काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) ले फिल्म मेकिङ सम्बन्धी कोर्स सञ्चालन गर्ने भएको छ । चलचित्र निर्माणमा रुचि भएका विद्यार्थीलाई लक्षित गर्दै विश्वविद्यालयको स्कुल अफ आर्ट्सले ‘फिल्म मेकिङ/क्राफ्टिङ सिनेमा’ शीर्षकमा ४८ घण्टे कोर्स सुरु गर्ने भएको हो ।
विश्वविद्यालयका अनुसार यो कोर्स प्लस टु सकेका विद्यार्थीदेखि चलचित्र निर्माणमा रुचि हुने जोकोहीले लिन सक्नेछन् । यो एक व्यावहारिक र सीपमूलक तालिम भएकाले सहभागीलाई भ्लगर, इन्फ्लुयन्सर वा कन्टेन्ट क्रिएटर बन्न आवश्यक पर्ने प्राविधिक ज्ञान प्रदान गरिनेछ ।
४८ घण्टाको यो कोर्समा फिल्म निर्माणका आधारभूत पक्षबाटै सिकाइ सुरु हुनेछ । यस अन्तर्गत सहभागीले प्रि-प्रोडक्सन, स्क्रिप्ट लेखनदेखि पोस्ट-प्रोडक्सनसम्मका सम्पूर्ण प्रक्रियाको आधारभूत ज्ञान हासिल गर्ने विश्वविद्यालयले जनाएको छ । यसले गर्दा सहभागीले आफ्नै शर्ट फिल्म वा कन्टेन्ट बनाउन सक्ने क्षमता विकास गर्ने विश्वविद्यालयको दाबी छ ।
कोर्स सफलतापूर्वक सम्पन्न गर्ने विद्यार्थीले काठमाडौँ विश्वविद्यालयको तीन क्रेडिट आवर बराबरको मान्यता प्राप्त गर्नेछन् । यो क्रेडिट भविष्यमा केयू अन्तर्गतकै ‘ब्याचलर्स इन मिडिया स्टडिज’ (बीएमएस) मा भर्ना भएमा त्यहाँको ‘इन्ट्रडक्सन टु मिडिया प्रोडक्सन’ भन्ने विषय पढ्नुपर्ने छैन र सो बराबरको शुल्क पनि छुट हुने जनाइएको छ ।
अन्य विश्वविद्यालय वा बाहिर कतै आवेदन दिँदा पनि केयूको आधिकारिक क्रेडिटले मान्यता पाउने हुँदा यसले करियरमा थप सहयोग पुग्ने बताइएको छ । इच्छुक व्यक्तिले ८ जुलाई २०२५ (२४ असार २०८२) भित्र आवेदन दिइ सक्नु पर्नेछ ।
कक्षा १० जुलाई २०२५ (२६ असार २०८२) देखि सुरु हुनेछ । १६ हजार रुपैयाँ शुल्क तोकिएको यो कोर्सका लागि जम्मा २० सिट उपलब्ध छन् र सीमित सङ्ख्यामा आवश्यकतामा आधारित छात्रवृत्तिको समेत व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ ।
फिल्म निर्माणसम्बन्धी कोर्स भएकाले सम्पूर्ण कक्षा भौतिक उपस्थितिमा नै सञ्चालन हुनेछन् । साथै कक्षा प्रति दिन तीन घण्टाका दरले जम्मा १६ दिनसम्म चल्नेछ । यो कोर्स काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स हात्ती वन, ललितपुरमा सञ्चालन हुनेछ ।
यो कोर्स लिन चाहने विद्यार्थीले यहाँ क्लिक गरेर दर्ता गर्न सक्नेछन् । दर्ता गरिसकेपछि विश्वविद्यालयले नै विद्यार्थीलाई सम्पर्क गर्नेछ ।