काठमाडौँ । मधेस प्रदेशमा ‘स्कुल अफ एआई तथा रोबोटिक्स’ स्थापना हुने भएको छ । शुक्रबार बसेको मधेस प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उक्त योजना पेस गरेकी हुन् ।
“स्कुल अफ एआई तथा रोबोटिक्स पूर्वाधार तथा भवन संरचना निर्माणको कार्यलाई अघि बढाइनेछ,” उनले भनिन् । यसका साथै प्रदेशभर नै ‘एआई फर इफिसेन्सी’ शीर्षक अन्तर्गत एआई साक्षरता तथा प्रशिक्षण कार्यक्रम पनि सञ्चलनमा ल्याइने उनले बताइन् ।
यस्तै प्रदेशले आगामी आर्थिक वर्षमा सामुदायिक माध्यमिक विद्यालयहरूमा प्रविधिमैत्री गुणस्तरीय शिक्षा प्रदान गर्न स्मार्ट/डिजिटल बोर्डको व्यवस्था मिलाइने र सूचना तथा डिजिटल प्रविधिको विकास गरी गुणस्तरीय शिक्षामा जोड दिइने प्रदेश प्रमुख भण्डारीले बताइन् ।
स्पेस एन्ड कम्युनिकेसन सेन्टर तथा स्टार्टअप र इन्कुवेसन सेन्टर स्थापना हुने
विज्ञान र प्रविधिको विकासलाई समृद्धिको आधारका रूपमा अघि बढाउने लक्ष्यसहित मधेस प्रदेश सरकारले ‘साइन्स एन्ड टेक्नोलोजी इनोभेसन क्लस्टर्स’ अन्तर्गत विभिन्न केन्द्रहरू पनि स्थापना गर्ने भएको छ । प्रदेश प्रमुख भण्डारीका अनुसार, प्रदेश गौरवको आयोजनाको रूपमा रहेका यी केन्द्रहरूका लागि प्रविधिमैत्री वातावरण निर्माण, नवप्रवर्तनमा आधारित उद्यमशीलता प्रवर्धन र वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ ।