टाइम अनुवाद देखिन्छ । यो फिचरले अफलाइनमा पनि काम गर्छ । तर त्यसका लागि यात्रा अघि आवश्यक भाषाहरू डाउनलोड भने गर्नुपर्ने हुन्छ ।
डु नट डिस्टर्ब (Do Not Disturb - DND) सेट गर्ने
DND मोड अन हुँदा पनि केही महत्त्वपूर्ण कल वा सन्देशहरू तपाईँलाई प्राप्त होस् भन्ने सुनिश्चित गर्न अपवादहरू सेट गर्न सकिन्छ । जस्तै: परिवारका सदस्यहरू, बारम्बार कल गर्ने नम्बरहरू (Repeated calls) आदिलाई DND बाइपास गर्न अनुमति दिन सकिन्छ । यसका लागि फोनको सेटिङमा रहेको Do not disturb मा जानुहोस् र सुरुमा रहेको xceptions allowed to interrupt मा गएर मिलाउनु होस् ।
वाई-फाई कलिङ (Wi-Fi Calling) इनेबल गर्ने
यात्रा गर्दा सेलुलर नेटवर्कको सिग्नल कमजोर हुन सक्छ वा नहुन पनि सक्छ । वाई-फाई कलिङले तपाईँलाई वाई-फाई नेटवर्क प्रयोग गरेर कल गर्ने र मेसेज पठाउने अनुमति दिन्छ । यसले रोमिङ शुल्कबाट बच्न पनि मद्दत गर्न सक्छ, तर यसका लागि आफ्नो मोबाइल सेवाप्रदायकसँग बुझ्नुपर्ने हुन्छ । यसलाई Settings > Network & internet > Mobile network > Wi-Fi calling मा फेला पार्न सकिन्छ ।
अफलाइन म्याप्स डाउनलोड गर्ने
यात्रामा भरपर्दो इन्टरनेट कनेक्सन नहुन सक्छ । यात्रा गर्नु अघि गुगल म्याप्समा आफ्नो गन्तव्यको अफलाइन नक्सा डाउनलोड गर्दा डेटा वा वाई-फाई बिना नै लोकेसनहरू खोज्न, सेभ गरिएका स्थानहरू हेर्न र ड्राइभिङ निर्देशनहरू प्राप्त गर्न सकिन्छ । जीपीएसले अफलाइन हुँदा पनि काम गर्छ र तपाईँले आफू तत्काल रहेको स्थानको जीपीएस डिरेक्सनहरू शेयर गर्न पनि सक्नुहुन्छ ।
यी फिचरहरूलाई यात्रामा जानुअघि नै सेटअप गर्नुपर्ने हुन्छ । आपत्कालीन तयारीका लागि फोन चार्ज राख्ने र पावर बैँक साथमा बोक्ने जस्ता अन्य व्यावहारिक उपायहरू पनि महत्त्वपूर्ण हुन्छन् ।