एआईले तयार पारेको साङ्केतिक तस्वीर
काठमाडौँ । एक चम्चाको पन्ध्रौँ भाग जति पानी । यो प्रसङ्ग किन आयो होला ? के तपाईँलाई थाहा छ, यो त्यति नै पानी हो, जति च्याटजीपीटीले एउटा प्रश्नको जवाफ दिँदा खर्च गर्छ । यो अरूले नभई चर्चित एआई च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले भनेका हुन् ।
यसैलाई आधार मान्ने हो भने यदि तपाईँले ‘Can you help me to solve this maths problem’ (के तपाईँ मलाई यो गणितको समस्या समाधान गर्न मद्दत गर्न सक्नुहुन्छ ?) भनेर टाइप गर्नुभयो भने एक थोपो पानी खर्च भयो । वा, जब तपाईँ ‘Can I put lime instead of lemon in this recipe’ (के म यो रेसिपीमा कागतीको सट्टा निबुवा हाल्न सक्छु ?) टाइप गर्नुहुन्छ, त्यति बेला पनि एक थोपा पानी खर्च हुन्छ । च्याटजीपीटीलाई हरेक दिन एक अर्ब प्रश्नहरू आउने गरेको साम अल्टम्यानको दाबी छ । अब बुझ्नुस् च्याटजीपीटी स्तरकै एआई टुल जेमिनाई, ग्रोक, डिपसिक, पर्प्लेक्सिटी आदि छन् । यसैबाट अनुमान लगाउन सकिन्छ, एक दिनमा एआईका लागि कति पानी खपत हुन्छ होला ?
यसबाट अर्को कुरा के पनि स्पष्ट हुन्छ भने एआई क्रान्तिको तिर्खा निकै ठुलो छ । यद्यपि केही विशेषज्ञ भने पानीको प्रयोगबारे साम अल्टम्यानको दाबीप्रति अलिकति आशङ्का गर्छन् । “यस अवस्थामा मसँग यो आँकडासँग सहमत हुन वा त्यसमा विश्वास गर्न पर्याप्त जानकारी छैन,” युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर शाओलेई रेनले बीबीसीलाई भनेका छन्, “सायद उनको आँकडाले केही साना मोडललाई सङ्केत गरिरहेको थियो ।”
उनले अगाडि भनेका छन्, “हामी एउटा मध्यम आकारको लार्ज ल्याङ्ग्वेज मोडललाई विचार गर्दैछौँ । जुन जीपीटी-थ्रीको आकारको छ । त्यसैले यदि तपाईँ एउटा ईमेल लेख्नुहुन्छ वा केही प्रश्न सोध्नुहुन्छ । मानौँ, तपाईँसँग १० देखि ५० ओटा प्रश्न छन् भने यसमा लगभग ५०० मिलिलिटर पानी खपत हुन्छ ।”
यस गणनामा कुलिङ र विद्युत् उत्पादनमा खर्च हुने पानी पनि समावेश छ । एआईले धेरै पानी प्रयोग गर्छ भन्ने कुरा चाहिँ स्पष्ट छ । तर, किन र कसरी ?
