close

गुगलको सीईओ बनेको १० वर्षपछि सुन्दर पिचाई भए अर्बपति, गैर-संस्थापक सीईओको दुर्लभ उपलब्धि !

टेकपाना टेकपाना

साउन १२, २०८२ १०:४०

गुगलको सीईओ बनेको १० वर्षपछि सुन्दर पिचाई भए अर्बपति, गैर-संस्थापक सीईओको दुर्लभ उपलब्धि !

काठमाडौँ । अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाई डलर अर्बपति बनेका छन् । ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार ५३ वर्षीय भारतीय मूलका सीईओको खुद सम्पत्ति १.१ बिलियन अमेरिकी डलर पुगेको हो ।

अल्फाबेटको शेयरले अहिलेसम्मकै उच्च बिन्दुमा कारोबार बन्द गरेको अवस्थामा पिचाईले यो उपलब्धि हासिल गरेका हुन् । विशेष गरी प्रविधि उद्योगमा गैर-संस्थापक सीईओका लागि यो उपलब्धि दुर्लभ मानिन्छ । मेटाका मार्क जुकरबर्ग र एनभिडियाका जेन्सन हुआङ जस्ता अन्य शीर्ष कार्यकारीहरूले आफ्ना कम्पनीहरूमा संस्थापक इक्विटी हिस्सेदारीका कारण सम्पत्ति आर्जन गरेका थिए ।

यस विपरीत पिचाईको अल्फाबेटमा केवल ०.०२ प्रतिशत आर्थिक हिस्सेदारी छ, जसको मूल्य करिब ४४० मिलियन डलर मात्र हुन्छ । उनको अधिकांश सम्पत्ति भने नगदमा रहेको बताइएको छ ।

पिचाई प्रविधि कम्पनीमा सबैभन्दा लामो समय काम गर्ने सीईओ पनि हुन् । जसले यही अगस्टमा सीईओ पदमा १० वर्ष पूरा गर्दैछन् । भारतको तमिलनाडुको एक मध्यमवर्गीय परिवारमा जन्मेका सुन्दर पिचाई दुई कोठे अपार्टमेन्टमा हुर्केका थिए । उनले सन् १९९३ मा स्ट्यानफोर्ड विश्वविद्यालयमा छात्रवृत्ति पाए ।

सन् २००४ मा गुगलमा काम गर्न थालेका उनी सन् २०१५ मा गुगलको सीईओ बने । सीईओको पद सम्हाल्नुअघि पिचाई कम्पनीको एन्ड्रोइड डिभिजनको नेतृत्व गर्ने र क्रोम ब्राउजर विकास गर्ने जिम्मेवारीमा थिए ।

सीईओको रूपमा पिचाईको यो उपलब्धि महत्वपूर्ण भए पनि अल्फाबेटका सह-संस्थापकहरू ल्यारी पेज र सर्गेई ब्रिनको सम्पत्ति भने पूर्णतया फरक स्तरमा छ । पेजको कूल सम्पत्ति १७१.२ अर्ब डलर छ भने ब्रिनको १६०.४ अर्ब डलर रहेको छ । जसको आधारमा उनीहरू विश्वका सात धनी व्यक्तिहरूको सूचीमा समावेश छन् ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८२ १०:४०