फ्याक्टचेकः भारतबाट ५०० जना हतियारधारी नेपाल प्रवेश गरेको दाबी सहित भाइरल पोस्ट मिथ्या
साउन ११, २०८२ १७:९
काठमाडौँ । शुक्रबार, २५ जुलाई २०२५ देखि सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल भइरहेको छ । उक्त पोस्टमा बच्चा चोर्ने र किड्नी तस्करी गर्ने ५०० जनाको हतियारसहितको गिरोह नेपाल प्रवेश गरेको दाबी गरिएको छ । विभिन्न समाचार माध्यमको हवाला दिँदै सचेत रहन पनि आग्रह गरिएको छ । तर, टेकपाना फ्याक्टचेकले गरेको तथ्य-जाँचबाट उक्त दाबी मिथ्या भएको पुष्टि भएको छ ।
दाबी
शुक्रबार २५, जुलाई २०२५ बिहान ९ः३५ बजे फेसबुकमा धनबहादुर जागरी नाम भएका प्रयोगकर्ताले एक पोस्ट राखे । पोस्टमा ५०० जनाको गिरोह हतियाससहित नेपाल प्रवेश गरेको दाबी गरिएको छ । “सूचना। सूचना। सूचना।। भर्खरै मिडियामा आएको जानकारी अनुसार भारतबाट ठूलो संख्यामा नेपाल भारत सीमा बोर्डर हुँदै बच्चा चोरी गर्ने,किड्नी तस्करी गर्ने अपरिचित व्यक्ति नेपालभित्र प्रवेश गरेको खबर आएकोले तपाईंको घरआँगनमा जोकोहि पनि संकास्पद अपरिचित व्यक्ति: कवाडी, फरिवाल,दवाइवाले, राइस कुकर बनाउने आदि विभिन्न बहाना बनाएर गाउँघरभित्र प्रवेश गरेका व्यक्ति सँग होसियार रहनुहोला। यिनीहरूको ग्रुप ५००जान जति हतियार सहित घुमिरहेको बताइएको छ। रातिको समयमा कोही पनि बच्चाहरु घरबाहिर नजानुहोला। घरमा कुकुर छ भने खुला छोड्नुहोला। आआफ्ना बच्चाहरूको विशेष ख्याल गर्नुहोला। धन्यबाद।।”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १२ हजार बढी रियाक्सन, ५८० कमेन्ट र ४४०० बढी शेयर आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धान गर्दा शुक्रबारदेखि नै उक्त पोस्ट सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको पाइयो । त्यसपछि डेस्कले फेसबुकमा ‘भर्खरै मिडियामा आएको जानकारी अनुसार भारतबाट ठूलो सङ्ख्यामा’ भन्ने वाक्यांश राखेर खोजी गर्यो । त्यस क्रममा सयौं प्रयोगकर्ताले सोही पोस्ट कपी-पेस्ट गरेर फैलाएको पाइयो । विभिन्न फेसबुक पेज तथा अकाउन्टहरूले पनि यसलाई व्यापक रूपमा फैलाइरहेको देखियो ।
‘रुटिन अफ बागलुङ बन्द’ नामको फेसबुक पेसजले सोही पोस्ट २५ जुलाई २०२५ बेलुका ९ः२५ बजे राखेको भेटियो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ५५० रियाक्सन, २५ कमेन्ट र २८९ शेयर आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
विजय राजवंशी नाम भएका प्रयोगकर्ताले पनि सोही पोस्ट कपी पेस्ट गर्दै राखेका छन् । उनको पोस्टमा १०२ रियाक्सन, ८ कमेन्ट, ९१ शेयर आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
रामप्रसाद बाँस्कोटा नामका फेसबुक प्रयोगकर्ताले पनि यही पोस्ट कपी पेस्ट गर्दै आफ्नो टाइमलाइनमा राखेका छन् । उनले आफूलाई श्री पञ्चकन्या आधारभुत विद्यालका प्रध्यानाध्यापकका रूपमा चिनाएका छन् । उनको सो पोस्टमा १०३ रियाक्सन, २६ कमेन्ट र ३१ शेयर आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
श्री राम राम नामबाट खोलिएको फेसबुक पेज (ब्लु चेकमार्क समेत रहेको) अकाउन्टबाट पनि सोही पोस्ट राखिएको छ । रोचक कुरा त के छ भने यसमा चार जनाको ब्ल्याक एन्ड ह्वाइट फोटो पनि राखिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अछामको मल्लेख गाउँपालिकाको फेसबुक पेजमा पनि यो पोस्ट राखेको देखिन्छ । उक्त पोस्टमा ३७० बढी रियाक्सन, २० कमेन्ट र १५० बढी शेयर आएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
फेसबुक ग्रुपहरूमा पनि यो पोस्ट व्यापक रूपमा फैलिएको छ । टिकटक र एक्समा भने यो सामग्री पोस्ट भएको पाइएन ।
