close

माओवादी सांसद भन्छिन्ः हृदयन्द्रको भ्लगले राजतन्त्रको झल्को दियो, युट्युबेको नेतृत्व राजावादी

टेकपाना टेकपाना

साउन १६, २०८२ १८:०

माओवादी सांसद भन्छिन्ः हृदयन्द्रको भ्लगले राजतन्त्रको झल्को दियो, युट्युबेको नेतृत्व राजावादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले हालै चर्चामा रहेको पूर्व नवयुवराज हृदयन्द्र शाहको भ्लगले राजतन्त्रको झल्को दिएको टिप्पणी गरेकी छिन् । शुक्रबार फेसबुकमा एक लामो पोस्ट गर्दै उनले युट्युबबाट टिपेर ल्याएको अवतारमार्फत अपवित्र षड्यन्त्रको रचना गरिएको दाबी गर्दै यस्तो टिप्पणी गरेकी हुन् ।

"गणतान्त्रिक नेपालमा बेलाबेला यो राजतन्त्र कालको झल्को दिलाउने गतिविधिले हामीलाई सोच्न बाध्य बनाउँछ," सांसद लामाले लेखेकी छिन्, "अझै पनि हामीबाट सामन्ती सोच गएको छैन भन्ने कुरा युट्युबेको नेतृत्व नै राजावादीले गरेबाट देखिएको छ !"

उनले सामन्ती राजाले हिजो जनतालाई दास बनाई कुम्ल्याएको अथाह सम्पत्ति अहिले केही सामाजिक अभियन्ता र केही युट्युबेमा लगानी गरिरहेको दाबी पनि गरेकी छिन् । उनले भनेकी छिन्, "राजतन्त्रमा पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका १२ वटा राजाले जुम्लामाथि गरेको आक्रमण झल्को आउने गरी छोरो हृदयन्द्रलाई काखमा चेपेरे आमा हिमानी शाहले नयाँ अवतार युट्युबबाट टिपेर ल्याएको एउटा भरियाको ढाडमा टेकेर जुम्लाको भूमिमा फेरि पनि अपवित्र षड्यन्त्रको रचना गरिँदैछ ।"

"यो माया जालमा कुनै पनि सचेत जुम्लाका बासी फस्ने छैनन् भन्ने मेरो विश्वास छ । राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहान गरेका छन् । अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको एउटा भिडियोले मात्रै त्यो दोहन गरेको ऋण चुक्ता हुन सक्दैन । उनी जस्तो सयौँ पुस्ताले पनि देश र जनताको सेवा गरिहाले पनि राज्य र जनतामाथि गरेको शोषण, दमन र अत्याचारको भार चुक्ता गर्न सक्दैनन् ।"

राजतन्त्रले २३८ वर्षसम्म जुम्लामा सिटामोल पुर्‍याउन नसके पनि गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवा लगायत अत्यावश्यक सामग्रीहरू पुर्‍याएको भन्दै सांसद लामाले अहिले हृदयन्द्र शाहको भिडिओमा देखिएको जुम्ला गणतन्त्र नेपालकाे उपज भएको बताइन् ।

"जुम्लालाई दूरदराज, राेक, भाेक र शोककाे पर्याय बनाउनुमा सबैभन्दा धेरै जिम्मेवार हृदयन्द्रका पुर्खा थिए । हिजोदेखि आजसम्म आफ्नो सभ्यता, पहिचान र मौलिकता भएको जुम्लाको आफ्नै परिचय छ । यसलाई चिनाउन उसको पूरै वंश जिजु बाजेहरूले देशलाई कङ्गाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा ऐस आरामले ... हुर्काएको साँढे प्रवृत्ति जस्तैले चिनाउनु पर्छ र ?," उनले प्रश्न तेर्स्याएकी छिन् ।

जुम्लालाई चिनाउने विषयमा हृदयन्द्र शाहको भन्दा ब्लगर सिर्जना सिज्जु लगायतको भ्लग अझ धेरै राम्रो र स्पष्ट रहेको सांसद लामाको तर्क छ । "तर विडम्बना सिर्जनाको भ्लगको न त कुनै सामाजिक अभियन्ताले चर्चा गर्‍यो, न त कुनै मिडियाको हेडलाइन नै बन्यो," उनले लेखेकी छिन्, "किनकि उनी राजपरिवारको सदस्य थिइनन् । यति धेरै मिडियाको हेडलाइन बन्नलाई पनि सामन्ती राजपरिवार कै हुनुपर्ने होइन त ?"

हृदयन्द्रले बिहीबार बेलुकी आफ्नो फेसबुक अकाउन्टमार्फत करिब साढे १५ मिनेट लामो जुम्ला भ्लग सार्वजनिक गरेका थिए । त्यससँगै उक्त भ्लगले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।  

पछिल्लो अध्यावधिक: साउन १६, २०८२ १८:०