मेटा रे-बान स्मार्ट चस्माबाट गोप्य रूपमा खिचिएको भिडिओ भाइरल बनेपछि गोपनीयताको नयाँ बहस
साउन १२, २०८२ १७:५२
काठमाडौँ । यदि तपाईँ कसैसँग बाहिर जानुभएको छ । र, साँझ घर फर्किनु भयो । त्यही क्रममा सामाजिक सञ्जाल चलाउँदै गर्दा फिडमा तपाईँकै भिडिओ देखियो । त्यो पनि तपाईँको अनुमति र जानकारी बिनै खिचिएको । यस्तो बेला कस्तो महसुस होला ?
अहिले यही स्मार्ट चस्मामा जडान गरिएका गोप्य क्यामेराले निम्त्याउने गोपनीयता हनन्को जोखिम सतहमा आउन थालेको छ । विशेषगरी कन्टेन्ट बनाउन वा ह्यान्ड्स-फ्री अनुभवका लागि बनाइएका यी अत्याधुनिक ग्याजेटको दुरुपयोग सार्वजनिक स्थलमा मानिसको गोप्य रूपमा भिडिओ खिच्नका लागि हुन थालेको छ । सबैभन्दा चिन्ताको विषय त के छ भने यीमध्ये धेरैजसो चस्मा साधारण चस्मा जस्तै देखिन्छन् । यसले गर्दा ति चस्मा चिन्न लगभग असम्भव जस्तै हुन्छ ।
अनुमति बिनै मेटा रे-बान स्मार्ट चस्माबाट खिचिएको एक भिडिओ अहिले भाइरल भएको छ । एक अमेरिकी महिलाले आफ्नो डरलाग्दो अनुभव सामाजिक सञ्जालमार्फत बाहिर ल्याएपछि यस विषयमा थप बहस हुन थालेको हो । ती महिलाका अनुसार एकजना ‘इन्फ्लुएन्सर’ले रे-बान स्मार्ट चस्मा प्रयोग गरी सुपरमार्केटमा उनको भिडिओ गोप्य रूपमा खिचेका थिए । त्यसैलाई पछि सामाजिक सञ्जालमा अपलोड गरे ।
https://t.co/uPVCS9uoub pic.twitter.com/a9m0Gsq4s5
— Herculyse (@herculysee) July 26, 2025
ती महिलाले सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्ट गर्दै कसरी उक्त व्यक्ति खराब नियतले आफूसँग कुरा गर्न आएका थिए भन्ने बताएकी छिन् । ती व्यक्तिले सुरुमा उनको सुन्दरताको प्रशंसा गरे । त्यसपछि आफूलाई अङ्ग्रेजी बोल्न नआउने बहाना बनाएर छोटो कुराकानी गरे । तर, केही समयपछि नै ती महिलाले अपरिचित व्यक्तिसँगको आफ्नो भेटघाट इन्टरनेटमा भाइरल भइसकेको थाहा पाइन् ।
उनले लेखेकी छिन्, “यस्तै कारणले गर्दा यस्ता चस्मा वा यसका कुनै पनि संस्करण अस्तित्वमा हुनु हुँदैन । मलाई यो कुराकानी स्पष्टसँग याद छ । मलाई ती व्यक्ति भिडिओ खिचिरहेका छन् भन्ने महसुस नै भएन । एक जनाले मलाई चिनेपछि यो भिडिओ मलाई पठाइयो । यो निकै डरलाग्दो छ । यसले मलाई बिरामी महसुस गराएको छ । यो मेरो गोपनीयताको हनन हो र पूर्ण रूपमा गलत हो ।”
स्मार्ट चस्माबाट भिडिओ रेकर्ड गर्दा एलईडी लाइट बल्ने भए पनि आफूले त्यो याद नगरेको उनले बताइन् । यता भिडिओ सार्वजनिक गर्ने इन्फ्लुएन्सरले सामाजिक सञ्जालमा अर्को भिडिओ शेयर गर्दै आफ्नो कन्टेन्टमा धेरै ‘क्लिक’ र ‘भ्युज’ पाउन आफूले प्रायः नियम तोड्ने गरेको स्वीकारेका थिए ।
महिलाले उनको भिडिओमा जवाफ दिँदै भनिन्, “उनले मेरो असहज भएको रियाक्सन पाउन राम्रोसँग अङ्ग्रेजी बोल्न नजान्ने नाटक गरे । उनी मेरो पिछा लागे । तर, त्यो सबै एडिट गरेर हटाए ताकि उनी त्यहाँबाट हिँडेर गएको जस्तो देखियोस् । उनले भ्युज र आम्दानीका लागि जानाजानी यसो गर्ने गरेको स्वीकार गर्दै भिडिओ पोस्ट गरेका छन् ।”
महिलाले भिडिओ हटाउनका लागि इन्स्टाग्राममा रिपोर्ट गरे पनि सुरुमा मेटा प्लेटफर्मले त्यसलाई अस्वीकार गरेको थियो । तर, सामाजिक सञ्जालमा चर्को आलोचना र दबाबपछि ती इन्फ्लुएन्सर भिडिओ हटाउन बाध्य भए ।
नेपालमा पनि यस्ता ह्यान्ड्स फ्रि रेकर्डिङ डिभाइसको प्रयोग दिनानुदिन बढ्दै गएको छ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङले सार्वजनिक स्थानमा मेटाको रे-बान चस्माबाट खिच्ने भिडिओले पनि विवाद निम्त्याइरहेका हुन्छन् ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८२ १७:५२
