close

सर्वसाधारणका लागि पुँजीको २०% आईपीओ निष्कासन गर्दै सारथी केबुल इन्डस्ट्रिज

टेकपाना टेकपाना

साउन ८, २०८२ १७:२९

सर्वसाधारणका लागि पुँजीको २०% आईपीओ निष्कासन गर्दै सारथी केबुल इन्डस्ट्रिज

काठमाडौँ । सारथी केबुल इन्डस्ट्रिजले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सारथी केबुल इन्डस्ट्रिजका श्री अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सारथी केबुलले चालू आर्थिक वर्ष २०८२/८३ मा कायम आफ्नो जारी पुँजीको २० प्रतिशत सर्वसाधारणलाई शेयर निष्कासन गर्ने जनाएको छ । आईपीओबाट संकलित रकमबाट कम्पनीले नेपालमै पहिलोपटक भूमिगत तार उत्पादन सुरु गर्ने योजना बनाएको छ । 

कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी उद्योगमा अल्मुनियम फर्न्यान्स् प्लान्ट (Aluminium Furnance Plant) जडान गर्ने योजना बनाएको छ । उत्पादनले आयातमा निर्भरता घटाउँदै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने विश्वास कम्पनीको छ । 

सारथी केबुलले विगत १८ वर्षदेखि केबुल तथा तार उत्पादन गर्दै आएको छ । कम्पनी Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादनमा दक्ष मानिन्छ । "यो सम्झौता नेपालको विद्युतीय पूर्वाधारलाई आधुनिकीकरणतर्फ अग्रसर गराउने हाम्रो अभियानमा एउटा महत्त्वपूर्ण मोड हो । भूमिगत तार उत्पादनको विस्तार नेपालमै पहिलोपटक हुन गइरहेको छ । हामीले राष्ट्रिय आवश्यकता पूरा गर्न आन्तरिकरुपमै उत्पादन उपलब्ध गराउने लागेका हौं,” सारथी केबुलका अध्यक्ष भुसालले भने । 

यस्तै, सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आईपीओले नेपालको केबुल उत्पादन क्षमतामा उल्लेखनीय योगदान दिने र लगानीकर्ताहरूका लागि पनि सुनौलो अवसर प्रदान गर्ने बताएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८२ १७:३०