close

परिचय लुकाउन सकिने फिचरको फाइदा उठाउँदै नेपाली नयाँ पुस्ता, रेडिटमा पोख्छन् मनका बह

हिक्मत आचार्य हिक्मत आचार्य

साउन ९, २०८२ २१:६

परिचय लुकाउन सकिने फिचरको फाइदा उठाउँदै नेपाली नयाँ पुस्ता, रेडिटमा पोख्छन् मनका बह

काठमाडौँ । सामान्यतया फेसबुकमा प्रायः चिनेका मान्छे, नजिकका व्यक्ति, आफन्त, घर-परिवारका सदस्य र साथी-भाइ जोडिएका हुन्छन् । त्यसैले मनमा गुम्सिएका पीडा पोख्न सकिँदैन । सकिए पनि कसैले नकारात्मक रूपमा लिने हो कि भन्ने डर हुन्छ । इन्स्टाग्राम र टिकटक पनि त्यस्तै छन्, आफ्ना मान्छेलाई थाहा नहोस् भनेको कुरा कति बेला कुन आफन्तको फिडमा पुग्छ भन्नै सकिँदैन । यो चम्किलो र बनावटी देखिने डिजिटल संसारमा सबै जना खुसी र सफल देखिन्छन् । तर सामाजिक सञ्जालको पर्दापछाडि लुकाएर राखेको मनको अँध्यारो कुना कस्तो होला ? कहाँ पोखिन्छन् होला कसैका मनका बह, कहाँ छर्लङ्ग हुन्छन् होला पारिवारिक समस्याका विषय ?

यही प्रश्नको जवाफ खोज्दै अहिलेको नयाँ पुस्ताले एउटा फरक बाटो रोजेको छ । उनीहरूका लागि एउटा यस्तो माध्यम छ, जहाँ एनोनिमिटी अर्थात् आफ्नो वास्तविक पहिचान लुकाउने छद्‍मभेषी पर्दा ओढेर आफ्ना सबै पीडा पोख्न सकिन्छ । त्यो हो - रेडिट । जहाँ कसैले केही भन्यो भने भन्ने मान्छेको पहिचान खुल्दैन । त्यसैले कसैले बदनाम गराउला भन्ने पीर छैन । यहाँ उनीहरू आफैँलाई समेत भन्न नसकेका कुराहरू हजारौँ सामु छर्लङ्ग पारी दिन्छन् र मनलाई कपासजस्तै हलुका बनाउँछन् ।

काठमाडौँको एउटा प्रतिष्ठित कलेजमा भएको घटना यसको ज्वलन्त उदाहरण हो । त्यहाँकी एक ‘क्याम्पस इन्चार्ज’ले विद्यार्थीमाथि गर्ने व्यवहार चरम यातनापूर्ण थियो । एक छात्राले रेडिटमा गुमनाम रूपमा लेखेकी थिइन्, “उनी नर्ककी साक्षात् प्रतिनिधि हुन् ।” सामान्य मेकअप र हेयरस्टाइलमा पनि विद्यार्थीलाई मानसिक तनाव दिने ती कर्मचारीले बिहानको शिफ्टमा पढ्नेलाई ‘बिहान घाम लाग्दैन’ भन्दै सनस्क्रिन लगाउन समेत रोकिन् । कुरा यतिमा मात्र सीमित रहेन, सामान्य लिप बाम र भ्यासलिनमा समेत प्रतिबन्ध लगाइयो ।

क्रमशः उनको व्यवहार झन् अनियन्त्रित हुँदै गयो । ती विद्यार्थीका अनुसार उनै क्याम्पस इन्चार्ज विद्यार्थीको झोला जाँच गर्ने, सामान खोस्ने र खोसेको सामान (एक छात्राको नेकलेस) आफैँले प्रयोग गरेर टिकटक बनाउनेसम्म गर्न थालिन् ।

