काठमाडौँ । राति अँध्यारोमा पार्किङमा रोकेको ट्रकबाट हरेक दिन दुई-चार लिटर तेल गायब हुन्छ । करोडौं लगानीको बस कहिले ग्यारेजबाट निस्कन्छ, पत्तै छैन । चालकले आँखा छलेर अर्कै रुटमा गाडी कुदाइरहेको छ, तर मालिक बेखबर छ । धेरैलाई थाहा भएकै कुरा हो, नेपालको यातायात व्यवसायका यी यस्ता ‘खुला रहस्य’ हुन् । यसले मालिकको लगानीलाई हरेक दिन धमिरालेझैं खाइरहेको हुन्छ ।
यही अस्तव्यस्तताको हिसाबकिताब मिलाउन प्रविधिको मैदानमा उत्रियो ‘जिओमेट’ । यो एउटा यस्तो प्रविधि हो, जसले गाडीमा हुने सम्भावित जोखिम र दुर्घटना रोक्न मद्दत गर्छ ।
सन् २०१४ मा आतिश गैरे र विकास गैरेले सुरु गरेको ‘टेलिमेटिक टेक’ अन्तर्गतको यो उत्पादन नेपालको यातायात उद्योगमा क्रान्ति ल्याउन लागिपरेको छ । “यातायात व्यवसायीले करोडौं खर्चेर गाडी किन्छन्, तर सामान्य अनुगमनको अभावमा ठुलो नोक्सानी बेहोरिरहेका हुन्छन्,” प्रमुख कार्यकारी अधिकृत (सीईओ) आतिश भन्छन्, “हामीले त्यही खाडल पुर्ने काम गर्यौं ।”
कुनै बेला चार्टर्ड अकाउन्टेन्ट (सीए) बन्ने सपना बोकेर अध्ययनमा होमिएका उनको यात्राले अन्ततः अर्कै मोड लियो । आज उनी आफ्नो सम्पूर्ण ध्यान र विशेषज्ञता यातायात क्षेत्रको सुधारमा लगाइरहेका छन् ।
जिओमेटले हरेक गाडीलाई प्रत्यक्ष निगरानीमा राखेर व्यवसायीलाई सम्पूर्ण जानकारी उपलब्ध गराउने उनले बताए ।

उनका अनुसार जिओमेटले गाडीहरूको लोकेसन ट्र्याकिङका साथै भेहिकल आईओटी (इन्टरनेट अफ थिङ्स) सोलुसन्स प्रदान गर्दै आएको छ । कम्पनीले गाडीको ट्र्याकिङका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराउँछ । साथै वार्षिक वा मासिक नवीकरण गर्ने सुविधासहित सफ्टवेयरमा आधारित सेवा दिँदै आएको छ ।
यसअन्तर्गत, ट्रक र टिपरमा जडान गरिएको फ्युल सेन्सरले कति तेल हालियो, कति खपत भयो र कति निकालियो भयो भन्ने कुराको हरहिसाब राखेर तेल चोरीको सम्भावनालाई लगभग शून्यमा झारिदिने उनी बताउँछन् ।
“ट्याक्सी जस्ता धेरै चालकले चलाउने गाडीमा आरएफआईडी वा फिङ्गरप्रिन्ट प्रणालीमार्फत कुन समयमा कसले गाडी चलायो भनेर सजिलै पहिचान गर्न सकिन्छ भने स्कुल बसमा जडान गरिएको प्रणालीले बालबालिका कुन ठाउँबाट चढे र कहाँ झरे भन्ने सूचना सिधै अभिभावकको मोबाइलमा पठाएर उनीहरूलाई निश्चिन्त बनाउँछ,” उनले थपे ।
जिओमेटले भविष्यको सुरक्षा सुनिश्चित गर्ने एआई क्यामेरामा आधारित भिडिओ टेलिम्याटिक्स प्रणाली पनि उपलब्ध गराउँछ, जसले दुर्घटना हुनुभन्दा अगाडि नै रोकथामको काम गर्छ । गाडीको अगाडि जडान गरिएको एआई क्यामेराले अर्को सवारीसाधनसँगको दूरी विश्लेषण गरेर ठोक्किन सक्ने सम्भावना देख्नासाथ चालकलाई तुरुन्तै सचेत गराउने उनले सुनाए ।
