close

नेपाल दक्षिण एसियाको उदाउँदो सिलिकन भ्याली: सञ्चारमन्त्री गुरुङ

टेकपाना टेकपाना

साउन २२, २०८२ २०:२२

नेपाल दक्षिण एसियाको उदाउँदो सिलिकन भ्याली: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वमा नेपाललाई दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’ को रूपमा हेर्ने गरिएको बताएका छन् । बिहीबार काठमाडौँमा जापान-नेपाल आईटी एसोसिएसन (जेएनआईटीए) ले आयोजना गरेको नेपाल-जापान आईटी फोरम २०२५ मा बोल्दै मन्त्री गुरुङले यस्तो दाबी गरेका हुन् ।  

नेपाल प्राकृतिक हिसाबले पनि आईटी हब बनाउन उपयुक्त स्थान भएकाले जापानका उद्यमीहरूलाई आईटी उद्योग सञ्चालन गर्न मन्त्री गुरुङले आह्वान समेत गरेका छन् । गुरुङले ई–गभर्नेन्स, साइबर सुरक्षा र डिजिटल सार्वजनिक पूर्वाधारप्रति सरकारको बलियो प्रतिबद्धताका कारण नेपाल द्रुत गतिमा ज्ञान–सञ्चालित अर्थतन्त्रमा रूपान्तरण हुन थालेको बताए । जापानका लागि प्राविधिक साझेदारी एक आदर्श गन्तव्य नेपालले जी-टु-जी सहयोग अन्तर्गत केही प्रमुख कार्यक्रमहरू सुरु गर्न खोजिएको उनले बताए । 

“राष्ट्रिय डिजिटल दृष्टिकोणलाई साकार पार्न जापानको प्राविधिक र वित्तीय सहकार्य महत्त्वपूर्ण हुन्छ । नेपालले जी-टु-जी ढाँचा अन्तर्गत आफ्नै उपग्रह प्रक्षेपण गर्न जापानको प्राविधिक सहयोग खोजिरहेको छ । यो पहलले ग्रामीण सम्पर्क, मौसम पूर्वानुमान, विपद् तयारी र ग्रामीण शिक्षालाई सुदृढ बनाउन सक्छ,” उनले भने । 

कार्यक्रममा जेएनआईटीएका अध्यक्ष सरद राईले जापानमा आईटी व्यवसायका प्रशस्त सम्भावनाहरू भएको र त्यस अवसरलाई सदुपयोग गर्न नेपाल सरकार चुकेको बताएका छन् । सरकारले जापानमा आईटी व्यवसायमा अवसर खोजी गरी व्यवहारमा परिणत गराउन जोड दिनुपर्ने बताए ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८२ २०:२३