विद्यार्थीले बनाएका डान्सिङ रोबोटदेखि इमोसन डिटेक्सन सिस्टमसम्मका परियोजनाको प्रदर्शनी चल्दै
साउन २३, २०८२ ९:३४
काठमाडौँ । काठमाडौँ स्थित प्रेसिडेन्सियल ग्य्राजुएट स्कुलमा ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सुरु भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले प्रविधि तथा बिजनेस कार्निभलको रूपमा उक्त प्रदर्शनी सुरु भएको हो ।
अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त उक्त कलेजमा सो प्रदर्शनी २५ साउनसम्म चल्नेछ । कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ । एआई, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (आईओटी), साइबर सुरक्षा, स्टक ट्रेडिङ सिमुलेसनजस्ता कार्यशाला, बिजनेस स्टल, क्लबका गतिविधि र रमाइला खेलहरू आकर्षणको रूपमा रहनेछन् ।
यो कार्यक्रम +२ उत्तीर्ण, स्नातक तहका विद्यार्थी र आईटीमा गहिरो रुचि तथा चाहना राख्ने विद्यार्थी तथा युवाहरूका लागि लक्षित छ । प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने सो कार्यक्रममा प्रवेश निःशुल्क छ ।
प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलले बीएससी आईटी, एमएससी आईटी, डेटा एनालिटिक्स र आईटीमा एमबीएजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो इभेन्टमा बीएससी आईटी अन्तिम वर्षका विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरिरहेका छन् । करिब १७० विद्यार्थी संलग्न यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले बताए ।
जसमा पुष्प वृष्टि गराउने एफ पिभ ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबोट (गीतमा नाच्ने), इमोसन डिटेक्सन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने) लगायतका परियोजना छन् । उद्घाटनमा पुष्पवृष्टिका लागि प्रयोग भएको ड्रोन भविष्यमा डेलिभरी सर्भिसमा उपयोगी हुने गरी विकास गर्न सकिने सम्भावना छ ।
त्यस्तै साइबर सुरक्षाका परियोजनाहरूले अनलाइन ठगी, डेटा लिक र बैँक खाताको सुरक्षालाई सम्बोधन गर्न सक्ने कसीले बताए । स्मार्ट सिँचाइ, स्मार्ट होम सिस्टम (ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली) र टुरिजम प्रवर्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शनमा छन् । प्रदर्शनीमा अटोनोमस र ३६० डिग्री क्यामेराको सहयोगमा रिमोट्ली नियन्त्रण हुने गाडी पनि राखिएको छ ।
स्कुलको स्टार्टअप इन्कुबेसन सेन्टरले यी परियोजनालाई व्यावसायिक बनाउन सहयोग गर्छ । विद्यार्थीहरूको सहकार्यले यी परियोजनालाई बजार र लगानीका लागि तयार पारिन्छ । “नेपालमा पनि यस्ता नवप्रवर्तन सम्भव छन् भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो,” कार्यकारी अध्यक्ष केसी भन्छन्, “यी परियोजनाहरू विद्यार्थीहरूले स्क्र्याचबाट बनाएका हुन्, र हामी यसलाई हरेक वर्ष निरन्तरता दिनेछौँ ।”
हाल १,२०० विद्यार्थी अध्ययनरत स्कुलमा ८० भन्दा बढी प्राध्यापक र २० भन्दा बढी व्यवस्थापन कर्मचारी छन् । प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलका निर्देशक तथा प्रिन्सिपल कल्पना गुरुङले भनिन्, “यो इभेन्ट हरेक वर्ष आयोजना हुनेछ । उद्योगी र लगानीकर्ताहरूलाई आमन्त्रित गरी विद्यार्थीहरूलाई रोजगारी र स्टार्टअप अवसर प्रदान गरिनेछ ।"
पछिल्लो अध्यावधिक: साउन २३, २०८२ ९:४२
