close

नयाँ लक्जरी ईभी BMW iX2 एसएभी नेपाली बजारमा, १ करोड ८० लाख पर्ने गाडीमा केके छन् फिचर ?

टेकपाना टेकपाना

जेठ २७, २०८२ ११:२

नयाँ लक्जरी ईभी BMW iX2 एसएभी नेपाली बजारमा, १ करोड ८० लाख पर्ने गाडीमा केके छन् फिचर ?

काठमाडौँ । प्रिमियम गाडीहरूको आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्लू आईएक्स टु (BMW iX2) इलेक्ट्रिक एसएभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल) नेपालमा सार्वजनिक गरेको छ । जसको मूल्य नेपाली बजारमा एक करोड ८० लाख रुपैयाँ राखिएको छ । 

नेपालमा विद्युतीय सवारीसाधन र दिगो यात्राप्रति बीएमडब्लूको प्रतिबद्धतालाई यस गाडीले अझ सशक्त बनाउने कम्पनीले जनाएको छ ।  आकर्षक डिजाइन र स्मार्ट प्रविधिको संयोजन रहेको बीएमडब्लू आईएक्स टु ई ड्राइभ २० मोडलले नयाँ प्रविधि र दिगोपन खोज्ने ग्राहकहरूका लागि उत्कृष्ट विकल्प हुन सक्छ । यो गाडीले अधिकतम १५० किलोवाट/२०४ हर्सपावर (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ । 

यसको टर्क २५० एनएम रहेको छ । मात्र ८.६ सेकेन्डमा ० देखि १०० किमी/घण्टाको गतिमा पुग्न सक्ने यो गाडीको अधिकतम गति १७० किमी/घण्टा रहेको छ । डब्लूएलटीपी मापदण्ड अनुसार, यसको अनुमानित रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म रहेको छ । प्रति १०० किलोमिटरमा १७.२ देखि १५.४ kWh (किलोवाट आवर) सम्म मात्र ऊर्जा खपत गर्ने र शून्य उत्सर्जन भएको यो गाडी प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट छनोट हुने कम्पनीको भनाई छ । 

नवीनतम प्रविधि र सन्तुलित पावर

बीएमडब्लूका अन्य इलेक्ट्रिक गाडीहरू जस्तै नयाँ बीएमडब्लू आईएक्स २ मा पनि पाँचौँ पुस्ताको बीएमडब्लू ईड्राइभ (BMW eDrive) प्रविधि प्रयोग गरिएको छ । यो गाडीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखेर फ्लोरमा राखिएको हाई-भोल्टेज ब्याट्रीले ६६.५ किलोवाट ऊर्जा प्रदान गर्छ । यसमा रहेको आधुनिक मोटरले कम ऊर्जा खपत गरी लामो दुरीसम्म चल्ने क्षमता राख्छ । 

चार्जिङका लागि आईएक्स टुमा विभिन्न प्रसस्त विकल्पहरू दिइएका छन् । यसमा रहेको कम्बाईन्ड चार्जिङ युनिटले ११ किलोवाटसम्मको एसी चार्जिङलाई सपोर्ट गर्छ ।

फास्ट चार्जिङका लागि १३० किलोवाटसम्मको डीसी चार्जिङ पनि यसमा उपलब्ध छ । स्मार्ट 'थर्मल प्रि-कन्डिसनिङ' र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङको गति र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्न मद्‍दत गर्छ ।

आकर्षक इन्टेरियर र अत्याधुनिक सुरक्षा प्रणाली

बीएमडब्लू आईएक्स टुमा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन् । मोका रङ्गको भर्नास्का लेदर सिट, पानोरोमिक ग्लास रुफ, २-जोन अटोमेटिक एसी, १२-स्पिकर सहितको हार्मन कार्डन सराउन्ड साउन्ड सिस्टम यसमा पाउन सकिन्छ । 

सुरक्षा र असिस्टेन्ट सिस्टममा पनि बीएमडब्लूको यो गाडी निकै अत्याधुनिक छ । यसमा सुरक्षित यात्राका लागि चालक र यात्रुका लागि एयरब्यागहरू, डाइनामिक ब्रेक कन्ट्रोल (डीबीसी), अटो होल्ड फङ्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टिग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ । साथै, ड्राइभ-अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्टले सहरी ट्राफिक वा लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनाव मुक्त बनाउँछ ।

नेपाली बजारमा बीएमडब्लू ईभीको उपलब्धता 

लक्ष्मी प्रिमियम मोटर्सले तीनकुने, काठमाडौँमा रहेको  आफ्नो अत्याधुनिक शोरुमबाट हाल BMW X1, X2, X3, X4, X7, iX1 (ब्याट्री इलेक्ट्रिक), iX3 (ब्याट्री इलेक्ट्रिक), 5 सिरिज (प्लग-इन हाइब्रिड), X5 (प्लग-इन हाइब्रिड) र 7 सिरिज जस्ता मोडलहरू उपलब्ध गराइरहेको छ ।

नयाँ बीएमडब्लू आईएक्स टुको आगमनसँगै नेपालमा प्रिमियम इलेक्ट्रिक गाडीको क्षेत्रमा बीएमडब्लूले आफ्नो उपस्थिति अझ बलियो बनाउनुका साथै डिजाइन, प्रविधि र वातावरणीय जिम्मेवारीको नयाँ उदाहरण प्रस्तुत गरेको छ । थप जानकारी वा टेस्ट ड्राइभ बुक गर्नका लागि लक्ष्मी प्रिमियम मोटर्स, तीनकुने, काठमाडौँमा सम्पर्क गर्न सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ ११:३