एकदिन सोही क्याम्पसकी एक छात्रालाई सामान्य मेकअपकै निहुँमा कपालमा समातेर चिच्याउँदै उनलाई ‘प्यानिक अट्याक’ हुने अवस्थामा पुर्‍याइयो । त्यसपछि एक विद्यार्थीको धैर्यको बाँध टुट्यो । र, उनले रेडिटमा यो सम्पूर्ण घटनाबारे विस्तृतमा लेखिन् ।

त्यो एउटा गुमनाम पोस्टले कलेज प्रशासनसम्म तरङ्ग ल्याइ दियो । कलेजका उप-प्रमुख कार्यकारी अधिकृतले पोस्ट गर्ने विद्यार्थीलाई सम्पर्क गरे र प्रमाणहरू मागे । पीडित विद्यार्थीले आफूले भोगेको दुर्व्यवहारका स्क्रिनशट पेस गरे । प्रमाण नभएको कुरा बोलेरै पनि स्पष्ट पारिन् । परिणाम स्वरूप केही दिनभित्रै पीडित विद्यार्थीसँगको छलफलपछि कलेजले दुर्व्यवहारमा संलग्न कर्मचारीलाई हटायो र विद्यार्थीको हितमा नयाँ नीति बनाउने प्रतिबद्धता जनायो । यदि रेडिटको त्यो गुमनाम चौतारी नहुँदो हो त सायद अहिले पनि ती विद्यार्थीले आफ्नो पीडा र अपमान चुपचाप सहिरहेका हुन्थे । 

तर, रेडिटको संसार सधैँ यसरी सामूहिक समाधानमा मात्रै केन्द्रित हुँदैन । यो त कैयौँका लागि व्यक्तिगत आघात र पीडा पोख्ने सुरक्षित थलो पनि बनेको छ । एक युवतीले रेडिटमै चिनजान भएका व्यक्तिसँगको पहिलो भेटको डरलाग्दो अनुभव बाँडेकी थिइन् । सुरुमा निकै ‘ज्ञानी बच्चा’ जस्तो देखिएको त्यो युवकले भेटमा जबरजस्ती मदिरा पिउन लगाउनेदेखि लिएर क्लब जाने र रात बिताउनेसम्मको प्रस्ताव राख्यो । युवतीले ती युवकको प्रस्ताव ठाडै अस्वीकार गरिन् । त्यसपछि उसको व्यवहार बदलियो । माफी माग्ने बहानामा नजिक आएर उनको सहमतिबिना छातीमा छोयो र भन्यो, “एक पटक किस नदिई म जानै दिन्नँ ।”

ती युवती लेख्छिन्, “मेरो आत्माले शरीर छोडेजस्तै भयो । म स्तब्ध भएँ ।” उनी त्यति बेला केही बोल्न सकिनन्, तर रेडिटमा आफ्नो पीडा पोखेर अरूलाई सचेत गराइन् । उनले लेखिन्, “कसैले ‘हुँदैन’ भन्यो भने कुरा त्यहीँ सकिन्छ । ‘हुँदैन’ को अर्थ ‘अझै प्रयास गर’ भन्ने होइन ।” उनको यो पोस्टले धेरैलाई अनलाइन भेटघाटमा अपनाउनुपर्ने सावधानीबारे सोच्न बाध्य बनायो र उनलाई पनि आफ्नो मौनता तोड्ने हिम्मत दियो ।

यी त प्रतिनिधि घटना मात्र हुन् । आजको पुस्ताका लागि रेडिट एउटा बहुउद्‍देश्यीय चौतारी बनेको छ । कसैलाई पढाइको तनाव छ, कसैलाई करिअरको दुविधा । कोही विदेशमा आफन्तको घरमा बस्दा भोगेको यौन दुर्व्यवहारको पीडा सुनाउँछन्, त कोही आफ्नै आमा-बुबाको व्यवहार चित्त नबुझेर सुझाव माग्छन् । बाइक किन्ने सल्लाहदेखि जागिर छोड्ने निर्णयसम्म, प्रेम सम्बन्धका उल्झनदेखि शेयर बजारको उतारचढावसम्म, हरेक विषयमा यहाँ खुला बहस हुन्छ । ‘r/Nepal’, ‘r/NepalSocial’, ‘r/NepalStock’, ‘r/NepalPlusTwo’, ‘r/technepal’, ‘r/nepaltravel’, ‘r/nepalpics’, ‘r/NepaliMusic’, ‘r/nepalconfessions’, ‘r/kathmandu’, ‘r/Pokhara’ जस्ता सबरेडिटमा हजारौँ नेपालीहरू आफ्ना अनुभव, ज्ञान र सुझाव साटासाट गरिरहेका हुन्छन् ।

