१८ वर्ष कान्छा युवकसँग ह्वाट्सएपमा एक महिलाको अनौठो अव्यक्त प्रेम, ८ लाख ठगे पनि पत्याउँदिनन्
साउन १९, २०८२ २०:५०
काठमाडौँ । राजधानीकी एक ४३ वर्षीय महिला रमा शर्मा (परिवर्तित नाम) लाई झन्डै दुई महिनाअघि ह्वाट्सएपमा एक अपरिचित नम्बरबाट मेसेज आयो । मेसेज पठाउने अकाउन्टमा २५ वर्ष जस्तो देखिने एक युवकको फोटो थियो । सुरुमा त उनले मेसेजलाई बेवास्ता गरिन् । तर, लगातार मेसेज आउन थालेपछि उनी जवाफ नदिई बस्न सकिनन् ।
सामान्य परिचयबाट उनीहरूको सम्बन्ध अगाडि बढ्यो । ती युवकले आफूलाई बेलायतको नागरिक भनेर चिनाए । दिनहुँ कुराकानी हुँदै जाँदा उनीहरूबिच एक किसिमको प्रेम सम्बन्ध नै स्थापित भइसकेको थियो । तर, दुवैले आफ्ना भावना खुलस्त राख्न सकेका थिएनन् ।
उमेरमा भिन्नता भए पनि रमा भने ती युवकप्रति निकै आकर्षित भइसकेकी थिइन् । उनी युवकको कुरा गर्ने शैली र आफ्नोपनको आभास दिलाउने कलाकी प्रशंसक नै बनिसकेकी थिइन् । उनको मनमा ती युवकप्रति गहिरो लगाव बस्दै गयो । तर, खुलेर उनलाई प्रेमी स्विकारी सकेकी थिइनन् । यसरी उनीहरूबिचको सम्बन्ध जसोतसो अगाडि बढिरहेको थियो ।
गत सोमबार एक्कासि ती युवकको नम्बरबाट अरू कसैले भिडिओ कल गरे । रमाले फोन उठाइन् । भिडिओमा उनीसँग कुरा गर्ने युवकलाई केही व्यक्तिले कुटपिट गरिरहेको देखाइएको थियो ।
“भिडिओ कल उठाउने बित्तिकै ‘तिम्रो मान्छेलाई हामीले बन्धक बनाएका छौँ’ भन्दै कुटपिट गरिरहेको दृश्य देखियो,” साइबर ब्युरोका एक अनुसन्धान अधिकृत घटनाको बेलीविस्तार लगाउँछन्, “आफ्नो प्रेमी अपहरणमा परेको देखेपछि ती महिला आत्तिइन् र के गर्नुपर्छ भनेर सोधिन् ।”
त्यसपछि ‘अपहरणकारी’ले ‘यसलाई बचाउने हो भने तुरुन्त पैसा पठाउनू’ भन्दै महिलालाई रकम पठाउन दबाब दिन थाले । ‘ढिलो गरे युवकलाई जे पनि हुन सक्छ’ भन्ने डर देखाएपछि ती महिला रकम पठाउन तयार भइन् । उनलाई पठाइएको क्यूआर कोडमा पटक-पटक गरी जम्मा आठ लाख ४० हजार रुपैयाँ ट्रान्सफर गर्न लगाइयो । रकम पठाइसकेपछि ‘अपहरणकारी’ले ‘अब यसलाई हामी मुक्त गरिदिन्छौँ’ भन्दै तत्काल फोन राखे ।
यता महिलालाई ती युवकले आफू मुक्त भएँ भन्दै मेसेज पठाउँछन् भन्ने लागेको थियो । तर, उनको मेसेजको रिप्लाई नै आउन छोड्यो । यही समस्या ल्याएर रमा साइबर ब्युरोमा आइन् । “उहाँ आफू ठगिएको हो वा होइन भन्नेमा होइन, त्यो युवकलाई के भयो भन्ने बुझिदिन यहाँ आउनु भएको थियो,” ब्युरोका अनुसन्धान अधिकृत भन्छन्, “हामीले सबै हेर्दा उहाँलाई योजनाबद्ध रूपमा ठगी गरेको पायौँ ।”
यसरी पहिले व्यक्त नगरिएको प्रेमको जालो फालेर रमालाई आकर्षित गरियो । र, युवकले आफूलाई जोगाउन रकम तिर्न तयार हुन्छिन् भन्ने बुझेपछि त्यही अनुसार योजना बनाएर ‘अपहरणको नाटक’ रचिएको ती अनुसन्धान अधिकृत सुनाउँछन् । यसरी विभिन्न तवरबाट महिला ठगीमा परेकी हुन् भन्ने पत्ता लागेपछि प्रहरीले उनलाई सम्झाउन थाले ।
“तर, ‘त्यो मान्छे मेरो छोरा जस्तो मान्छे हो, केही भइहाल्यो कि’ भन्दै उहाँ आत्तिनु भएको थियो,” ती अनुसन्धान अधिकृत अगाडि भन्छन्, “हामीले यो सबै ठगी हो भन्यौँ । तर, पत्याउनु भएन ।”
रमालाई प्रहरीले नै झुक्याउन खोजेको आभास भयो । र, उनी ब्युरोबाट निस्किइन् । तर, उनले जुन बैँक खातामा रकम पठाएकी थिइन्, ती खातालाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । “अनुसन्धानका क्रममा ती खाता नेपाली विद्यार्थीका भएको देखिएको छ । उनीहरू ‘अनलाइन जागिर’को प्रलोभनमा परेर आफ्नो बैँक खातामा आएको रकम अन्यत्र पठाइदिने काममा संलग्न रहेको जस्तो देखिन्छ,” ती अनुसन्धान अधिकृत भन्छन्, “पीडित महिलाले पठाएको रकम पनि तिनै खातामा जम्मा भएको देखिन्छ ।”
उनी अगाडि भन्छन्, “यो ठगीको जालो कहाँसम्म फैलिएको छ, हामी त्यसको खोजी गरिरहेका छौँ ।” हालै मात्र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा एउटा घटना सार्वजनिक भएको थियो, जसमा छोरालाई अपहरण गरेको भन्दै एक आमालाई ह्वाट्सएपमा कल गरेर ठग्ने प्रयास गरिएको थियो । पछि अनुसन्धानबाट ठगहरूले छोराको फोन ह्याक गरी अपहरणको नाटक रचेको खुल्यो ।
यो घटना भने त्यसभन्दा फरक शैलीको देखिन्छ । यद्यपि यसमा पनि ठगीको उद्देश्यले ‘अपहरण’ शब्दकै प्रयोग गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन १९, २०८२ २०:५१

