close

इजरायल-इरान युद्धले आपतमा परेका नेपालीको सहयोगमा सरकारले सार्वजनिक गर्‍यो हटलाइन नम्बर

टेकपाना टेकपाना

असार १, २०८२ २०:१८

इजरायल-इरान युद्धले आपतमा परेका नेपालीको सहयोगमा सरकारले सार्वजनिक गर्‍यो हटलाइन नम्बर

काठमाडौँ । इजरायल र इरानबिच सुरु भएको युद्धलाई मध्यनजर गर्दै नेपाल सरकारले त्यहाँ रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सम्भावित आपत्कालीन अवस्थामा सहयोग वा जानकारीका लागि सम्पर्क गर्न हटलाइन नम्बर उपलब्ध गराएको हो ।

मन्त्रालयका अनुसार इजरायलमा रहेका साढे चार हजार र इरानमा रहेका १२ जना नेपाली हालसम्म सुरक्षित छन् । विज्ञप्ति अनुसार परराष्ट्रमन्त्री डा. आर्जु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतसँग टेलिफोनमा कुरा गरी नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएकी छन् । 

मन्त्री देउवाले नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित देशले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी सूचनाहरू तत्काल प्रवाह गरी नेपालीहरूलाई निरन्तर सुसूचित गर्न पनि आग्रह गरेकी छन् । सरकारले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र नेपालीको हित सुनिश्चित गर्न आवश्यक कदम चाल्ने जनाएको छ । 

कुनै पनि आपत्कालीन अवस्था वा आवश्यक जानकारीका लागि इजरायलमा रहेका नेपालीले तेल अभिभस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख कुमारबहादुर श्रेष्ठलाई फोन नम्बर +९७२-५३५३६०७४८ वा ०३५१००१११ मा तथा ईमेल [email protected] मा सम्पर्क गर्न सक्नेछन् । 

त्यसैगरी इरान मामिला हेर्ने दोहास्थित नेपाली राजदूतावासमा मिनिस्टर काउन्सिलर कुमार राईलाई +९७४-५५६१६०८०, +९७४-४४६७५६८१, ४४६७५६८३ वा ४४१७७९६२ मा तथा ईमेल [email protected] मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १, २०८२ २०:१८