‘श्री राम राम’ भन्ने अकाउन्टबाट आएको फोटो गुगलमा रिभर्स इमेज सर्च गरी हेर्दा विवन न्युजले २३ जुलाई २०२५ मा प्रकाशित ‘Al-Qaeda terror module busted: Gujarat ATS arrests four suspected terrorists’ मा चार व्यक्तिको फोटो राखेको भेटियो । यी फोटो र समाचार अन्य भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यो फोटो भातको गुजरात एन्टी टेरोरिस्ट स्काड (एटीएस)ले सार्वजनिक गरेको अल काइदा समूहका चार आतङ्कवादीको हो । यही फोटोलाई नेपालमा भारतबाट प्रवेश गरेका तस्कर भन्दै भ्रम फैलाएको देखिन्छ ।
‘भारतबाट ठुलो समूहमा हतियारसहितका तस्कर आएको’ भन्ने दाबीको सत्यता बुझ्न डेस्कले गुगलमा ‘नेपाल भारत सीमा बच्चा चोरी किड्नी तस्करी’, ‘नेपालमा भारतबाट अपरिचित व्यक्ति गाउँमा प्रवेश’, ‘नेपालमा ५०० जना हतियार साथ किड्नी तस्करी’ भन्ने समाचार खोज्यो । त्यस क्रममा कुनै पनि सञ्चार माध्यममा यस्तो समाचार आएको फेला परेन । त्यसमा भएका हरेक कीवर्ड खोज्दा पनि ठ्याक्कै दाबी गरेको जस्तो समाचार फेला परेन ।
हामीले नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई सम्पर्क गर्यौं । प्रहरी नायब महानिरीक्षक घिमिरेले आफूले पनि फेसबुकमा भाइरल भएको पोस्टबारे जानकारी पाएको, तर त्यो कतैबाट पुष्टि नभएको बताए । “भारतबाट ५०० जना हतियारसहितका तस्कर नेपाल आएका छन् र बच्चाबच्ची तस्कर गर्छन् भनिएको रहेछ,” प्रहरी नायब महानिरीक्षक घिमिरेले भने, “मलाई यस्तो कुनै जानकारी आइसकेको छैन । मैले सीआईबी, साइबर ब्युरो सबैलाई यसबारे जानकारी दिएको छु ।”
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले पनि आफूलाई यस विषयमा कुनै जानकारी प्राप्त नभएको बताए ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले पनि पछिल्लो समय यस्ता घटनाबारे कुनै उजुरी नआएको जानकारी दिए । “समय समयमा समाजमा त्रास फैलाउन यस्ता पोस्टहरू भाइरल भइरहेका हुन्छन्,” प्रहरी उपरीक्षक कुँवरले भने, “यसमा हामी पनि अनुसन्धान गर्दैछौं ।”
यी विभिन्न तथ्यबाट ‘भारतबाट ठूलो सङ्ख्यामा हतियारसहित नेपालमा मानव तस्कर गर्ने गिरोह आएको भन्ने दाबी’ मिथ्या रहेको पुष्टि भयो । यद्यपि त्यसमा उल्लेख गरिएका सुझावलाई भने आत्मसात गर्न सकिन्छ । खासगरी बालबालिकालाई रातको समयमा एक्लै छोड्न जोखिमयुक्त हुन सक्छ । अपरिचित व्यक्तिलाई शंका गर्न सकिन्छ । तर, यस्तै पोस्टका कारण तराईका जिल्लामा गाउँमा आएको नयाँ मान्छेले कुटाइ खाएको घटना पनि सतहमा आइरहेका हुन्छन् । त्यसैले यी सबै पक्ष ख्याल गर्नुपर्छ ।
दाबी
भारतबाट बच्चा चोर्ने र किड्नी तस्करी गर्ने ५०० जनाको हतियारसहितको गिरोह नेपाल प्रवेश गरेको छ । यो गिरोह कवाडी, फरिवाल, दबाई बेच्ने जस्ता विभिन्न बहाना बनाएर गाउँघरमा घुमिरहेको छ ।
दाबीकर्ता
‘धनबहादुर जागरी’, ‘रुटिन अफ बागलुङ बन्द’, ‘विजय राजवंशी’, ‘रामप्रसाद बाँस्कोटा’, ‘श्री राम राम’ नामका फेसबुक पेज तथा अकाउन्ट र अन्य सयौं फेसबुक प्रयोगकर्ता ।
तथ्य
भाइरल पोस्टमा प्रयोग गरिएको चार जनाको फोटो भारतको गुजरातमा पक्राउ परेका अल-कायदा समूहका चार आतङ्कवादीको हो, नेपाल प्रवेश गरेका तस्करको होइन । भाइरल भइरहेको पोस्टमा ‘मिडियामा आएको जानकारी’ भनिएको छ । तर, नेपाल वा भारतका कुनै पनि विश्वसनीय राष्ट्रिय सञ्चारमाध्यममा यस्तो ५०० जनाको गिरोह नेपाल प्रवेश गरेको समाचार प्रकाशित भएको छैन । नेपाल प्रहरीले यो सूचनाबारे जानकारी भए पनि यसको कुनै आधिकारिक पुष्टि नभएको र यो हल्ला मात्र भएको बताएको छ । त्यस्तै सशस्त्र प्रहरी बलले यसबारे कुनै जानकारी प्राप्त नभएको जानकारी दिएको छ । साथै मानव बेचबिखन अनुसन्धान ब्युरोलाई पनि पछिल्लो समय यस्तो कुनै उजुरी परेको जानकारी छैन ।
निष्कर्ष
‘भारतबाट ५०० जनाको हतियारसहितको तस्कर गिरोह नेपाल प्रवेश गरेको’ भन्ने दाबी मिथ्या हो । सामाजिक सञ्जालमा फैलाइएको यो पोस्ट कुनै आधिकारिक स्रोत र तथ्यमा आधारित नभई समाजमा त्रास र भ्रम फैलाउने उद्देश्यले गरिएको पुष्टि हुन्छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८२ १७:३५