त्यस्तै, ड्राइभर मोनिटरिङ सिस्टमले चालकको अनुहारलाई निरन्तर ट्र्याक गरी निद्रा वा थकानको सङ्केत देखिनासाथ चालक र गाडी मालिक दुवैलाई चर्को आवाजमा अलर्ट पठाउँछ । यदि कथमकदाचित दुर्घटना भइहाले यसले उक्त घटनाको भिडिओ क्लिप स्वतः रेकर्ड गरेर सर्भरमा पठाई अनुसन्धानका लागि प्रमाणको काम गर्छ ।
उनका अनुसार कम्पनीले यातायात व्यवसायी, बैङ्क, निर्माण कम्पनीहरू र टुर एन्ड ट्राभल्स कम्पनीहरूलाई सेवा प्रदान गर्दै आएको छ । जीपीएस ट्र्याकर्स, फ्युल सेन्सर सोलुसन्स र सार्वजनिक सवारीसाधनको अनुगमनका लागि भिडिओ टेलिम्याटिक्स डिभाइस बिक्री हुँदै आएको छ ।
जिओमेटले यी डिभाइस बेच्नुका साथै सर्भर व्यवस्थापन, सफ्टवेयर विकास, मर्मत सम्भार र समस्या समाधानका लागि निरन्तर सहयोग प्रदान गर्दै आएको उनले जानकारी दिए । उनका अनुसार हालसम्म १४ हजारभन्दा बढी सवारी साधनमा जिओमेट प्रणाली जडान भइसकेको छ ।

मुख्य तीन सेवा
आधारभूत ट्र्याकिङ र ट्रेसिङ: यो सेवामा गाडी कहाँ छ, कुन स्थानमा छ, कुन चरणमा गयो, कहाँ-कहाँ हिँड्यो भन्ने जस्ता जानकारी प्रदान गरिन्छ । यसले ३६५ दिनको कुल माइलेज, मर्मत सम्भार कहिले गर्ने जस्ता विवरण पनि उपलब्ध गराउँछ ।
आईओटी सोलुसन्स: यसमा फ्युल सेन्सर सोलुसन, ड्राइभर अटेन्डेन्स सिस्टम लगायतका सुविधा पर्छन् । फ्युल सेन्सर सोलुसनमा ट्रक र टिपरहरूमा कति तेल हालियो, कति चोरी भयो, कति खपत भयो र माइलेज कति दिइरहेको छ भन्ने कुरा गरिन्छ । खरिद गर्दा कम्पनीले दाबी गरे अनुसारको माइलेज दिइरहेको छ कि छैन भन्ने निगरानी समेत गरिन्छ ।
यस्तै ट्याक्सी जस्ता एउटै सवारी पनि धेरै चालकले चलाउने भएमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) वा फिङ्गरप्रिन्ट स्क्यान प्रयोग गरेर कुन समयमा कुन चालकले गाडी चलाइरहेको थियो भनेर पहिचान गर्न सकिन्छ । स्कुल बसमा बालबालिकाहरू कुन ठाउँबाट चढे र कहाँ झरे भन्ने जानकारी नोटिफिकेसनमार्फत अभिभावकलाई दिन सकिने व्यवस्था मिलाइन्छ ।
भिडिओ टेलिम्याटिक्स प्रणाली: कम्प्युटर भिजनमा आधारित भएर दिइने यस सेवाअन्तर्गत सवारीसाधनमा ६ ओटासम्म क्यामेरा जडान गर्न सकिन्छ । यी क्यामेराहरूमा इनबिल्ट जीपीएस ट्र्याकिङ र ड्राइभर कम्युनिकेसन मोडेल हुन्छ । गाडीको अगाडि दुई ओटा एआई क्यामेरा राखिन्छन् । जसले क्यामेरा अगाडिको सवारीसाधनको गति र दूरी मापन गरेर दुर्घटनाको भविष्यवाणी गर्छन् र चालकलाई अलर्ट दिन्छन् । गाडी मालिक वा कन्ट्रोल रूपबाट पनि चालकसँग प्रत्यक्ष कुराकानी गर्न सकिने सुविधा यस सेवाअन्तर्गत उपलब्ध गराइने उनले बताए ।
प्रणालीमा दिइने अटोमोटिभ क्यामेराहरू सामान्य वाईफाई क्यामेराभन्दा धेरै भएको आतिशको दाबी छ । उनका अनुसार यदि क्यामेरा तोडफोड भएमा वा छोपिएमा तत्कालै मालिक वा सर्भरमा जानकारी पठाउने सुविधा उपलब्ध छ ।

कति छ शुल्क ?
