काठमाडौँ । एनसेलको ‘सधैँ अन करोडपति’ योजना धादिङकी पार्वती कार्कीले जितेकी छन् । कम्पनीले असार १ देखि ३२ गतेसम्म ‘सधैँ अन करोडपति’ योजना सञ्चालन गरेको थियो ।
कार्कीले झन्डै आठ वर्षअघि एनसेलको सिमकार्ड किनेर प्रयोग गर्न थालेकी थिइन् । असारको तेस्रो साता ९९ रुपैयाँको ‘बेसिक रिन्युअल’ प्याक किनेर उनी योजनामा स्वतः सहभागी भएकी थिइन् ।
२०७२ सालको भूकम्पमा उनले धन्सारमा सुतिरहेको एक महिना दुई दिनको कान्छो छोरा गुमाएकी थिइन् । भूकम्पले छोरासँगै निर्माण सकेर घर पूजा गर्ने तरखरमा रहेको घर पनि ढाल्यो । त्यसपछि अझ बढी आर्थिक भारले पिल्सिएकी उनले ऋण गरेर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन् । गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । उनका श्रीमान् अहिले बहराइनमा छन् भने छोरा काठमाडौँमा प्लस टुमा अध्ययनरत छन् ।
एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनसेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरेका छन् । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् ।
“मैले जीवनमा कैयौँ दुखहरू भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ । मेरो सोच र मैले गरेको सङ्घर्षको परिणाम स्वरूप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ । यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु,” उनले भनिन् ।
एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना ग्राहकहरूले साप्ताहिक पुरस्कारस्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।
एनसेलले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौँ हप्ताको बिचमा नै साउन १ गतेबाट बन्द गरेको थियो ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८२ १८:१५
