गुगल प्ले कन्सोल अकाउन्ट किन्ने भन्दै १ लाखसम्मको अफर, नफस्नुहोस् ! आउन सक्छ नसोचेको परिणाम
साउन १९, २०८२ १९:५५
काठमाडौँ । गुगल प्ले कन्सोल अकाउन्ट खरिद गर्ने भन्दै सामाजिक सञ्जालमा गैरकानुनी धन्दा चलिरहेको पाइएको छ । गुगल प्ले स्टोरमा एप पब्लिश गर्न आवश्यक पर्ने डेभलपर अकाउन्टका लागि १ लाख रुपैयाँसम्मको अफर दिइएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा राखिएका यस्ता विज्ञापनहरूमा निष्क्रिय, बन्द भएका र भेरिफिकेसन आवश्यक परेका अकाउन्ट समेत बिक्रीका लागि योग्य हुने उल्लेख छ । केवाईसी भेरिफिकेसन पश्चात सुरुमा रकम भुक्तानी दिइने र यसका लागि सन् २०२३ तयार पारिएको हुनुपर्ने तथा कम्तीमा एउटा एप पब्लिस गरिएको हुनुपर्ने भनिएको छ । १०० प्रतिशत सुरक्षित डिल उपलब्ध गराउने र पैसा समेत सुरक्षित रूपमा प्राप्त गर्न सकिने प्रलोभन ती विज्ञापनहरूमा देखाइएको हुन्छ ।
यदि तपाईँसँग गुगल प्ले कन्सोल अकाउन्ट छ र त्यसलाई बिक्री गरेर पैसा हात पार्ने विषयमा सोचिरहनु भएको छ भने, सावधान ! किन कि यो पूर्णतः गैरकानुनी काम हो । यसरी आफ्नो गुगल कन्सोल अकाउन्ट बिक्री गर्नु भनेको गुगलको सर्त उल्लङ्घन गर्नु सरह हो । किन भने यस्तो अकाउन्टमा तपाईँको नाम लिङ्क भएको हुन्छ । जसले गर्दा तपाईँले नसोचेको परिणाम भोग्नुपर्ने हुन सक्छ ।
तपाईँले गुगल कन्सोल अकाउन्ट नभई त्यसमा रहेको आफ्नो एप भने बिक्री गर्न सक्नु हुन्छ । यस क्रममा आफ्नो कन्सोल अकाउन्टबाट एप खरिद गर्ने व्यक्तिको नाममा रहेको कन्सोल अकाउन्टमा सो एप ट्रान्सफर गर्नुपर्ने हुन्छ ।
यदि त्यस्तो अकाउन्टबाट खरिद गर्ने व्यक्तिले कुनै गैरकानुनी एप पब्लिश भएको खण्डमा तपाईँ कानुनी झमेलामा फस्न सक्ने र तपाईँमाथि गुगलका उत्पादनहरूमा स्थायी प्रतिबन्ध लाग्न सक्छ । यति मात्र होइन, स्क्यामरले तपाईँलाई भनिएको रकम सबै भुक्तानी नदिई ठग्न सक्ने अथवा तपाईँको अकाउन्टको एक्सेस लिइसकेपछि छलछाम गर्न समेत सक्छन् ।
कन्सोल अकाउन्ट नै अर्कैको हातमा पुग्दा त्यसमा रहेका अन्य एप तथा त्यससँग सम्बन्धित आम्दानी समेत सो व्यक्ति हातमा जान सक्छ । त्यस्तै गुगलको पोलिसी उल्लङ्घन गरेका कारण एक पटक टर्मिनेट भइसकेको गुगल कन्सोल अकाउन्ट पुनः फिर्ता लिन पनि असम्भव प्राय नै हुन्छ ।
पछिल्लो अध्यावधिक: साउन १९, २०८२ १९:५५
