close

काठमाडौँमा चिनियाँ नागरिकको अवैध व्यापार, २ करोड बढीको विद्युतीय सामग्री बरामद

टेकपाना टेकपाना

असार ३२, २०८२ २०:१५

काठमाडौँमा चिनियाँ नागरिकको अवैध व्यापार, २ करोड बढीको विद्युतीय सामग्री बरामद

काठमाडौँ । काठमाडौँको पुरानो सिनामंगल क्षेत्रमा अवैध रूपमा विद्युतीय उपकरणहरू बिक्री वितरणमा संलग्न एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको स्यान्डोङ निवासी ३८ वर्षीय यु वाङ (YU WANG) रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा पुरानो सिनामंगलको पञ्चमुखी चोकस्थित पाँच तल्ले घरमा छापा मारेको थियो । प्रहरीले वाङबाट कुनै इजाजत नलिई राजस्व छली गरी भण्डारण तथा बिक्री वितरण गरिएका सामानहरू बरामद गरेको जनाएको छ ।

बरामद सामग्रीमा ल्यापटपका ब्याट्री, पाटपुर्जा, सीसी क्यामेरा, एचडी क्यामेरा, स्क्रुड्राइभर सेट, स्मार्ट वाच, वाइफाइ राउटर एन्टेना, चाइनिज ब्लाङ्केट लगायतका दुई करोड १९ लाख ७६ हजार ७०० रुपैयाँ बराबरका सामान रहेका छन् ।

प्रहरीका अनुसार यु वाङले कुनै कम्पनी वा कार्यालयको दर्ता बिना नै अवैध रूपमा कच्चा पदार्थ ल्याइ सामग्री उत्पादन तथा वितरण गरिरहेका थिए । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: साउन २, २०८२ १३:४३