काठमाडौँ । कास्कीमा मनपर्दी भाडा असुल्ने ८ जना अफलाइन राइडर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार साँझ पोखराका विभिन्न स्थानबाट बढी भाडा असुलेको आरोपमा आठ जना अफलाइन राइडरलाई कारबाही गरेको हो ।
प्रहरीले उनीहरूका सवारी नियन्त्रणमा लिई जरिबाना तिराएर छाडेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सर्वसाधारणबाट बढी भाडा लिएको गुनासो आएपछि प्रहरी टोली खटिएको थियो ।
“इनड्राइभको नाममा राइडरले बढी भाडा लिएको पाइएपछि नियन्त्रणमा लिइएको हो,” डीएसपी बस्नेतले टेकपानासँग भने, “सर्वसाधारणले गुनासो गरेको खण्डमा जतिबेला पनि खटिएर कारबाही गर्छौं ।”
अहिले गण्डकी प्रदेशमा सार्वजनिक यातायात व्यवसायीहरूले राइड शेयरिङलाई कानुनी मान्यता दिन लागेको भन्दै सेवा ठप्प पारेका छन् । यातायात सेवा अवरुद्ध हुँदा सर्वसाधारण गन्तव्यमा पुग्न राइड शेयरिङ प्रयोग गरिरहेका छन् ।
यही मौकामा केही राइडरले यात्रुसँग मनपरी भाडा असुल्ने गरेको गुनासो बढेपछि राइड शेयरिङ प्लेटफर्महरूले एपमा देखाइएको भाडा मात्र तिर्न आग्रह गरेका छन् । साथै अफलाइन राइडमा विभिन्न किसिमका जोखिम हुने र भाडा पनि राइडरले मनपरी लिने सम्भावना भएकाले अफलाइन राइड नलिन उनीहरूले आग्रह गरेका छन् ।