यसरी गुमनाम भएर मनका बह पोख्ने डिजिटल प्रवृत्तिलाई मनोचिकित्सक एक हिसाबले सकारात्मक मान्छन् । मनोचिकित्सक एवं माइन्ड क्लिनिकका संस्थापक डा पुरुषोत्तम अधिकारीका अनुसार यसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्षबारे उनी भन्छन्, “एक हिसाबले यो राम्रो पनि हो । मान्छेको आफ्नो विचार, भनाइ र सोचाइ व्यक्त गर्न पाउने यो एक खालको स्वतन्त्रता हो ।” विशेषगरी मानसिक स्वास्थ्य, यौनिकता वा अन्य सामाजिक रूपमा खुलेर बोल्न अप्ठ्यारो मानिने विषयमा मानिसहरू आफ्नो पहिचान लुकाएर कुरा राख्न चाहन्छन् । 

“कसैले मलाई नराम्रो भन्ला कि भनेर डराउनु परेन, कसैले जज गर्ला भन्ने चिन्ता भएन,” डा अधिकारी थप्छन्, “आफ्नो पहिचानले अप्ठ्यारोमा परिने जोखिम नभएपछि ढुक्कले मनको कुरा राख्न पाइयो ।”

उनका अनुसार अहिलेका युवापुस्तामा मानसिक स्वास्थ्यप्रति सचेतना बढेको छ र उनीहरू सहयोगका लागि अगाडि आउन थालेका छन् । “मसँग आउनेहरूमा युवा र किशोर-किशोरीहरूकै सङ्ख्या धेरै छ । उनीहरूमा समस्यालाई समस्या हो भनेर बुझ्ने र समाधान खोज्नुपर्छ भन्ने चेतना बढेको छ,” डा अधिकारी सुनाउँछन् । रेडिटजस्ता प्लेटफर्मले उनीहरूलाई पहिलो पटक आफ्नो समस्याबारे बोल्ने आँट जुटाउन मद्दत गरिरहेको हुन सक्ने उनी औँल्याउँछन् ।

तर, यो सिक्काको अर्को पाटो पनि उत्तिकै महत्त्वपूर्ण छ । मनोचिकित्सक डा वासुदेव कार्की यसका जोखिमबारे सचेत गराउँछन् । उनी भन्छन्, “आफ्नो तनाव घटाउने सिलसिलामा अर्काको तनाव बढाउन पाइएन । गुमनाम हुनुको अर्थ अरूलाई हानि पुर्‍याउने लाइसेन्स पाउनु होइन । डा कार्की थप्छन्, “तपाईँले आफू गुमनाम भएर अरू कसैको पहिचान खुल्ने गरी वा उसको गोपनीयता भङ्ग हुने गरी केही लेखिदिनुभयो भने, लेख्ने व्यक्ति त गुमनाम भयो तर जसको बारेमा लेखियो, उसको त इज्जत र गोपनीयतामाथि प्रहार भयो नि !”

डा अधिकारी पनि यो कुरामा सहमत छन् । “गुमनाम भएर कसैप्रति घृणा फैलाउने, व्यक्तिगत रूपमा आक्रमण गर्ने, कुनै जाति, धर्म वा समुदायलाई होच्याउने वा कसैको चरित्र हत्या गर्ने काम हुनुभएन,” उनी भन्छन् । यस्ता प्लेटफर्मको दुरुपयोग गरेर ‘फेक अकाउन्ट’ बनाई अरूलाई दुःख दिने प्रवृत्ति गलत भएको उनको बुझाइ छ । 

