काठमाडौँ । राइड शेयरिङमार्फत सेवा दिइरहेका राइडरले यात्रुसँग मनपरी भाडा असुल्ने र अफलाइन बार्गेनिङ गर्ने प्रवृत्ति बढेको पाइएको छ । सार्वजनिक यातायात व्यवसायीले राइड शेयरिङको विरोध गर्दै यातायात व्यवसायीले सोमबार काठमाडौं उपत्यकामा सेवा ठप्पा पारेको मौका छोपी राइडरले बढी शुल्क लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको पाइएको हो ।
यस्तो अवस्थामा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
“विभिन्न राइड शेयरिङ एपमार्फत यात्रुहरूलाई तोकिएको भन्दा बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेका छन्,” ट्राफिक प्रहरीले सोमबार एक सूचना जारी गर्दै भनेको छ, “राइडरले यस्ता कार्य नगर्नुहोला । यदि त्यस्तो गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा हटलाइन १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं ।”
सार्वजनिक यातायात बन्द हुँदा गन्तव्यमा पुग्न राइड शेयरिङको विकल्प रोजेका यात्रुबाट बढी शुल्क लिइएको गुनासो बढेपछि प्रहरीले यस्तो आग्रह गरेको हो । अफलाइन राइडका नाममा मोलमोलाइ गर्ने र तोकिएको भन्दा अत्यधिक बढी भाडा लिने गरेको पाइएकाले प्रहरीले राइडरहरूलाई समेत सचेत गराएको छ ।
प्रहरीले यात्रुलाई पनि एपमा देखाइएको शुल्कभन्दा बढी रकम नतिर्न र कुनै राइडरले बार्गेनिङ गर्न खोजे तत्काल उजुरी गर्न सुझाएको छ ।