काठमाडौँ । विश्वकै सबैभन्दा ठुलो विद्युतीय गाडी (ईभी) निर्माता बीवाईडीको डेलिभरीमा गिरावट देखिएको छ । चीनको विद्युतीय सवारी बजारमा जारी तीव्र मूल्य युद्धका कारण कम्पनीले जुलाई महिनामा अपेक्षित डेलिभरी गर्न नसकेको हो ।
जुलाईमा बीवाईडीले ३ लाख ४१ हजार ३० ओटा सवारीसाधन ढुवानी गरेको छ । यो सङ्ख्या अघिल्लो जुन महिनाको तीन लाख ७७ हजार ६२८ युनिटभन्दा कम हो । यो यस वर्षमा भएको पहिलो गिरावट हो । गत वर्षको सोही अवधिको तुलनामा गाडीको डेलिभरी लगभग स्थिर रहेको उल्लेख छ । कम्पनीले जनवरीमा २ लाख ९६ हजार ४४६ युनिट ईभी डेलिभरी गरेपछि महिनौँसम्म निरन्तर वृद्धि हासिल गरेको थियो ।
बीवाईडीले मे महिनामा आफ्ना कतिपय कम मूल्यका ब्याट्री र हाइब्रिड मोडेलहरूमा करिब ३० प्रतिशतसम्म छुट दिएको थियो । जसले अन्य अटो निर्माताहरूलाई पनि मूल्य घटाउन बाध्य बनाएको सीएनबीसीमा उल्लेख छ ।
बीवाईडीका साथै अन्य प्रमुख चिनियाँ ईभी निर्माताहरू जस्तै- ली अटो र नियोले पनि जुलाईको डेलिभरीमा गिरावट भोगेका गरेका छन् । ली अटोले जुलाईमा ३० हजार ७३१ युनिट डेलिभरी गरेको छ, यो जुन महिनाको ३६ हजार २७९ युनिटबाट घटेको हो र वार्षिक रूपमा ३९.७ प्रतिशतको गिरावट हो । कम्पनीका लागि मासिक रूपमा भएको यो लगातार दोस्रो गिरावट हो ।
त्यस्तै नियोले जुलाईमा २१ हजार ०१७ युनिट ईभी डेलिभरी गरेको छ । यो चाहिँ जुन महिनाको २४ हजार ९२५ बाट घटेको हो । यद्यपि केही निर्माताहरूले भने राम्रो गरेका छन् । एक्सपेङले जुलाईमा कीर्तिमानी ३६ हजार ७१७ विद्युतीय सवारीसाधन ढुवानी गरेको छ । कम्पनीले ३० हजार भन्दा माथिको ढुवानी गरेको यो नवौं महिना हो ।
यसैगरी साओमीले पनि जुलाईमा ३० हजारभन्दा बढी विद्युतीय सवारीसाधन डेलिभरी गरेको गरेको छ । यो जुनको २५ हजारबाट बढेको हो र मार्चपछिको सबैभन्दा बलियो वृद्धि हो ।
लिपमोटरले जुलाईमा ५० हजार १२९ युनिट ईभी डेलिभरी गरेको छ । जुन यसको अहिलेसम्मको सबैभन्दा उच्च मासिक बिक्री हो । चिनियाँ प्रविधि कम्पनी ह्वावेको साथ पाएको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी अलायन्सले पनि जुलाईमा ४७ हजार ७५२ युनिट ईभी ढुवानी गरेको छ । जसमा ऐटोको वेनजाई सिरिजका कारहरूको सङ्ख्या ४० हजार ७५३ युनिट रहेको छ ।
पछिल्लो अध्यावधिक: साउन १९, २०८२ २०:१३
