काठमाडौँ । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा आँप खाएपछि काँक्रो खाँदा ज्यानै जान सक्ने दाबीसहित एउटा भिडिओ सार्वजनिक भयो । “जनबोली टीभी एचडी” नामक फेसबुक पेजले सार्वजनिक गरेको उक्त भिडिओमा काँक्रो र आँपको संयोजन नमिल्ने भएकाले शरीरको लागि घातक हुने दाबी गरिएको छ ।
तर, टेकपानाले तथ्य जाँच गर्दा उक्त भिडिओमा गरिएको दाबी भ्रामक रहेको पाइएको छ ।
दाबी
“जनबोली टीभी एचडी” नामको फेसबुक पेजले बुधबार दिउँसो २:२८ मा “आँप खाएपछि काँक्रो वा काँक्रो खाएपछि आँप खाए स्वास्थ्यमा ग`म्भीर स`मस्या” क्याप्सनसहित एउटा भिडिओ सार्वजनिक गर्यो । यो समाचार तयार पार्दासम्म उक्त भिडिओमा १५ लाख बढी भ्युज, १९ हजार बढी लाइक र ३३ सय भन्दा धेरै पटक शेयर गरिएको छ । उक्त भिडिओको थमनेलमा नै “आँप खाएपछि काँक्रो खाए किन मृत्युकै मुखमा पुर्याउँछ?” लेखिएको छ । भिडिओ, आर्काइभ लिङ्क र फोटो ।
भिडिओमा आँप र काँक्रो सँगै खान नहुने कुरा समाचार वाचकले बताएका छन् । उनले भनेका छन्, “यसले खोक्यो है, बढी कुरा गर्यो है भन्दै बेवास्ता गर्नुभयो भने दुख पाउने तपाईँहरूले नै हो । विनाश काले विपरीत बुद्धि बाहेक म केही भन्न सक्दिनँ । तर यति भन्छु आँप र काँक्रोको अमिल्दो संयोजन छ ।”
उनी पछि थप्छन्, “आँप आफैँमा गर्मी खालको फलफूल हो । …. यही आँपसँग काँक्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । आँपको गर्मी स्वभाव र काँक्रोको चिसो स्वभावका कारण यी दुई फल एक साथ खानु स्वास्थ्यका लागि हानिकारक हुने पोषणविद्हरू बताउँछन् । यी दुबै फल एकै पटक खाँदा शरीरको पाचन प्रक्रियामा समस्या सिर्जना हुन्छ भने पेटमा ग्यास भरिने र पेट भारी हुने समस्या पनि सिर्जना हुन्छ ।”
तथ्य जाँच
उक्त भिडिओको थमनेलमा नै “आँप खाएपछि काँक्रो खाँदा किन मृत्यु कै मुखमा पुगिन्छ?” भनेर प्रश्न गरिएको छ । तर भिडिओमा भने समाचार वाचकले ज्यान नै जान सक्ने समस्या कसरी हुन्छ भनेर तथ्य/प्रमाण दिन सकेका छैनन् । उनले “यी दुई फल एक साथ खानु स्वास्थ्यका लागि हानिकारक हुने पोषणविद्हरू बताउँछन्” भनेका छन् । तर यस्तो कुरा बताउने पोषणविद् को हुन् भनेर खुलाउन सकेका छैनन् । त्यसैले उक्त दाबी विश्वास गर्न सकिने आधार नै भिडिओमा समाचार वाचकले दिन सकेका छैनन् ।
हामीले पोषणविद्हरूसँग नै कुराकानी गरेर उक्त दाबीमा सत्यता छ कि छैन भनेर बुझ्ने प्रयास गर्यौँ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण विभागका प्रमुख लीलाविक्रम थापा र नेपाल मेडिसिटी अस्पतालको डाइटिक्स तथा न्युट्रिसियन विभाग प्रमुख डा रुजु खड्कासँग कुराकानी गर्यौँ । यी दुबै पोषणविद्ले उक्त दाबीमा सत्यता नभएको पुष्टि गरेका छन् ।
पोषण शाखा प्रमुख लीलाविक्रम थापा हालसम्मको आफ्नो अध्ययन तथा अनुसन्धानको आधारमा उक्त दाबी पुष्टि हुन नसक्ने आधार नरहेको बताउँछन् । उनी भन्छन्, “मेडिकल साइन्सको अहिलेसम्मको अध्ययन अनुसन्धानमा त्यस्तो प्रमाण देखिएको पनि जानकारी छैन ।”