हरेक पटक जब तपाईँ कुनै एआईलाई प्रम्प्ट पठाउनुहुन्छ, तपाईँको प्रश्न बुझ्न र तपाईँलाई जवाफ दिन यसले एक जटिल गणना गर्छ । यो काम संसारका सबैभन्दा शक्तिशाली र विशेष कम्प्युटर चिप्सद्वारा गरिन्छ । जुन विशाल डेटा सेन्टरमा राखिएका हुन्छन् । प्रयोगकर्ताले प्रम्प्ट पठाउनुअघि नै यिनीहरूले काम गर्न सुरु गरिसकेका हुन्छन् । यति धेरै बिजुली खपत हुँदा हार्डवेयर बढी तातो हुन सक्छ । यदि त्यसलाई राम्ररी चिसो पारिएन भने त्यो बिग्रिन सक्छ । त्यसैको समाधानका लागि धेरैजसो डेटा सेन्टरले एयर कुलिङ सिस्टम प्रयोग गर्छन् । यो एआई आउनुअघिसम्म ठिक थियो ।
“अहिले बन्दै गरेका डेटा सेन्टर र तिनका संरचनाहरूले निकै धेरै ऊर्जा खपत गर्ने भएकाले अब तिनलाई चिसो राख्न ‘लिक्विड कुलिङ’ जस्ता नयाँ प्रविधिको प्रयोग बढाइँदैछ,” एनटीटी डेटाका सीईओ अभिजित दुबेले भनेका छन् । ब्याक्टेरिया बढ्न नपाओस्, प्रणालीमा अवरोध नआओस् र खिया नलागोस् भन्ने सुनिश्चित गर्न लिक्विड कुलिङका लागि पानी सफा हुनुपर्छ । यही कारणले गर्दा अधिकांश अवस्थामा कम्प्युटर सर्भरलाई चिसो बनाउन पिउने पानी नै प्रयोग गरिन्छ ।
साधारण रूपमा चल्ने ‘लिक्विड कुलिङ’ नामक प्रक्रियाले यसरी काम गर्छ:
सबैभन्दा पहिला सर्भरभित्रका प्रोसेसर (चिप्स) मा एउटा चिसो तरल (कुलेन्ट) बगाइन्छ । त्यो तरलले प्रोसेसरबाट उत्पन्न भएको ताप सोस्छ । त्यसपछि त्यो तातो तरल चिप्सबाट टाढा राखिएको ‘हिट एक्स्चेन्ज’ भन्ने मसिनसम्म पुर्याइन्छ ।
त्यहाँ उक्त तरललाई चिस्याउन पानी प्रयोग गरिन्छ । चिसो भएपछि फेरि त्यो तरल सर्भरभित्र फर्काइन्छ । यसले फेरि सर्भरलाई चिसो बनाउने काम गर्छ । यसरी पानी प्रयोग गरेर सर्भरलाई तातिन नदिई चिसो राखिन्छ ।
यस क्रममा अब तातो भइसकेको पानी कुलिङ टावरसम्म पुग्छ । कुलिङ टावरमा पङ्खा र बाफको संयोजनबाट ताप बाहिर निकालिन्छ । यसले पानीलाई चिसो बनाउँछ । यो प्रक्रियामा केही पानी बाफ बनेर उड्छ । बाँकी पानी भने पटक-पटक यो कुलिङ प्रक्रियाका लागि पुनः प्रयोग गरिन्छ । अनि अन्त्यमा त्यसलाई नजिकैको जलस्रोतमा छोडिन्छ । समग्रमा यो प्रक्रियाका क्रममा लगभग ८० प्रतिशत पानी वाफ बनेर उडेर जान्छ ।
“यसको अर्थ के हो भने यस्तो पानी सकिएको छ । र अब हामी त्यो पानी तानिरहेका छौँ, जुन सिँचाइ, मानवीय प्रयोग र सरसफाइका लागि आवश्यक छ,” द एथिकल टेक सोसाइटीकी संस्थापक लारेना जाउमे पालासले भनेकी छिन् ।
विश्वभरका मानिसहरू डेटा सेन्टरले जलस्रोत र विद्युतीय ग्रिडमाथि दबाब बढाइरहेको विषयमा चिन्तित छन् । स्पेन, भारत, चिली, उरुग्वे र अमेरिकाका केही भागमा यस विषयमा विरोध प्रदर्शन पनि भएका छन् । र, डेटा सेन्टरभित्रका कामका लागि मात्र नभई यिनीहरूलाई चलाउन चाहिने बिजुली उत्पादन गर्न पनि धेरै पानी खपत हुन्छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २०३० सम्ममा एआई-सञ्चालित डेटा सेन्टरमा बिजुलीको माग ३०० टेरावाट-आवरसम्म बढ्न सक्छ । यो भनेको लगभग ४०० प्रतिशतको वृद्धि हो । यो त्यति बिजुली हो, जति बेलायतले पूरै एक वर्षमा खपत गर्छ । बिजुली बाहेक एआई चलाउने सेमिकन्डक्टर चिप्स बनाउन पनि पानीको आवश्यकता पर्छ ।
