close

गायक अनिल सिंहले पाए अधिकार फिर्ता, पूराना गीतको नयाँ म्युजिक भिडिओ बनाउन पाउने

टेकपाना टेकपाना

साउन १४, २०८२ २०:३४

गायक अनिल सिंहले पाए अधिकार फिर्ता, पूराना गीतको नयाँ म्युजिक भिडिओ बनाउन पाउने

काठमाडौँ । सन् २००० को दशकको चर्चित पप गायक अनिल सिंह र संगीत उत्पादन कम्पनी म्युजिक डटकमबिचको विवाद मिलेको छ । प्रेम पत्र, आई लभ यू, इन्जिन गाडीमा, डुब्न देउ मलाई लगायतका चर्चित गीतहरूका गायक सिंहले आफ्ना गीतहरूको प्रयोग गर्न मिल्ने गरि दुई पक्षबिच सहमति जुटेको हो । 

गायक सिंहले गत आइतबार आफ्नो करिअर सखाप पारेको भन्दै फेसबुकमा भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडिओमा उनी म्युजिक डटकमका प्रतिनिधिसँग कुराकानी गरिरहेको देखिएका थिए । आफ्नो गीत प्रयोग गर्न नपाउँदा डिप्रेसनमा जान र आत्महत्या गर्ने बाध्य हुन लागेको उक्त भिडिओमा उनले बताएका थिए । 

सोपछि मंगलबार साँझ म्युजिक डटकमसँगको छलफलबाट आफ्ना गीतहरूको अडियो प्रयोग गर्न पाउने सहमति भएको गायक सिंहले बताए । अब गायक सिंहले ‘मेगाहर्ज’ र ‘लिमिटेड एडिसन’ एल्बम को २० र ‘गायक’ एल्बमको ‘प्रेमपत्र’ र ‘मैले जानिसकेँ’ गरेर २२ गीतको अडियो प्रयोग गर्न पाउने भएका हुन् । 

म्युजिक डटकम र गायक सिंहबिच विसं २०५९ सालबाट नै सहकार्य सुरु भएको थियो । उक्त समयमा गीतमा ५०/५० प्रतिशत स्वामित्व रहने गरि सहमति भएको गायक सिंहले बताए । डिजिटल प्लेटफर्म युट्युबमार्फत अन्य कलाकारले करिअर सुरु गर्दै गर्दा गायक सिंहले पनि आफ्नो करिअर युट्युब च्यानलमार्फत अघि बढाउन पूराना गीतहरूमा नयाँ भिडिओहरू समेत बनाएर राखेका थिए । युट्युब च्यालनलाई नै राम्रोसँग चलाउने भनेर स्टुडियो पनि डिजाइन गरेका थिए । 

“तर ब्याक टु ब्याक कपिराइट क्लेम आउँदा मैले कुनैपनि प्लेटफर्म प्रयोग गर्न नै पाइन । मैले धेरै भिडियो पनि रिलिज गरेको थिएँ र कपिराइट क्लेमले गर्दा भिडियो मारमा पर्‍यो, धेरै नोक्सानी पनि भयो,” सिंहले भने । 

अब भने नयाँ सहमतिले नयाँ अवसरको ढोका खोलेको उनले बताए । “मंगलबारको सहमतिले दुबै जनालाई आ-आफ्नो बाटोमा हिँड्नलाई प्रोत्साहित गरेको छ ।” अब छिट्टै नयाँ भिडिओहरू ल्याउने उनले बताए । 

यस्तै ‘बुढासुब्बा डिजिटल’ र ‘इन्द्रेणी क्यासेट सेन्टर’ले पनि कुनै सम्झौताबिना अवैध रूपमा आफ्नो अडियोमा कपिराइट क्लेम गर्दै आएको उनले बताए । आफ्ना २० ओटा गीतहरूमा उक्त समस्या भएको र ति कम्पनीबाट पनि आफ्नो अधिकार प्राप्तिका लागि अघि बढेको उनको भनाई छ । 

मंगलबारको सहमतिमा गायक र कम्पनी दुबैलाई नै फाइदा हुने गरि सहमति भएको फिल्म निर्माता तथा संगीत उत्पादन कम्पनी म्युजिक डटकमका प्रमुख राजेश वंशलले बताए । अब भने पूराना विवाद नबल्झने गरि आपसी सहमति गरेको उनको भनाई छ ।  

वंशलले भने, “२०५९  देखि नै उहाँले सम्पूर्ण अधिकार हामीलाई सेल गर्नुभएको थियो । केही कुराहरूमा भएको कन्फ्युजनहरूलाई बैठक बसेर टुङ्गो लगाएका हौँ ।” । म्युजिक डटकमले कलाकारहरूलाई सम्मान गर्दै आएको उनको भनाई छ ।  

गायक सिंहका गीतका भिडिओहरू ‘म्युजिक नेपाल’ को युट्युब च्यानलबाट प्रसारण हुँदै आएका छन् । ‘म्युजिक नेपाल’ एग्रिगेटरको भूमिकामा गरेको उनले बताए । “हामीले म्युजिक नेपालको प्लेटफर्म प्रयोग गरेर भिडिओ राखेका थियौँ,” वंशलले भने ।

यता गीतसम्बन्धी विवादमा समझदारी भएपछि गायक सिंहले आत्महत्या गर्ने अवस्थामा पुर्‍याउन खोजेको भन्ने भिडिओ हटाउँदै आफ्ना शुभचिन्तकसँग माफी मागेका छन् ।  

पछिल्लो अध्यावधिक: साउन १४, २०८२ २०:३५