काठमाडौँ । के तपाईँका बच्चाले तपाईँको कुरा सुन्दैनन् ? रिसाउँदा लात मार्छन् र चिच्याउँछन् ? अमेरिकन साइकोलोजिकल एसोसिएसनको जर्नल ‘साइकोलोजिकल बुलेटिन’ मा सोमबार प्रकाशित एउटा लेखअनुसार तपाईँले आफ्ना बालबालिकाको स्क्रिन टाइमबारे र्विचार गर्नुपर्ने हुन सक्छ ।
बालबालिकाहरूमा बढ्दो स्क्रिन प्रयोग र उनीहरूको व्यवहारमा त्यसको असरबारे नयाँ अनुसन्धानले चिन्ताजनक खुलासा गरेको छ । जर्नलमा प्रकाशित लेखअनुसार, बालबालिकाहरूको स्क्रिन टाइम उनीहरूको खराब व्यवहारको कारण र लक्षण दुवै हुन सक्ने उल्लेख छ ।
अध्ययन अनुसार बालबालिकाहरूले जति धेरै समय स्क्रिनमा बिताउँछन्, उनीहरूको कार्य र भावनात्मक विकासका चरणअनुसारको अपेक्षा पूरा गर्ने सम्भावना त्यति नै कम हुन सक्छ । १० वर्षभन्दा कम उमेरका बालबालिकाका ११७ ओटा मेटा विश्लेषणले स्क्रिन टाइमले बालबालिकाहरूमा एन्जाइटी, डिप्रेसन, हाइपरएक्टिभिटी र आक्रामकता जस्ता सामाजिक-भावनात्मक समस्याहरू निम्त्याउन सक्ने देखाएको छ । यो विशेष गरी बालिकाहरूका लागि बढी महत्त्वपूर्ण रहेको बताइएको छ ।
अध्ययनमा २ वर्ष मुनीका बालबालिकाका लागि कुनै पनि स्क्रिनटाइम (भिडियो च्याटबाहेक), २ देखि ५ वर्षका बालबालिकाले प्रति दिन एक घण्टाभन्दा बढी र तीन वर्षमाथिका बालबालिकाले प्रतिदिन दुई घण्टाभन्दा बढी समय स्क्रिनमा बिताउँदा समस्या सिर्जना हुन सक्ने उल्लेख छ ।
विशेषगरी गेममा धेरै समय बिताउने बालबालिकाहरू जोखिममा रहेको पाइएको छ । अध्ययनका क्रममा ५ वर्ष वा सोभन्दा मुनीको तुलनामा ६ देखि १० वर्ष उमेर समूहका बालबालिकाहरूमा सामाजिक-भावनात्मक समस्या बढी देखिएको थियो ।
यस किसिमको चुनौतीको सामना गर्ने बालबालिकाहरूले थप समय स्क्रिनमा बिताउन चाहने हुँदा समस्या झन् जटिल बन्न सक्छ । यस्तो जोखिम खासगरी बालकहरूमा बढी देखिएको थियो । "स्क्रिनको उच्च प्रयोग केवल समस्याको कारण मात्र नभई कहिले काहीँ लक्षण पनि हुन सक्छ" अध्ययनकी प्रमुख लेखक रोबर्टा पायर्स भास्कोनसेलोसले भनेकी छिन् ।
यो बालबालिकाहरूमा निद्रा, गृहकार्य र अन्तरक्रिया जस्ता महत्त्वपूर्ण दैनिक जीवनका गतिविधिहरूलाई बेवास्ता गर्ने कारक बन्न सक्छ ।
अध्ययनले अभिभावकहरूलाई बालबालिकाहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नका लागि केही सुझाव दिएको छः
- बालबालिकाको हेरचाहका लागि स्क्रिन प्रयोग नगर्नुहोस् । वयस्कहरूले प्रायः बालबालिकाहरूलाई शान्त पार्न वा फकाउनका लागि मोबाइल डिभाइस दिने गर्छन् । यसले अल्पकालीन राहत दिए पनि दीर्घकालीन समस्याहरू निम्त्याउन सक्छ । जसले बालबालिकाहरूलाई उचित रूपमा भावनात्मक व्यवहार गर्ने र व्यवस्थापन गर्ने कुरा सिक्नबाट रोक्न सक्छ ।
- भिडिओ गेमहरूमा ध्यान दिनुहोस् । गेमिङमा बालबालिकाहरूले बिताउने समय महत्त्वपूर्ण हुन्छ । अनलाइन गेमहरू प्रति बढी सचेत हुन आवश्यक छ । किनभने तिनीहरू सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तै कार्य गर्छन् र बालबालिकाहरूलाई वास्तविक-जीवनका गतिविधिहरूबाट विचलित तुल्याउन सक्छन् ।
- नियमहरू सेट गर्नुहोस् र प्यारेन्टल कन्ट्रोल प्रयोग गर्नुहोस् । बालबालिकाको स्क्रिन टाइमका लागि नियमहरू तोक्नु र त्यसको पालन गर्नु महत्त्वपूर्ण छ । यसका लागि फोन र एपहरूमा उपलब्ध प्यारेन्टल कन्ट्रोल फिचर पनि उपयोगी हुन सक्छन् ।
- आफ्ना बालबालिकाहरूलाई 'हुँदैन' भन्नु राम्रो हुन्छ । धेरै अभिभावकहरू आफ्ना बालबालिकाहरूले मोबाइल डिभाइस माग्दा सीमा तोक्न र 'हुँदैन' भन्न चाहँदैनन् । तर त्यो उचित तरिका होइन ।