पोषणविद् थापाका अनुसार आँपमा मालटोज पाइन्छ । काँक्रोको अधिकांश भाग पानीले भरिएको हुन्छ । उनले भने, “काँक्रोको बोक्रामा थोरै मिनरल हुन्छ भनिन्छ त्यसबाहेक ९५ % पानीले भरिएको हुन्छ । यदि बोक्रा तास्ने भने त्यसमा पानी मात्र हुन्छ । त्यसैले दुबै कुरा एकैसाथ खाँदा पनि पोइजन हुँदैन भन्ने कुरा यहीँबाट प्रस्ट हुन्छ ।"
आँप र काँक्रो खानु ज्यानकै लागि खतरा हुनसक्ने कुरा सत् प्रतिशत झुटो भएको उनले सुनाए । “पोषण शाखाको काम नै जनतालाई के खानेकुरा के सँग मिलाएर खान हुन्छ भनेर जानकारी दिनु हो । आँप र काँक्रो एकसाथ खान सकिन्छ भनेर म ढुक्क सँग बताउन सक्छु ।”
नेपाल मेडिसिटी अस्पतालको डाइटिक्स तथा न्युट्रिसियन विभाग प्रमुख डा रुजु खड्का पनि आँप र काँक्रोको सेवनले ज्यानै जान सक्ने किसिमका स्वास्थ्य समस्या नहुने बताउँछिन् । “सलाद बनाएर खाँदा प्राय सबै खालका फलफूलहरू मिसाएर खाइन्छ । यसले समस्या गराउँदैन,” उनले भनिन् ।
तर फलफूलको प्रकृतिअनुसार पाचन प्रक्रिया भने फरक हुन सक्ने उनी बताउँछिन् । डा खड्काका अनुसार एउटै खानेकुरा पनि व्यक्तिअनुसार पच्ने/नपच्ने कुरामा फरक पर्छ । "केही व्यक्तिलाई केही खानेकुरामा एलर्जी हुनसक्छ । केहीको डाइजेसन सिस्टममा सेन्सेटिभिटी धेरै नै हुन सक्छ ।”
हालसम्म भएका अनुसन्धानले आँप र काँक्रो एकै पटक खाँदा ज्यान कै जोखिम हुने कुरा नभएको उनले बताइन् । “आँपले गर्मी गराउने भएकाले कोहीलाई डाजेसनका बेलामा ब्लोटिङ गराउन सक्छ । यसले पेटमा ग्यास भर्ने सम्भावना बढाउन सक्छ ।” पहिलेदेखि नै कसैलाई गम्भीर स्वास्थ्य समस्या तथा संवेदनशील पाचन प्रक्रिया भएमा पेट फुल्ने जस्ता समस्या देख्न सकिने उनले बताइन् । तर, स्वस्थ व्यक्तिले काँक्रो र आँप एकसाथ खाँदा पनि कुनै समस्या नहुने उनले बताइन् । तर जुनसुकै खानेकुरा पनि निश्चित मात्रामा खानुपर्ने भएकाले आवश्यकता भन्दा धेरै नखाएकै राम्रो हुने उनको सुझाव छ ।
दाबी
आँप खाएपछि काँक्रो खाँदा मृत्युको मुखमा पुगिन्छ ।
दाबीकर्ता
“जनबोली टीभी एचडी” नामक फेसबुक पेज
तथ्य
आँप र काँक्रो एकैसाथ खाँदा पनि स्वास्थ्यमा समस्या पर्दैन ।
निष्कर्ष
आँप खाएपछि काँक्रो खाँदा मृत्युको मुखमा पुगिन्छ भन्ने “जनबोली टीभी एचडी” नामक फेसबुक पेजले गरेको दाबी झुटो हो । उक्त दाबीलाई जनबोली टीभी एचडीले नै प्रमाणित गर्न सक्ने पर्याप्त आधारहरू दिन सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका पोषण विभाग प्रमुख लीलाविक्रम थापा र नेपाल मेडिसिटी अस्पतालको डाइटिक्स तथा न्युट्रिसियन विभाग प्रमुख डा रुजु खड्कासँगको कुराकानीबाट पनि उक्त दाबीमा सत्यता नरहेको पुष्ट भएको छ । तर, हरेक खानेकुरा निश्चित मात्रामा खानु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।