गुगलको नयाँ टुल, अब अनलाइन अर्डर गर्नुअघि भर्चुअल रूपमा आफ्नो शरीरमा लुगा लगाएर हेर्न सकिने
साउन १०, २०८२ ८:२४
काठमाडौँ । गुगलले एआईमा आधारित किनमेल टुलहरू बजारमा ल्याएको छ । कम्पनीले अनलाइन रिटेलर अनुभवलाई महत्त्वपूर्ण रूपमा बढावा दिने उद्देश्यका साथ यस्तो अनलाइन टुल ल्याएको हो ।
जसमा भर्चुअल ट्राइ-अन सुविधा, मूल्यको हुने घटबढको अलर्ट र स्टाइल इन्स्पिरेसन समावेश छन् । यसअघि सीमित ल्याब प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध रहेको भर्चुअल ट्राइ-अन टुल अब आम रूपमा उपलब्ध भएको छ ।
यसले प्रयोगकर्ताहरूलाई आफ्नो पूर्ण-लम्बाइको फोटो अपलोड गर्ने र लुगाकपडाहरू उनीहरूको शरीरमा कस्तो देखिन्छन् भनेर हेर्ने अनुमति दिन्छ । यो सुविधाले गुगल सर्च, शपिङ र गुगल इमेजहरूमा देखिने प्रोडक्ट रिजल्टमा काम गर्छ । ५-१५ सेकेन्डमा गुगलको शपिङ ग्राफमा रहेका अर्बौँ कपडा सामग्रीबाट प्रयोगकर्ताको साइजमा कपडाको रेन्डर तयार पार्दछ ।
यसका अतिरिक्त गुगलले स्मार्ट प्राइस अलर्ट पनि सुरु गर्दैछ, जसले शपिङ गर्नेहरूलाई आकार, रङ र लक्षित मूल्य जस्ता विशिष्ट मापदण्डमा आधारित अलर्टहरू सेट गर्ने सुविधा दिन्छ ।
यो कदम गुगल सर्चमा एआईलाई एकीकृत गर्ने बृहत्तर रणनीतिको एक हिस्सा हो । कम्पनीले च्याटजीपीटी जस्ता टुलहरूलाई प्रतिक्रिया दिँदै समग्र सर्चको प्रयोग बढाउने लक्ष्य राखेको छ । तत्कालका लागि गुगलको ट्राइ-अन फिचर अमेरिकामा मात्रै उपलब्ध गराइएको छ ।
पछिल्लो अध्यावधिक: साउन १०, २०८२ ९:२१
