close

वातावरण दिवसमा एनसेल फाउन्डेसनको 'वेस्ट ह्याकाथन', टिम ईकोपुल पहिलो

टेकपाना टेकपाना

जेठ २६, २०८२ १९:१७

वातावरण दिवसमा एनसेल फाउन्डेसनको 'वेस्ट ह्याकाथन', टिम ईकोपुल पहिलो

काठमाडौँ । विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ । 

कम्पनीका अनुसार यस ह्याकाथनको लागि ४०० बढी टोलीले आवेदन दिएका थिए, जसमध्ये १३ उत्कृष्ट टोली छनौटमा परेका हुन् । यसरी छानिएका टोलीहरूले प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गर्दै नेपालको फोहोर व्यवस्थापन समस्याको समाधानतर्फ नविन पहलहरू प्रस्तुत गरेका थिए । 

थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूको टिम ‘ईकोलुप’ ले ‘ट्रयास डिजिटाइज’ शीर्षकअन्तर्गतको आफ्नो नविन सोलुसन्स प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन् । यो टिमले फोहोर वर्गीकरण गर्ने, ट्रयाक गर्ने र उत्तरदायी बन्दै व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्मको प्रोटोटाइपको विकास गरेका थिए । टिमका सदस्यहरूमा नितेश कुमार साह, धर्मेन्द्र सिंह चौधरी, रमेश कठायत र बिपिन कुमार मरासिनी रहेका छन् ।

त्यसैगरी, किङ्स कलेज नेपालका विद्यार्थीहरूको ‘फुलस्ट्याक जिरोवेस्ट’ टिमले ‘ल्यान्डफिल टु सर्कुलेटरी’ शीर्षक अन्तर्गत फोहोर व्यवस्थापनमा आफ्नो समाधान प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ । सो टिममा कजेलका अंशु रेग्मी, रोजन श्रेष्ठ र कबिश पोख्रेल रहेका थिए ।

यस्तै तेस्रो स्थान काठमाडौँ विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीहरूको टिम ‘सोर्स कोड’ ले प्राप्त गरेको छ । यो टिममा अमन कुमार झा, अंशु पटेल, भवुक थापा र आयुष गौतम थिए र उनीहरुले ‘वेस्ट विथआउट स्मोक’ शीर्षक अन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए । यो समाधानले नगरपालिकालाई फोहोर व्यवस्थापन अनुकूलन र कार्बन उत्सर्जन ट्रयाक गर्न सहयोग पुऱ्याउने बताइएको छ । 

विजेता टोलीहरूले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) बाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्ने बताइएको छ । साथै खालिसीसी, बुढानीलकण्ठ नगरपालिका र सीएनआईवाईइएफको सहकार्यमा पाइलट योजना कार्यान्वयनको अवसर प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १९:२१