जिओमेटका सेवाहरूको लागत ग्राहकको आवश्यकता र सुविधाअनुसार फरक पर्ने उनले बताए । आधारभूत सवारीसाधन ट्र्याकिङ सेवा सात हजार रुपैयाँबाट सुरु हुन्छ । मादक पदार्थ सेवन (मापसे)गरेर सवारी चलाएको निगरानी गर्ने सिस्टमसहितको कस्टमाइज्ड समाधानहरू चाहिएमा लागत तीन लाख रुपैयाँसम्म पुग्न सक्छ । भिडिओ टेलिम्याटिक्स प्रणालीमा ४० हजार, ६० हजार र ९० हजार रुपैयाँका विभिन्न सेगमेन्टहरू उपलब्ध छन् ।
कम्पनीको सेवा लिनेमध्येमा ९० प्रतिशत ग्राहकले सेवा नवीकरण गर्दै आएको उनको दाबी छ । वार्षिक नवीकरण शुल्क तीन हजार ५०० रुपैयाँबाट सुरु हुन्छ । वाईफाई सहितको एमडीभीआर भिडिओ टेलिम्याटिक्स प्रणालीको मासिक नवीकरण शुल्क दुई हजार ५०० लाग्छ । यस्तै इन्धन सेन्सरका लागि वार्षिक आठ हजार रुपैयाँ नवीकरण शुल्क तोकिएको छ ।
कम्पनीका ३५ भन्दा बढी कर्मचारीहरूले बुटवल, पोखरा, वीरगन्ज, चितवन र धनगढीबाट सेवा दिँदै आएका छन् । तर बजारमा सस्तोमा डिभाइस बेचेर हराउने कम्पनी भएकाले अनुचित प्रतिस्पर्धा रहेको सीईओ गैरे बताउँछन् ।
“गाडीको जीपीएस ट्र्याक गर्ने भनेर डिभाइस बेचेर कम्पनीहरू गायब हुन्छन् । त्यसपछिका सेवा दिँदैनन् । उनीहरूका सर्भर पनि अवैध रूपमा चीन वा भारतमा राखिएका हुन्छन् ,” उनले भने ।
धेरै सस्तोमा सामान बेच्ने ध्यानमा रिफर्फिस्ड (मर्मत गरिएका) डिभाइसहरू बेच्दा ब्याट्रीहरू विस्फोट हुन सक्ने वा सवारीसाधनको विद्युतीय प्रणालीलाई क्षति पुर्याउने जोखिम रहेको उनको भनाइ छ ।

किन राख्ने जीपीएस ट्र्याकिङ ?
जीपीएस ट्र्याकिङ सेवा लिएर सार्वजनिक यातायातलाई व्यवस्थित तरिकाले चलाउन सकिने आतिश सुनाउँछन् । बाइक लगायतका सवारी चोरी भएमा लोकेसन पत्ता लगाउन र फिर्ता ल्याउन सकिन्छ । उनले अगाडि भने, “ट्रकहरूमा ड्राइभरले मालिकलाई थाहा नदिइ एक्स्ट्रा ट्रिप गरिरहेका हुन्छन् । जिओमेट प्रणाली प्रयोग गरेर ट्रिपमा हुने घाटा नियन्त्रणमा ल्याउन सकिन्छ ।”
एक समय काठमाडौँमा फोहोरको गाडी नियमित आउँदा पनि गल्ली-गल्ली सफा हुँदैनथ्यो । आज महानगरका गाडीमा जिओमेटको प्रणाली जडान भएपछि कुन गाडी कुन गल्लीमा पुग्यो भनेर प्रत्यक्ष निगरानी गर्न सकिन्छ, जसले फोहोर व्यवस्थापनलाई पारदर्शी र प्रभावकारी बनाएको छ ।
त्यस्तै, देशका एक हजारभन्दा बढी एम्बुलेन्समा यो प्रणाली जडान भएको छ । यसले जीवन र मरणको दोसाँधमा रहेका बिरामीका लागि समयमै एम्बुलेन्स पुर्याउन मद्दत गरेको छ । १०२ नम्बरमा फोन आउनासाथ बिरामी नजिकको एम्बुलेन्सलाई तुरुन्तै पठाउन यो प्रणालीले सहज बनाएको छ ।
जिओमेटले सडक मात्र होइन, आकाशमा पनि आफ्नो उपस्थिति जनाएको छ । नेपालमा प्याराग्लाइडिङ ट्र्याकिङ प्रणाली प्रदान गर्ने यो एकमात्र कम्पनी हो ।