त्यसो भए सुरक्षित रूपमा मनको बह पोख्ने उपाय के हो त ? डा कार्की सुझाव दिन्छन्, “ठुला सामाजिक सञ्जालमा आफ्ना कुरा छरपस्ट पार्नुभन्दा सानो र सुरक्षित सर्कलमा कुरा गर्नु बढी प्रभावकारी हुन्छ । जसरी हामीले आत्महत्याको सोच आएका व्यक्तिहरूका लागि हेल्पलाइन राखेका छौँ । जहाँ उनीहरूले आफ्नो पहिचान नखुलाईकनै कुरा गर्न सक्छन्, त्यस्तै गोप्य र सुरक्षित माध्यम अपनाउनु राम्रो हो ।” 

यसै विषयमा थप प्रकाश पार्दै कारुन्या हेल्थ केयर एन्ड एक्सपर्ट क्लिनिकका मनोचिकित्सक डा. केनिसन श्रेष्ठ एनोनिमस (छद्मभेषि) हुनुलाई मानसिक स्वास्थ्यको दृष्टिकोणबाट दुईधारे तरवारको रूपमा व्याख्या गर्छन् । उनका अनुसार यसका फाइदा र बेफाइदा दुवैलाई बुझेर मात्र यसको सही उपयोग हुन सक्छ ।

एनोनिमस हुनुको पछाडिको मनोविज्ञानबारे उनी भन्छन्, “यो केवल पहिचान लुकाउने प्रयास मात्र होइन बरु आफूलाई सुरक्षित महसुस गर्दै निर्धक्क बोल्न पाउने माध्यम पनि हो । समाजले के भन्ला भन्ने डर, व्यक्तिगत प्रतिष्ठा र सुरक्षाको चासोले पनि मानिसलाई पहिचान गोप्य राख्न प्रेरित गर्छ ।”

यसको सकारात्मक पक्षबारे डा. श्रेष्ठले विशेष जोड दिएका छन् । उनका अनुसार मानसिक स्वास्थ्य, यौन दुर्व्यवहार, ट्रमा वा लैङ्गिक अल्पसङ्ख्यक‍ (LGBTQIA+) जस्ता अत्यन्तै संवेदनशील विषयमा, जहाँ मानिसहरू खुलेर कुरा गर्न डराउँछन्, त्यहाँ एनोनिमस प्लेटफर्मले ठूलो सहयोग गर्छन् । “जब अरूले पनि यस्तै विषयमा खुलेर कुरा गरेको देख्छन् तब ‘म एक्लो छैन’ भन्ने भावना जाग्छ । यसले गर्दा उनीहरूलाई मानसिक रूपमा ठूलो राहत दिन्छ,” डा. श्रेष्ठ थप्छन् । यस्ता प्लेटफर्मबाटै धेरैले सहयोग खोज्ने स्रोत र उपायबारे पनि जानकारी पाउँछन् ।

यद्यपि, डा. श्रेष्ठ यसका जोखिमबारे पनि उत्तिकै सचेत गराउँछन् । उनी भन्छन्, “पहिचान गोप्य हुँदा गलत सूचना र नकारात्मक सुझाव फैलने खतरा हुन्छ । अझ चिन्ताको विषय त कतिपय सबरेडिट उत्तेजक भएर आफैँलाई हानि पुऱ्याउन वा आत्महत्या गर्नसमेत उक्साउने खालका हुन्छन् ।”

उनी सन्तुलनको आवश्यकतामा जोड दिन्छन् । उनका अनुसार यस्ता प्लेटफर्ममा हुने नकारात्मक गतिविधि र अनलाइन दुर्व्यवहारलाई निगरानी गर्न सकेमा यसको फाइदा लिन सकिन्छ । सही तरिकाले प्रयोग गर्दा पहिचान गोप्य राख्नु मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्न एक शक्तिशाली माध्यम बन्न सक्ने उनको निष्कर्ष छ ।

रेडिटमा आफ्ना पीडा, दुःख, समस्या पोख्न सकिने भए पनि त्यसले निम्त्याउन सक्ने नकारात्मक पक्षबारे पनि सजग रहन उनीहरूको सुझाव छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८२ ९:२२