“एआई प्रविधि बनाउन तथा यसको आपूर्तिमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पानीको प्रयोग हुन्छ । एआईका लागि चाहिने हार्डवेयर निर्माणमा लाग्ने आवश्यक कच्चा पदार्थलाई प्रशोधन गर्न यसको प्रयोग हुन्छ,” संस्थापक पालास थप्छिन् ।
एआई प्रणाली बनाउन र चलाउन कति पानी लाग्छ भनेर पत्ता लगाउन गाह्रो छ । गुगल, मेटा र माइक्रोसफ्ट जस्ता ठुला प्रविधि कम्पनीले आफ्नो वार्षिक पानी खपतको तथ्याङ्क सार्वजनिक गरेका छन् । उक्त तथ्याङ्क अनुसार उनीहरूले स्थानीय स्रोतबाट अर्बौँ लिटर पानी प्रयोग गरेको देखिन्छ । तर, त्यो पानीमध्ये एआई प्रणालीका लागि कति खर्च भयो भन्ने कुरा भने खुलाइएको छैन ।
पानीको बढ्दो खपतले पार्ने असरबारे सचेत रहेका यी कम्पनीहरूले सन् २०३० सम्ममा ‘वाटर पोजिटिभ’ वा ‘वाटर न्युट्रल’ बन्ने प्रतिबद्धता जनाएका छन् । यसको अर्थ के हो भने उनीहरूले आफूले खपत गरेभन्दा बढी पानी स्रोतमा फर्काउने वा आफ्नो पानीको खपतलाई पूर्ण रूपमा सन्तुलनमा ल्याउनेछन् ।
“कम्पनीहरूको यो वाचा पुरा होस् भन्ने सबैको चाहना हो । तर यो लक्ष्य हासिल गर्न अझै लामो समय लाग्ने देखिन्छ,” युनिसेफ अफिस अफ इनोभेसनका ग्लोबल डाइरेक्टर थानस डेविनले भनेका छन्, “आशा गरौँ, भविष्यमा यही प्रविधि उद्योगभित्रबाटै पानीको खपत घटाउने नवीन प्रविधि र उपायको आविष्कार हुनेछ ।”
डेटा सेन्टरलाई चिसो राख्न कम्पनीहरूले विभिन्न नयाँ उपायको खोजी समेत गरिरहेका छन् । यसका लागि केही अनौठा र महत्त्वाकाङ्क्षी प्रयोग पनि सुरु भएका छन् ।
उदाहरणका लागि डेटा सेन्टरलाई मानव बस्तीबाट टाढा लगेर समुद्रको गहिराइमा, चिसो आर्कटिक क्षेत्रमा वा बाहिरी अन्तरिक्षमा स्थापना गर्ने सोचका साथ काम भइरहेको छ । “तर के यस्ता प्रणालीलाई साँच्चै अन्तरिक्षमा पठाउन सकिन्छ त ?,” एनटीटी डेटाका सीईओ दुबे भन्छन्, “यो सोच अहिले विकासको पहिलो चरणमा छ । हामी (एनटीटी कम्पनी) ले यही सम्भावनाको खोजी गरिरहेका छौँ ।”
उनी अगाडि थप्छन्, “हाम्रो उद्देश्य भनेको अन्तरिक्षमा यस्ता स्याटलाइट स्थापना गर्नु हो, जसले पृथ्वीमा रहेका डेटा सेन्टरका लागि भरपर्दो ब्याकअपको काम गर्न सकून् ।”
यति धेरै कठिनाइ हुँदाहुँदै पनि मानिसमा निराशा छाएको भने छैन । र उनीहरू एक दिगो भविष्यप्रति पूर्ण रूपमा आशावादी नै छन् । “जेनेरेटिभ एआईले आफ्नो वास्तविक क्षमताको सानो अंश मात्र देखाएको छ भन्ने कुरा हामीले मनन् गर्नुपर्छ,” डेविन भन्छन्, “यो प्रविधि तीव्र गतिमा विकास भइरहेको भए पनि उद्योग र प्रयोगका हिसाबले यो अझै परिपक्व भइसकेको छैन ।”
उनी अगाडि थप्छन्, “यसको आदर्श समाधान भनेको हामीले समाज र विश्वको रूपमा मिलेर सिक्दै जानु हो । हामीले विशेषगरी पानी र बिजुली जस्ता सीमित स्रोतको खपत कसरी कम गर्ने भन्ने कुरा सिक्न अत्यावश्यक छ । किनभने जब हामी पानीको कुरा गर्छौँ, हामीले यो कुनै व्यक्ति वा कम्पनीको मात्र नभई सम्पूर्ण संसारको साझा सम्पत्ति हो भन्ने भुल्नु हुँदैन ।”
- बीबीसी वर्ल्ड सर्भिसबाट
पछिल्लो अध्यावधिक: साउन १३, २०८२ २०:४६