“विमानस्थल थपिएसँगै बढेको ‘नो फ्लाइ जोन’ले प्याराग्लाइडिङ उद्योगलाई समस्या थियो,” आतिश भन्छन्, “हाम्रो प्रणालीले पाइलट कहाँ उडिरहेको छ भनेर ट्र्याक गर्छ र प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्न लागेमा पाइलट, कन्ट्रोल रुम र नागरिक उड्डयन प्राधिकरण (क्यान) सम्मलाई अलर्ट पठाएर आकाशमा सुरक्षाको अदृश्य घेरा बनाउँछ ।”
यदि कुनै पाइलट बफर जोन (प्रतिबन्धित क्षेत्र) भित्र छिर्न लाग्यो भने यसको यसको जानकारी पाइलट, कन्ट्रोल प्यानललाई दिइन्छ । यदि पाइलट बफर जोन भित्र छिरेमा नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई समेत अलर्ट नोटिफिकेसन जान्छ । पाइलट दुर्घटनामा परेमा वा नयाँ स्थानमा ल्यान्डिङ गर्नुपरेमा त्यसको जानकारी पनि दिइन्छ ।
चुनौती र भविष्यको योजना
हरेक सफल यात्रामा चुनौती हुन्छन् । जिओमेटको मुख्य चुनौती बजारमा सस्तो र नक्कली डिभाइस बेचेर हराउने ‘हिट एन्ड रन’ कम्पनीहरूसँगको प्रतिस्पर्धा हो । “सस्तोको लोभमा ग्राहकहरू अवैध सर्भर र कमसल डिभाइस रोज्न पुग्छन्, जसले डेटा सुरक्षामा गम्भीर जोखिम निम्त्याउँछ,” आतिश चिन्ता व्यक्त गर्छन् । यस्ता डिभाइसले गाडीको ब्याट्री पड्किनेसम्मको खतरा हुने उनी बताउँछन् । यसबाहेक, भेहिकल ट्र्याकिङसम्बन्धी स्पष्ट सरकारी नीतिको अभावले पनि यो क्षेत्रलाई व्यवस्थित गर्न गाह्रो भएको उनको अनुभव छ ।
रेडियो फ्रिक्वेन्सी (आरएफ) जडित डिभाइस सञ्चालनका लागि उनको कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएको छ । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सेल्स एन्ड डिस्ट्रिब्युसन लाइसेन्स लिएर प्रणालीहरू बिक्री गर्दै आइएको छ ।
तर हालसम्म भेहिकल ट्र्याकिङ प्रणाली वा जीपीएस लोकेसन इन्टेलिजेन्स प्रयोग गर्ने कम्पनीहरूले डेटा कसरी रेकर्ड गर्ने, सर्भर कहाँ राख्ने जस्ता प्रावधान नतोक्दा समस्या निम्तिएको उनको बुझाइ छ ।
हाल १४ हजारभन्दा बढी सवारीसाधनलाई निरन्तर सेवा दिइरहेको जिओमेटको भविष्यको योजना ठुलो छ। “हामी नेपालको ट्र्याकिङ उद्योगको मेरुदण्ड बन्न चाहन्छौँ,” आतिश आफ्नो दृष्टिकोण सुनाउँछन्, “आगामी दिनमा यो व्यवसाय गर्न चाहने नयाँ कम्पनीहरूलाई सफ्टवेयर, डिभाइस र तालिम दिएर एउटा स्वस्थ इकोसिस्टम बनाउने लक्ष्य छ ।”
आफूले मात्र सबै समस्या समाधान गर्न नसकिने बुझेका उनी अन्य कम्पनीहरूलाई पनि प्राविधिक रूपमा सक्षम बनाउँदै समग्र उद्योगलाई नै बलियो बनाउने सपना देख्छन् । सँगसँगै, आउँदो दुई वर्षभित्र आफ्नो सफ्टवेयरलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने तयारीमा कम्पनी जुटेको छ ।
*समाचार अपडेट गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ ९:२०
