काठमाडौँ । फेसबुकमा अब जुनसुकै भिडिओ पनि रिल्सको रूपमा शेयर हुने भएको छ । कम्पनीले मंगलबार एक ब्लग लेख्दै अब भिडिओको लम्बाइ वा ढाँचाको आधारमा छुट्टै रूपमा पोस्ट गर्नुपर्ने अवस्था नरहने जानकारी दिएको हो ।
यसअघिसम्म प्रयोगकर्ताले भिडिओ पोस्ट र रिल्स फरक-फरक तरिकाले राख्न सक्थे । तर, अब यी दुवै एकीकृत गरेर सिधै रिल्सको रूपमा देखिनेछन् । साथै, फेसबुकको एपमा रहेको ‘Video’ ट्याबलाई पनि ‘Reels’ ट्याबमा रुपान्तरण गरिनेछ ।
फेसबुकका अनुसार अब रिल्स लम्बाइ वा ढाँका हिसाबले सीमित हुने छैनन् । हाल रिल्स अधिकतम ९० सेकेन्डको मात्र हुने व्यवस्था रहेकोमा अब त्यो नियम हट्नेछ ।
यस परिवर्तनबाट भिडिओ पोस्ट गर्ने प्रक्रिया झनै सरल हुने कम्पनीको विश्वास छ । यसबाट प्रयोगकर्ताले एउटै फ्लोबाट भिडिओ बनाउने, एडिट गर्ने र शेयर गर्ने अवसर पाउने छन् । यसका लागि प्रयोगकर्ताले अझ धेरै क्रिएटिभ टुलहरू प्रयोग गर्न पाउनेछन् । साथै, पोस्ट गर्दा क-कसले रिल्स हेर्न सक्छन् भन्ने प्राइभेसी सेटिङ पनि प्रयोगकर्ता आफैंले छनोट गर्न सक्नेछन् ।
यो परिवर्तन सबै प्रयोगकर्तालाई सहज नलाग्न सक्छ । केही प्रयोगकर्ताका लागि होरिजन्टल फर्म्याटको भिडिओलाई भर्टिकलमा रुपान्तरण गर्नु झन्झटिलो हुन सक्छ । साथै, छोटा र लामो भिडिओ एउटै ढाँचामा मिसिनु पनि केही प्रयोगकर्तालाई मन नपर्न सक्छ ।
फेसबुकले नयाँ प्रणाली क्रमशः विश्वभर लागु गर्ने जनाएको छ । कम्पनीले फेसबुकमा छोटा, लामा र लाइभ भिडिओजस्ता सबै ढाँचाका सामग्रीका लागि प्राथमिकता दिने उल्लेख गरेको छ ।