close

काठमाडौँमा फ्याक्टचेक सम्बन्धी निःशुल्क तालिम हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

असार २२, २०८२ १४:५

काठमाडौँमा फ्याक्टचेक सम्बन्धी निःशुल्क तालिम हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । सेन्टर फर मिडिया रिसर्च (सीएमआर) ले निःशुल्क तथ्यजाँच (फ्याक्ट-चेकिङ) तालिम सञ्चालन गर्ने भएको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा सीएमआर नेपाल जर्नलिजम एकेडेमीले तालिमका लागि आवेदन खुलाएको हो ।

पछिल्लो समय बढ्दै गएको मिथ्या सूचना र दुष्प्रचारको चुनौतीलाई सामना गर्न पत्रकार र तथ्यजाँचमा रुचि भएका व्यक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको एकेडेमीले जनाएको छ । पत्रकारका लागि छनोट हुने मापदण्ड कम्तीमा तीन वर्षको अनुभव तोकिएको छ । 

त्यस्तै तथ्यजाँचकर्ता बन्न चाहने व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । तर, यसका लागि उनीहरूसँग तथ्यजाँचसँग सम्बन्धित स्पष्ट योजना हुनु आवश्यक छ ।

यो आधारभूत तालिम भएकाले तथ्यजाँचमा पूर्व-अनुभव नभएकालाई पनि आवेदन दिन प्रोत्साहित गरिएको एकेडेमीले जनाएको छ । तालिम ‘६+६+६’ को ढाँचामा सञ्चालन हुनेछ । 

यसअन्तर्गत पहिलो चरणमा छ दिन (४-९ साउन) काठमाडौँमा भौतिक उपस्थितिमा तालिम हुनेछ । त्यसपछिको ६ हप्ता तालिम अनलाइन माध्यममा गरिनेछ । अन्तिम चरणमा पुनः ६ दिन (२२-२७ भदौ) काठमाडौँमा भौतिक उपस्थितिमै तालिम हुनेछ ।

तालिममा तथ्यजाँचका आधारभूत सिद्धान्त, स्रोतको पहिचान र विश्वसनीयताको मूल्याङ्कन, डिजिटल उपकरणको प्रयोग, फोटो र भिडिओको विश्लेषण, अन्तर्राष्ट्रिय तथ्यजाँच आचारसंहिता लगायतका विषय बुझ्न पाइने छ ।

एकेडेमीका अनुसार तालिमको वास्तविक शुल्क ९९ हजार रुपैयाँ भए पनि फेलोशिप अन्तर्गत छनोट भएका सहभागीका लागि यो पूर्णतः निःशुल्क हुनेछ । फेलोशिपमा काठमाडौँ उपत्यका बाहिरका सहभागीका लागि तालिम शुल्कका अतिरिक्त यातायात र आवास खर्चसमेत बेहोरिनेछ ।

इच्छुक व्यक्तिले आफ्नो बायोडेटासहित यही २९ असारभित्र यहाँ क्लिक गरेर अनलाइन आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनको आधारमा विज्ञको समितिले १२ जनालाई छनोट गर्नेछ । छनोट प्रक्रियामा समावेशितालाई ध्यान दिइने र एउटा सञ्चार गृहबाट एक जनाभन्दा बढीलाई समावेश नगरिने एकेडेमीले स्पष्ट पारेको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:६