close

गुगल म्याप्सले हटाउँदैछ 'फलो' फिचर, प्रयोगकर्ताको जानकारी स्वतः मेटिने

टेकपाना टेकपाना

साउन ११, २०८२ २०:३

गुगल म्याप्सले हटाउँदैछ 'फलो' फिचर, प्रयोगकर्ताको जानकारी स्वतः मेटिने

काठमाडौँ । गुगल म्याप्सले आउँदो महिनादेखि आफ्नो एउटा फिचर बन्द गर्ने भएको छ । कम्पनीले एपमा रहेको अन्य प्रयोगकर्तालाई ‘फलो’ गर्ने सुविधा हटाउने घोषणा गरेको हो । यो परिवर्तनपछि प्रयोगकर्ताले कसैलाई फलो गर्न वा कसैबाट फलो हुन सक्ने छैनन् ।

गुगलले आफ्नो कम्युनिटी सपोर्ट पोस्टमार्फत यो परिवर्तन आउँदो सेप्टेम्बरदेखि लागु हुने जानकारी दिएको छ । यो अपडेट प्रयोगकर्ताको डिभाइसमा स्वतः लागु हुनेछ र यसका लागि प्रयोगकर्ताले केही गर्नुपर्दैन ।कम्पनीका अनुसार फलो गर्ने प्रणाली नै नरहने भएकाले अब प्रयोगकर्ताले फलोअर रिक्वेस्ट म्यानेज गर्नुपर्ने छैन । यो फिचर हटेपछि फलोअर्स र फलोइङसँग सम्बन्धित सबै डेटा स्वतः मेटिने गुगलले स्पष्ट पारेको छ ।

यो फिचर बन्द भए पनि गुगल म्याप्समा प्रयोगकर्ताहरूलाई एकआपसमा जोड्ने र नयाँ ठाउँहरू खोजी गर्ने अन्य तरिकाहरू भने यथावत् रहनेछन् । योगदानकर्ताहरूलाई एकअर्कासँग अन्तरक्रिया गर्न दिने ‘लोकल गाइड्स कनेक्ट’ (Local Guide Connects) प्लेटफर्म सक्रिय रहनेछ । 

साथै, प्रयोगकर्ताहरूले नयाँ ठाउँ र अनुभवहरू पत्ता लगाउनका लागि लिस्ट बनाउने र शेयर गर्ने सुविधा भने प्रयोग गरिरहन पाउनेछन् । गुगलले एपलाई नेभिगेसन र नयाँ ठाउँको खोजीमा केन्द्रित गर्न यो कदम चालेको बताएको छ । 

सामाजिक सञ्जालजस्तो यो फिचरमा बट (bot) फलोअरको बिगबिगी भएको र प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आएकोले पनि यसलाई हटाउन लागिएको हो ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८२ २०:४